Admission Open

ad place

सुनको मूल्य ऐतिहासिक उच्च विन्दुमा

आज एकैदिन तोलामा ५ हजार ८ सय रुपैयाँले वृद्धि,

काठमाडौँ : नेपाली बजारमा मंगलबार सुनको मूल्य एकैदिनमा उल्लेख्य रूपमा बढ्दै नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ५ हजार ८ सय रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलाको २ लाख ६१ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर तोलाको २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार हालसम्मकै यो मूल्य नेपाली सुन बजारको इतिहासमै सबैभन्दा महँगो हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको वृद्धि, डलरको विनिमय दरमा उतारचढाव तथा विश्वव्यापी आर्थिक अनिश्चितताका कारण सुनको भाउमा निरन्तर दबाब परिरहेको व्यवसायीहरू बताउँछन् । लगानीकर्ताहरू सुरक्षित लगानीको रूपमा सुनतर्फ आकर्षित हुँदा पनि मूल्य बढ्न सहयोग पुगेको उनीहरूको भनाइ छ ।

यस्तै, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । महासंघका अनुसार चाँदी तोलामा २० रुपैयाँले बढेर तोलाको ४ हजार २ सय ५५ रुपैयाँ पुगेको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको जनाइएको छ ।

सुन तथा चाँदीको मूल्यमा आएको तीव्र वृद्धिले गहना व्यवसाय प्रभावित हुने र सर्वसाधारण उपभोक्ताले खरिदमा संयम अपनाउने अवस्था सिर्जना भएको व्यवसायीहरूको भनाइ छ । आगामी दिनमा अन्तर्राष्ट्रिय बजारको अवस्था र आर्थिक गतिविधिका आधारमा मूल्य थप उतारचढाव हुने अनुमान गरिएको छ ।

टिप्पणिहरु
Loading...