Admission Open

ad place

उपाधि जित्न आत्मविश्वास अपरिहार्य रहेछः कप्तान रोहितकुमार पौडेल

एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई

काठमाडौँ, २८ मङ्सिर: नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले हात पारेको छ। त्रिवि क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै च्याम्पियनको ताज पहिरिन सफल भएको हो।

टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम रोयल्सले निर्धारित ओभरमा प्रतिस्पर्धात्मक मानिने स्कोर बनाउन सकेन। मध्यम लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले सन्तुलित ब्याटिङ प्रदर्शन गर्दै चार विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो र दोस्रो संस्करणको एनपिएल उपाधि आफ्नो नाममा लेखायो।

“सुरुदेखि नै उपाधि जित्छौँ भन्ने विश्वास थियो”

उपाधि जितेपछि प्रतिक्रिया दिँदै लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले टोलीभित्रको आत्मविश्वास, एकता र निरन्तर मेहनत नै च्याम्पियन बन्नुको मुख्य आधार भएको बताउनुभयो।
“उपाधि जित्न विश्वास हुनपर्ने रहेछ। प्रतियोगिता सुरु हुँदादेखि नै हामी उपाधि जित्छौँ भन्ने आत्मविश्वासमा थियौँ। सबै खेलाडी एकजुट भएर खेले र त्यसको परिणाम आज उपाधिको रूपमा पायौँ,” कप्तान पौडेलले भन्नुभयो।

उहाँले फाइनल खेलमा पनि दबाबमा नआई टोलीले योजनाअनुसार प्रदर्शन गर्न सकेको उल्लेख गर्दै प्रशिक्षक र सहयोगी स्टाफको भूमिका पनि प्रशंसनीय रहेको बताउनुभयो।

रोहित पौडेल बने ‘प्लेयर अफ दी टुर्नामेन्ट’

लुम्बिनी लायन्सलाई च्याम्पियन बनाउने क्रममा कप्तान रोहितकुमार पौडेलको प्रदर्शन प्रतियोगिताभर प्रभावशाली रह्यो। अलराउन्ड प्रदर्शनका कारण उहाँ ‘प्लेयर अफ दी टुर्नामेन्ट’ घोषित हुनुभयो। उक्त अवार्डसँगै रोहितले पुरस्कारस्वरूप कार प्राप्त गर्नुभयो।

ब्याटिङतर्फ रोहित सिजनमा सर्वाधिक २७६ रन बनाउँदै दोस्रो स्थानमा रहन सफल भए। त्यसैगरी बलिङतर्फ पनि १० विकेट लिँदै टोलीको जितमा महत्वपूर्ण योगदान दिनुभयो। उहाँको निरन्तर प्रदर्शनकै आधारमा रोहित प्रतियोगिताको उत्कृष्ट ब्याटर समेत घोषित हुनुभयो।

यसका साथै प्रतियोगिताको इमर्जिङ प्लेयर अफ दी टुर्नामेन्टको उपाधि पनि रोहितकै नाममा रह्यो, जसबापत उहाँले पल्सर मोटरसाइकल प्राप्त गर्नुभयो। एउटै प्रतियोगितामा व्यक्तिगत रूपमा धेरै विधामा उत्कृष्ट ठहरिनु रोहितका लागि स्मरणीय उपलब्धि बनेको छ।

सुदूरपश्चिम लगातार दोस्रोपटक उपविजेतामै सीमित

लगातार दोस्रो संस्करणमा पनि उपाधि नजिक पुगेर चुक्दा सुदूरपश्चिम रोयल्सका प्रशिक्षक जगत टमटाले निराशा व्यक्त गर्नुभयो। फाइनल खेलपछि प्रतिक्रिया दिँदै उहाँले प्रतियोगिताभर गरिएको मेहनत अन्तिम खेलमा परिणाममा रूपान्तरण गर्न नसकिएको बताउनुभयो।

“एक महिनादेखि उपाधि जित्ने लक्ष्यका साथ कडा मेहनत गरेका थियौँ। तर फाइनलमा हाम्रो खेल चलेन, जसले गर्दा सबै मेहेनत खेर गएको अनुभूति भएको छ,” प्रशिक्षक टमटाले भन्नुभयो।

ब्याटिङ कमजोर हुनु नै हारको मुख्य कारण

प्रशिक्षक टमटाका अनुसार फाइनल खेलमा ब्याटिङ कमजोर हुनु नै सुदूरपश्चिमको हारको प्रमुख कारण बन्यो।
“टस जितेर ब्याटिङ रोजेपछि हामीले अपेक्षित स्कोर बनाउन सकेनौँ। कम लक्ष्य बनेपछि विपक्षी टोलीलाई जित निकाल्न सहज भयो। आज हाम्रो खराब दिन रह्यो,” उहाँले स्पष्ट पार्नुभयो।

यद्यपि, उहाँले सुदूरपश्चिम रोयल्सले प्रतियोगिताभर राम्रो खेल देखाएको उल्लेख गर्दै आगामी संस्करणमा कमजोरी सुधार गरी अझ बलियो रूपमा प्रस्तुत हुने प्रतिबद्धता जनाउनुभयो।

एनपिएलको लोकप्रियता थप बढ्ने विश्वास

एनपिएल दोस्रो संस्करणको सफल सम्पन्नसँगै नेपाली घरेलु क्रिकेटमा नयाँ ऊर्जा थपिएको देखिएको छ। खेलाडीको प्रतिस्पर्धात्मक प्रदर्शन, दर्शकको उत्साहपूर्ण उपस्थिति र व्यवसायिक व्यवस्थापनका कारण एनपिएलले नेपाली क्रिकेटको भविष्य उज्यालो बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...