
काठमाडौँ, १३ माघः निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय रूपमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ । आयोगका अनुसार आगामी फागुन २१ गते सम्पन्न हुने निर्वाचनलाई लक्षित गर्दै आचारसंहिता माघ १० गते राति १२ बजेदेखि लागू गरिएको हो ।
निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र अनुगमन सुनिश्चित गर्न आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकारी तोकेको जनाएको छ । आचारसंहिता २०८२ को दफा ३२ बमोजिम सातवटै प्रदेशका जिल्ला सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई आर्थिक बाहेकका विषयमा तथा प्रमुख कोष नियन्त्रक/कोष नियन्त्रकहरूलाई आर्थिक विषयमा फरक–फरक कार्य जिम्मेवारीसहित अनुगमन अधिकारी तोकिएको आयोगले स्पष्ट पारेको छ ।
आयोगले आचारसंहिताको पालना गराउने, उल्लङ्घन भए/नभएको अनुगमन गर्ने तथा आवश्यक समन्वय गर्ने जिम्मेवारी सम्बन्धित अनुगमन अधिकारीलाई प्रदान गरिएको जानकारी दिएको छ । साथै, यस विषयमा सम्बन्धित सबैको जानकारीका लागि प्रेस विज्ञप्ति जारी गरिएको निर्वाचन आयोगले जनाएको छ ।
उक्त कुरा निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भण्डारी हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।


