Admission Open

आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढ्दो

दयाराम आचार्य, कावासोती : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा लघु, घरेलु तथा साना उद्योग दर्ता गर्ने महिलाको सङ्ख्या वृद्धि भएको छ । घरेलु तथा साना उद्योग कार्यालयको यस आर्थिक वर्षको पहिलो चार महिनाको तथ्याङ्कले महिलाहरूको आर्थिक क्षेत्रमा सहभागिता बढ्दो रहेको देखाएको हो । नवलपरासी पूर्वको तथ्याङ्कलाई हेर्ने हो भने उद्योग दर्ता गर्ने महिलाको सङ्ख्या गत वर्षबाट ह्वात्तै बढेको देखिएको छ । प्राप्त तथ्याङ्कअनुसार आर्थिक वर्ष ०७६/७७ मा ७४६ वटा उद्योग दर्ता हुँदा पुरुषको नाममा ५ सय २८ उद्योग दर्ता भएको थियो भने महिलाको नाममा २ सय १८ वटा मात्रै थिए । गत आव ०७७/७८ मा एक हजार ३ सय ७७ वटा उद्योग दर्ता हुँदा महिलाका नाममा दर्ता भएका उद्योग सङ्ख्या ह्वात्तै बढेर ९ सय ७५ पुगेकामा पुरुषका नाममा भने ४ सय २ उद्योग दर्ता भएका थिए ।

चालू आर्थिक वर्षको चार महिनाको अवधिमा कार्यालयमा दर्ता भएका उद्योगहरूमा पनि महिलाकै सङ्ख्या बढी छ । चालू आवको साउनदेखि कात्तिकसम्म चार महिनाको अवधिमा मात्रै महिलाका नाममा ३ सय ८० उद्योग दर्ता भएका छन् । त्यस अवधिमा दर्ता भएका ५ सय ६० उद्योगमध्ये पुरुषका नाममा १ सय ८० मात्रै उद्योग छ । पछिल्लो समय लघु, घरेलु तथा साना उद्योग दर्ता गर्ने पुरुषको तुलनामा महिलाको सङ्ख्यामा ५० प्रतिशतभन्दा धेरै रहेको छ । चालू आवको मङ्सिरको अन्तिम तथ्याङ्क आउन बाँकी रहे पनि अघिल्ला चार महिनाकै आधारमा उद्योगहरू थपिएको कार्यालयका प्रमुख सागर खनालले बताए ।

महिलाका नाममा उद्योगहरू सञ्चालन गर्दा विभिन्न थप सहुलियत प्राप्त गर्न सकिने भएकाले पनि महिलाको सहभागिता बढेको हुन सक्ने उनको भनाइ थियो । “महिलाका नाममा उद्योगहरू स्थापना गर्दा विभिन्न सहुलियत प्राप्त गर्न सकिन्छ,” कार्यालय प्रमुख खनालले भने, “त्यसैले पनि महिलाका नाममा उद्योग दर्ता गर्ने क्रम बढेको हुन सक्छ ।”

महिलाहरूको आर्थिक क्षेत्रमा सहभागिता बढ्नु सकारात्मक विषय भएको अधिकारकर्मी यमुना घलेले बताइन् । कृषि तथा खाद्य सुरक्षा विज्ञसमेत रहनुभएकी र कृषिलाई आर्थिक सशक्तिकरणको प्रमुख हिस्सा बनाउनुपर्छ भन्ने अभियानमा लागेकी उनले महिलाको आर्थिक सशक्तिकरणमा समेत जोड दिँदै आएकी छिन् । “पछिल्लो समय उद्योग, व्यवसायमा महिलाको सङ्ख्या वृद्धि हुनुमा सरकारले महिलालाई प्राथमिकतामा राख्नु, महिलाका लागि बनेका नीतिहरू, पुरुषको आप्रवासन र महिलाहरू पनि पछिल्लो समय शिक्षित हुँदै जानु हो,” अधिकारकर्मी घलेले भनिन्, “यी कारणले महिलाहरू उद्योग व्यवसायमा बढी लागेको देखिएको छ । यसले सकारात्मक प्रभाव पारेको देखिन्छ । आर्थिक क्षेत्रमा पछिल्लो समय सङ्गठनात्मक रुपमा उपस्थित बढ्दो छ । महिला उद्यमीहरूको आफ्नै सङ्गठन समेत छन् । तसर्थ यो कुरालाई सकारात्मक रुपमा लिनुपर्छ तर निर्णायक तहमा महिलाको पहुँच भने सोचेजस्तो छैन ।”

स्थानीय नेत्री पुष्पा भुषालका अनुसार निर्णायक तहमा महिलाको पहुँच नहुनुमा काम गर्ने वातावरण महिलामैत्री नहुनु, सरकारले महिलाका लागि नीतिनियम ल्याए पनि सम्बन्धित निकायबाट कार्यान्वयनमा ल्याउन नखोज्नु, संस्था दर्तादेखि बैंकिङ प्रक्रियामा अझै पनि पुरुष नै खोज्ने, महिला मात्रै जाँदा पुरुष खोई भनी सोध्ने, पुरुष नभएमा प्रक्रिया अघि बढाउन नखोज्नेलगायत प्रवृत्तिले पनि महिलाहरू पछि परेका थिए । सामाजिक संरचनाले पनि महिलाहरू पछि पर्न बाध्य भएको उनको बुझाइ थियो । “अझै पनि हाम्रो समाजमा छोरीचेलीलाई घरभित्रको कामकाज गर्नैपर्ने बाध्यता छ, घरभित्रको काम अन्य सदस्यहरुले सघाउने, महिलालाई हौसला दिने परिपाटी छैन । त्यसैले पनि महिलाहरू चाहेर पनि अघि बढ्न वा निर्णायक तहमा पुग्न सकिरहेका छैनन्,” भुषालले भनिन् । (रासस)

टिप्पणिहरु
Loading...