Admission Open

ad place

‘लालीगुराँस फुले झैँ… : रेकर्ड हुन नपाई खरानी बनेको गीत

लामो दूरीका यात्रुवाहक सवारी साधनहरूमा चर्को आवाजमा बजाइने झर्कोलाग्दा गीतहरू सबैलाई मन पर्दैनन्। कसैलाई मन पर्ला, तर अपाङ्गता भएका व्यक्ति, वृद्धवृद्धा तथा शान्त वातावरण रुचाउने यात्रुहरू त्यस्ता गीतबाट वाक्कदिक्क हुने गर्छन्। यही यथार्थलाई महसुस गर्दै गीतकार अमर कीर्तिमानीले बसका चालक, सहचालक र यात्रुहरूलाई उपयुक्त हुने चेतनामूलक गीत रचना गरेका थिए-
“लालीगुराँस फुले झैँ वनवनमा, शुभयात्रा कल्पिनुस् मनमनमा।”

यदि उक्त गीत रेकर्ड भएको भए, सायद यात्रुवाहक सवारी साधनहरूमा बज्ने एउटा सन्देशमूलक र प्रभावकारी सिर्जनाका रूपमा स्थापित हुने थियो। गीत रचेको केही दिनपछि अमर बग्गीखानास्थित ट्राफिक कार्यालय पुगे र गीत रेकर्डिङका लागि अनुरोध गरे। तर त्यहाँबाट बजेट अभावको कारण देखाउँदै उनको प्रस्ताव अगाडि बढ्न सकेन।

त्यसपछि उनी उक्त गीत लिएर यातायात व्यवस्था विभाग पुगे। विभागका एक निर्देशकले गीत पढेपछि प्रतिक्रिया दिएका थिए, “वाह१ यो गीत साँच्चै उत्कृष्ट र सुन्दर छ।” महानिर्देशकले पनि गीतसहितको निवेदनमा आवश्यक तोक आदेश लगाएपछि त्यो सम्बन्धित शाखाका अधिकृतको टेबुलसम्म पुग्यो। ती अधिकृतले गीतका प्रत्येक पंक्ति ध्यानपूर्वक पढे र त्यसको प्रशंसा गर्दै अत्यन्त राम्रो रचना भएको बताए।

यसबाट उत्साहित बनेका अमरले गीतको कार्यान्वयनबारे जानकारी लिन समय–समयमा सम्बन्धित अधिकृतसँग सम्पर्क गरिरहे। तर हरेक पटक उनीबाट “यसका लागि योजना बनाउनुपर्छ, बजेट छुट्याउनुपर्छ” भन्ने जवाफ मात्र प्राप्त हुन्थ्यो। यसरी गीत लेखिएको तीन पृष्ठको कागज महिनौँसम्म अधिकृतको टेबुलको घर्रा ९ड्रयर० भित्र सीमित रहिरह्यो।

समय बित्दै गयो। त्यसबीच जेन–जी विद्रोहका क्रममा जलेका सरकारी भवनहरूमध्ये यातायात व्यवस्था विभाग पनि अछुतो रहेन। अन्ततः अमरको त्यो गीत पनि टेबुलको घर्राभित्रै खरानीमा परिणत भयो। यस घटनाले ‘नेपालको कानुन दैवले जानून्’ भन्ने उखानलाई चरितार्थ गरिदियो।

समयमै सम्बन्धित निकायको ध्यान नपुग्दा र गीतका पानाहरूमा धूलो जम्दै जाँदा गीतकार अमर निराश बने। उनलाई लाग्न थाल्यो- यहाँ राम्रा काम र सिर्जनाका लागि पर्याप्त स्थान छैन।

अमर कीर्तिमानीका अन्य चेतनामूलक रचनाहरू भने पाठकमाझ लोकप्रिय छन्। विशेषगरी ‘बालबालिकालाई संस्कार सिकाउने १९ सूत्र’ शीर्षकको उनको लेख इलामदेखि डडेलधुरासम्मका विभिन्न सञ्चारमाध्यमहरूले साभार गरी प्रकाशित गरिसकेका छन्। उक्त लेख एक विद्यालयको सूचना पाटीमा समेत टाँसिएको छ। उनका लेख–रचनाहरूमा देशभक्ति, सामाजिक चेतना र प्रकृतिप्रेमको भाव प्रखर रूपमा अभिव्यक्त भएको पाइन्छ।

खरानीमा परिणत भएको त्यो गीत आज पनि एउटा प्रश्न बनेर उभिएको छ- यदि समयमै त्यसलाई सुन्ने र कार्यान्वयन गर्ने कान भेटिएको भए, सायद हजारौँ यात्रुले आज पनि ‘शुभयात्रा’को सन्देश बोकेको त्यो गीत सुन्दै यात्रा गरिरहेका हुने थिए।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...