Admission Open

ad place

मानुङ–पुलिमराङ अल्ट्रा म्याराथन हुने

दमौली (तनहुँ), १९ पुसः व्यास नगरपालिकाले सहिद दिवसको अवसरमा अल्ट्रा म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ । मगर र गुरुङ समुदायको गाउँलाई खेलकुदको माध्यमबाट चिनाउने उद्देश्यसहित आगामी माघ १६ गते अल्ट्रा म्याराथन आयोजना गर्न लागिएको हो ।

व्यास नगरपालिका–५ मानुङकोट र व्यास नगरपालिका–८ पुलिमराङलाई खेल पर्यटनमार्फत जोड्ने उद्देश्यसहित म्याराथन आयोजना गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिनुभयो । सोमबारको कार्यपालिकाको बैठकले म्याराथनको आवश्यक व्यवस्थापन गर्न सम्बन्धित वडाध्यक्षहरु समावेश गरी खेलकुद समितिलाई जिम्मा दिने निर्णय गरेको छ ।

मगर समुदायको बसोबास रहेको मानुङकोट र गुरुङ समुदायको बसोबास रहेको सहिदभूमि पुलिमराङ जोड्ने ४४ किलोमिटर अल्ट्रा म्याराथनले नगरपालिकाका छ वडालाई समेट्ने छ । म्याराथन आयोजना हुने दिन नगरका छ वडाका विभिन्न सङ्घसंस्था, जातीय सङ्गठन, टोल विकास संस्थालाई एकीकृत गर्ने गरेको छ ।

व्यास नगरपालिका–५ मानुङबाट सुरु हुने म्याराथन व्यास–३, व्यास–४, व्यास–१०, व्यास–७ हुँदै व्यास–८ मा पुगेर टुङ्गिनेछ । प्रत्येक वर्ष हुँदै आएको म्याराथन प्रतियोगिताले दुई पर्यटकीय गाउँको विकासमा सहयोग पुगेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “यो एउटा खेलकुद मात्र नभई नगरको पर्यटन प्रबद्र्धन र विकासको अभियान पनि हो ।”

प्रत्येक वर्ष धावकलाई दौडाउने मात्रै नभई यहाँको पर्यटन र संस्कृतिका बारेमा प्रचारप्रसार गर्नु उद्देश्य रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “खाली खेलाडीलाई दौडाउन मात्र होइन, यस ठाउँको प्रचारप्रसार गर्दै विकास अभियानमा सङ्घ र प्रदेश सरकारलाई जोड्न चाहेका छौँ । मानुङकोटसम्म पुग्न कालोपत्र सडक भए पनि पुलिमराङमा अझै पनि कच्ची सडक छ । त्यहाँको बाटो कालोपत्र गर्ने लक्ष्य राखेका छौँ ।”

मानुङकोट पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भइरहेको छ । यहाँबाट देखिने कुहिरो र सूर्योदय हेर्नका लागि सयाँैको सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन् । मानुङकोटबाट धौलागिरी, माछापुच्छ«े, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । जाडो मौसम भएको र मानुङकोटमा बिहानै घाम लाग्ने भएकाले आन्तरिक पर्यटक बिहानै यहाँ पुग्ने गरेका छन् ।

पुलिमराङसम्म भने त्यति पर्यटकको पहुँच पुग्न सकेको छैन । पुलिमरादङ सहिदभूमि पनि हो । यहाँ सहिद पार्क बनाइएको छ । पार्कमा विभिन्न कालखण्डमा सहिद भएका पुलिमराङका छ जनाको शालिक राखिएको छ । यहाँ स्वर्गीय भरत गुरुङ, शमसेरबहादुर गुरुङ, लालध्वज गुरुङ, धर्मध्वज गुरुङ, सर्वसिंह गुरुङ, हस्तवीर गुरुङको अर्धकदको शालिक छ ।

व्यास नगरपालिका–५ मानुङबाट सुरु हुने म्याराथन मानुङकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै व्यास नगरपालिका–८ पुलिमराङमा पुगेर सकिनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...