Admission Open

ad place

रञ्जीत आचार्य, कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड २०२६ को जुरी सदस्यमा

[ विश्वकै प्रतिष्ठित कर्पोरेट फिल्म अवार्डको निर्णायक मण्डलमा स्थान बनाउने पहिलो नेपाली सृजनशील व्यक्तित्व ]

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड २०२६ को निर्णायक मण्डल (जुरी) सदस्यमा मनोनित हुनु भएको छ । कर्पोरेट फिल्म, दृश्य कथन (भिजुअल स्टोरीटेलिङ) तथा ब्रान्डेड मिडिया निर्माणको क्षेत्रमा विश्वकै प्रतिष्ठित अवार्डमध्ये एक मानिने यस प्रतियोगिताको निर्णायक मण्डलमा नेपालीको प्रतिनिधित्व हुनु समग्र नेपालका लागि तथा विज्ञापन तथा सिर्जनात्मक उद्योगका लागि समेत ऐतिहासिक उपलब्धि हो ।

कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवाड्र्स : सन् २०१० मा स्थापना भई अष्ट्रियाको भियना शहरमा मुख्यालय रहेको कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवाड्र्स प्रत्येक वर्ष फ्रान्सको कान्स शहरमा आयोजना गरिन्छ, जुन विश्व चलचित्र उद्योगको प्रसिद्ध केन्द्रका रूपमा परिचित छ । यस ऐतिहासिक शहरमा आयोजना हुने यो एकमात्र अन्तर्राष्ट्रिय महोत्सव हो, जसले कर्पोरेट फिल्म, अनलाइन मिडिया उत्पादन, वृत्तचित्र तथा प्रतिवेदन निर्माणका लागि विश्वस्तरीय मापदण्ड निर्धारण गर्दै आएको छ ।

यस महोत्सवको निर्णायक मण्डलमा विगतमा ओस्कार र एमी अवार्ड विजेताहरू समेत सहभागी भइसकेका छन् । यहाँ प्रदान गरिने गोल्ड, सिल्भर, ब्ल्याक, ब्लु र ह्वाइट डल्फिन ट्रफीहरू कर्पोरेट फिल्म क्षेत्रका सर्वोच्च सम्मानका रूपमा मानिन्छन् । १७औँ संस्करणका रूपमा आयोजना हुन लागेको सन् २०२६ को अवार्डमा ६३ प्रतिस्पर्धात्मक विधा समावेश छन् र विश्वभरका फिल्म निर्माता, विज्ञापन एजेन्सी, ग्राहक संस्था, प्रसारण संस्था तथा विद्यार्थीहरूको सहभागिता रहनेछ ।

नेपाली कथालाई विश्वमञ्चमा पु¥याउने सिर्जनात्मक यात्रा : विज्ञापन, ब्रान्ड रणनीति, क्रिएटिभ निर्देशन, फिल्म निर्माण तथा जनसम्पर्क (पब्लिक रिलेशन) क्षेत्रमा ३५ वर्षभन्दा बढी अनुभव हासिल गर्नु भएका आचार्य नेपालको सञ्चार तथा विज्ञापन उद्योगका प्रभावशाली व्यक्तित्वमध्ये एक मानिनुहुन्छ । आचार्यकै नेतृत्वमा प्रिज्मा एड्भर्टाइजिङले विज्ञापन क्षेत्रकै सर्वोत्कृष्ट मानिने कृति अवार्ड मा लगातार चार पटक ‘बेस्ट एजेन्सी अफ द इयर’ उपाधि प्राप्त गरेको छ भने नेपालकै सर्वाधिक पुरस्कार प्राप्त स्वतन्त्र विज्ञापन एजेन्सीका रूपमा पनि स्थापित भएको छ ।

आचार्यका चर्चित अभियानहरूमध्ये कोका–कोला नेपालको ‘मन खोलौँ कोकसँग’ अभियान तथा ‘मेरो मोबाइल’ लाई ‘एनसेल’ मा पुनः ब्रान्डिङ गर्ने ऐतिहासिक अभियानमा पहिलो र अन्तिम पटक दैनिक पत्रिकाको मास्टहेडनै पर्पल कलरमा रुपान्तरण गरी प्रकाशन गर्नु लगायतका अभियानहरु उल्लेखनीय रहेका छन् । एनसेलको पुनः ब्रान्डिङका क्रममा नेपालको इतिहासमै पहिलो पटक बैजनी रंगको पत्रिकाको मास्टहेड प्रयोग गरिएको थियो । उहाँले सिर्जना गरेका ‘मुटु चाहिन्छ मुटु’, ‘मुड चेन्ज तुरुन्तै’, ‘चिसो भनेकै कोका–कोला’ र ‘गरी खाना देऊ’ जस्ता नाराहरू नेपाली उपभोक्ताको दैनिक बोलचालको हिस्सा बनिसकेका छन् ।

आचार्यका अन्तर्राष्ट्रिय उपलब्धिहरूमध्ये सन् २००० मा अमेरिकाको जोन्सन एण्ड जोन्सनबाट प्राप्त बेल रिङ्गर अवार्ड, सन् २००७ मा एड क्लब मुम्बईबाट प्राप्त एबी अवार्ड तथा हालै सिंगापुरमा प्राप्त ब्रान्डलरिएट बेस्ट ब्रान्ड्स अवार्ड २०२५ उल्लेखनीय रहेका छन् । प्रिज्मा एड्भर्टाइजिङ उक्त अवार्ड प्राप्त गर्ने पहिलो नेपाली एजेन्सी पनि हो । विज्ञापन क्षेत्रबाहेक नीलबाराही फिल्म्सका प्रबन्ध निर्देशक आचार्य, बाईस्कोप सिनेमाका संस्थापक निर्देशक, संस्कृति इन्टरनेसनल स्कुलका अध्यक्ष तथा डीएनए प्रालिका अध्यक्ष पनि हुनुहुन्छ ।

त्यसैगरी टोस्टमास्टर्स इन्टरनेसनलमा २६ वर्षभन्दा बढी नेतृत्व अनुभव हासिल गर्नुभएका आचार्यले सन् २०२१–२२ मा डिस्ट्रिक्ट डाइरेक्टरको जिम्मेवारी समेत सम्हाल्नु भएको थियो । आचार्य, टोस्टमास्टर्स इन्टरनेसनलबाट प्रदान गरिने सर्वोच्च व्यक्तिगत सम्मान ‘प्रेसिडेन्सियल साइटेसन २०१८’ प्राप्त गर्ने नेपालका एकमात्र व्यक्तित्व हुनुहुन्छ ।

उक्त मनोनयन बारे आफ्नो धारणा राख्दै आचार्यले भन्नुभयो, “सिर्जनशीलताका लागि कुनै सीमारेखा वा पासपोर्ट हुँदैन । सत्य र उत्कृष्ट प्रस्तुतीकरणसहित सुनाइने हरेक कथाले विश्वमञ्च पाउन योग्य हुन्छ । यो मनोनयन मेरो मात्र होइन, सीमाभन्दा पर सपना देख्न साहस गर्ने प्रत्येक नेपाली सिर्जनशील व्यक्तिको उपलब्धि हो ।”

नेपालको सिर्जनात्मक अर्थतन्त्रका लागि ऐतिहासिक उपलब्धि ः कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवाड्र्सको निर्णायक मण्डलमा रञ्जीत आचार्यको मनोनयनले पहिलो पटक एक नेपाली सिर्जनशील व्यक्तित्वलाई विश्वस्तरीय दृश्य मिडिया मूल्याङ्कनको उच्चतम तहमा पु¥याएको छ । निर्णायक सदस्यका रूपमा उहाँले विश्वभरका फिल्म निर्माता, विज्ञापन एजेन्सी तथा प्रसारण संस्थाहरूबाट प्राप्त प्रविष्टिहरूको मूल्याङ्कन गर्नेछन् । दक्षिण एसियाली कथा–वाचन शैली, विकासशील बजारको यथार्थ र तीन दशकभन्दा लामो अनुभवबाट आर्जित दृष्टिकोणलाई उहाँले अन्तर्राष्ट्रिय मञ्चमा प्रतिनिधित्व गर्नुहुनेछ । यो सम्मान नेपाली विज्ञापन तथा सिर्जनात्मक क्षेत्रका लागि गौरवको विषय मात्र नभई हिमाली राष्ट्र नेपालबाट उदाइरहेको सिर्जनशीलताको अन्तर्राष्ट्रिय पहिचान र स्वीकारोक्तिको प्रतीक पनि हो ।

प्रिज्मा एड्भर्टाइजिङबारेः

तीन दशकभन्दा बढी समयदेखि सक्रिय प्रिज्मा एड्भर्टाइजिङ नेपालकै सर्वाधिक पुरस्कार प्राप्त गर्ने स्वतन्त्र विज्ञापन एजेन्सी हो । यसले ब्रान्ड रणनीति, क्रिएटिभ निर्देशन, फिल्म तथा कन्टेन्ट निर्माण, डिजिटल सञ्चार र जनसम्पर्क सेवाहरू एकीकृत रूपमा प्रदान गर्दै आएको छ । नेपालका चर्चित ब्रान्ड अभियान र सांस्कृतिक रूपमा प्रभावशाली कथाहरू निर्माणमा प्रिज्माले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

www.prismaad.com

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...