काठमाडौंः आज काठमाडौँको शान्तिबाटीकामा आयोजित गठबन्धनको संयुक्त चुनावी सभामा नेपाली कांग्रेसका नेता तथा प्रधानमन्त्री शेर बहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एस का अध्यक्ष माधब कुमार नेपाल लगायतका शिर्ष नेताले सम्बोधन गरेका छन् । उक्त सभामा बोल्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति, सहकार्य र एकता आजको आवश्यकता भएको बताएका छन् ।
‘सहमति, सहकार्य र एकता आजको आवश्यकता हो,’ अध्यक्ष प्रचण्डले भने, ‘एकताको बलमा पञ्चायत र राजा फाल्यौं र संविधान बनायौं ।’ एकताको अनुभव हालै सम्पन्न राष्ट्रियसभा र बारको निर्वाचनमा गरेको समेत उनले बताए ।
त्यसैगरी नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पाँच दलीय गठबन्धनका तर्फबाट विद्रोह गर्ने उम्मेदवारले एमालेलाई सहयोग गरेको बताएका छन् ।
एमालेबाट उठेका उम्मेदवार केशव स्थापितलाई चयन गर्दा केपी ओलीले आफू जस्तै हावादारी मान्छे खोजेको बानियाँले बताए । अनुशान नै नभएको मान्छेलाई ओलीले टिकट दिएको आरोप उनले लगाएका छन् ।
नेकपा एमालेबाट उम्मेदवार बनेकी सुनिता डंंगोलतर्फ लक्षित गर्दै कलेज पढ्ने भर्खरको व्यक्तिलाई उठाएको बताए । ‘कलेज पढ्नेलाई होइन, नलेज हुनेलाई जिताउने हो । एमालेले भर्खरको कलेज पढ्नेलाई टिकट दिएको छ,’ उनले भने ।
उनले अहिले देशमा दुई वटा गठबन्धन रहेको बताए । नेकपा एमालेको नेतृत्वमा संविधान विरोध गठबन्धन र पाँच दलीय प्रगतिशितल गठबन्धन रहेको उनले जनाए । कुन गठबन्धन सही र गलत भन्ने स्थानीय निर्वाचनले निक्र्योल गर्ने उनले बताए ।
त्यस्तै नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भएको बताउनुभएको छ । पाँच दलीय गठबन्धनले आज यहाँ आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै उहाँले षड्यन्त्र हुन नदिन गठबन्धनका पक्षमा जुट्न आग्रह गर्नुभयो ।