Admission Open

ad place

निर्वाचन अब ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौँ, १ पुस : नेपालको संविधानले अङ्गीकार गरेको मिश्रित निर्वाचन प्रणालीअनुसार आगामी प्रतिनिधिसभा निर्वाचनमा मतदाताले प्रत्यक्ष र समानुपातिक गरी दुई वटा मतपत्रमार्फत मतदान गर्नेछन्। कूल २७५ सदस्यीय प्रतिनिधिसभामध्ये १६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ११० सदस्य समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने संवैधानिक व्यवस्था छ।

निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको मिति तय गरेको छ। निर्वाचन हुन अब ७९ दिन मात्र बाँकी रहँदा आयोगले निर्वाचन तयारीलाई तीव्र बनाएको छ। सोही क्रममा सार्वजनिक गरिएको विवरणअनुसार यसपटक केही राजनीतिक दलले प्रत्यक्ष निर्वाचन प्रणालीमा मात्र भाग लिने र समानुपातिक निर्वाचन प्रणालीमा सहभागी नहुने भएका छन्।

सामान्यतया राजनीतिक दलहरूले मिश्रित निर्वाचन प्रणालीअन्तर्गत प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा सहभागिता जनाउने प्रचलन रहँदै आएको छ। तर निर्वाचन आयोगका अनुसार संविधान प्रदत्त अधिकारअनुसार दलहरूले आफू अनुकूल कुनै एक प्रणालीमा मात्र पनि सहभागिता जनाउन सक्ने व्यवस्था रहेको छ। यही व्यवस्थाअनुसार १४ राजनीतिक दलले प्रत्यक्ष निर्वाचन प्रणालीमा मात्र भाग लिने निर्णय गरेका हुन्।

निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुनका लागि १०० राजनीतिक दलले दर्ता गराएका छन्। ती दलहरूका लागि आयोगले ९३ वटा निर्वाचन चिन्ह उपलब्ध गराएको छ। यस्तै, प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ भने कूल ११४ राजनीतिक दल दर्ता भएका छन्।

आयोगले तोकेको कार्यविधि पूरा गरी निर्वाचन प्रयोजनका लागि १०२ राजनीतिक दल दर्ता भएका छन् भने राजनीतिक दलसम्बन्धी नियमावलीअनुसार एकल निर्वाचन चिन्ह लिएर १२ राजनीतिक दलले छुट्टै रूपमा दर्ता गराएका छन्।

आयोगका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीमा मात्र सहभागी हुने राजनीतिक दलमा राष्ट्रिय समता पार्टी नेपाल, विकासशील जनता पार्टी, राष्ट्रिय साझा पार्टी, परिवर्तन पार्टी, युनाइटेड नेपाल डेमोक्र्याटिक पार्टी, नेपाल नौलो जनवादी पार्टी र राष्ट्रिय समुन्नति पार्टी रहेका छन्। यस्तै, राष्ट्रवादी केन्द्र नेपाल, राष्ट्रवाद युवा मोर्चा, लोक दल, राष्ट्रवादी एकता पार्टी, विवेकशील साझा पार्टी, देशभक्त लोकतान्त्रिक पार्टी तथा नेपाल सर्वोदय पार्टी पनि प्रत्यक्षतर्फ मात्र सहभागी हुने दलको सूचीमा परेका छन्।

यी राजनीतिक दलहरूले प्रत्यक्ष निर्वाचन प्रणालीमा उम्मेदवारी दिने भए पनि समानुपातिक निर्वाचन प्रणालीमा भने सहभागिता नजनाउने निर्वाचन आयोगले जनाएको छ।

यस विषयमा समानुपातिकतर्फका सहायक निर्वाचन अधिकृत तथा आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले कतिपय राजनीतिक दलले अर्को दलको निर्वाचन चिन्ह प्रयोग गरी समानुपातिक निर्वाचनमा सहभागी हुने भएकाले छुट्टै रूपमा दल दर्ता नगरेको जानकारी दिए। उनका अनुसार निर्वाचनसम्बन्धी कानुनी व्यवस्थाअनुसार यस्तो विकल्प प्रयोग गर्न सकिने भएकाले केही दल समानुपातिकतर्फ अलग रूपमा देखिएका छैनन्।

निर्वाचनको मिति नजिकिँदै जाँदा दल दर्ता, निर्वाचन चिन्ह वितरण, मतदाता शिक्षा तथा व्यवस्थापनलगायतका कामलाई आयोगले तीव्र रूपमा अघि बढाइरहेको जनाएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...