
काठमाडौँ, ३ माघ : नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई जेष्ठ प्राध्यापकलाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मान गरेको छ ।
बाथरोग जागरण अभियान–२०८२ को अन्तर्गत प्रा.जयश्री मल्ल अमात्य र गणितज्ञ प्रा धनकुमारी थापालाई सम्मान गरेको हो । उहाँहरूलाई शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिका–८ का अध्यक्ष आशामान संगतले उहाँहरूलाई सम्मान गर्नुभयो ।
बाथरोग सेन्टरले ‘स्वस्थ र सुन्दर जीवनका लागि सुमधुर सङ्गीत’ भन्ने नारासहित साङ्गीतिक संस्था कुटुम्बसँग सहकार्य गर्दै बाथरोग जागरण अभियानको थालनी गरेको सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले जानकारी दिनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष आशामान संगतले स्वास्थ्य सचेतना फैलाउने यस प्रयासको अभियानलाई सहयोग गर्न तयार रहेको बताउनुभयो । सेन्टरका अध्यक्ष डा.विनीत वैद्यले बाथरोगको लक्षण र पहिचानबारे जनचेतना फैलाउनु आवश्यक रहेको बताउनुभयो । डा. सुदीप कर्माचार्यले बाथरोगले शरीरका विभिन्न भागमा असर गर्न सक्ने भएकाले समयमै उपचार गराउनुपर्नेमा जनचेताना आवश्यक रहेको बताउनुभयो ।
सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले हरेक वर्ष माघमा बाथरोग जागरण जनचेतना अभियान सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । (रासस)


