
काठमाडौँ : नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा आयोजित प्रतिभा सम्मान तथा पुरस्कार समर्पण समारोह सोमबार काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ। समारोहमा साहित्य, संगीत, संस्कृति तथा सिर्जनात्मक चेतनाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने विशिष्ट स्रष्टा तथा प्रतिभाहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो।
कार्यक्रमको सभाध्यक्षता नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतका उपाध्यक्ष श्री मिजास तेम्बेले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ कवि श्री बैरागी काइलाको विशेष उपस्थिति रहेको थियो। प्रमुख अतिथिका रूपमा बोल्दै काइँलाले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षणमा प्रवासी नेपाली संस्थाहरूको भूमिका महत्वपूर्ण र ऐतिहासिक रहेको बताउनुभयो। सम्मान र पुरस्कारले स्रष्टालाई थप जिम्मेवार र ऊर्जा प्रदान गर्ने पनि उहाँको भनाइ थियो।
समारोहमा वरिष्ठ कवि श्री जसराज किराँतीलाई दीर्घकालीन साहित्यिक योगदानको कदर गर्दै ‘सम्मानित प्रतिभा’का रूपमा सम्मान गरिएको थियो। त्यसैगरी युवा पुस्ताका कवि, अध्याकार तथा पत्रकार श्री विजेता चौधरीलाई ‘प्रतिभा पुरस्कार’ प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ। सम्मान ग्रहणपछि प्रतिक्रिया दिँदै दुवै स्रष्टाले यस किसिमको कदरले सिर्जनात्मक यात्रामा नयाँ उत्साह थपिएको बताए।
कार्यक्रममा विशेष अतिथिका रूपमा नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतका पूर्व अध्यक्ष श्री गणेश राई तथा डा. श्री तुलसी गौतम सहभागी रहनुभएको थियो। उहाँहरूले नेपाली प्रतिभालाई अन्तर्राष्ट्रिय तहमा चिनाउने प्रतिष्ठानको प्रयास अत्यन्तै सराहनीय रहेको धारणा व्यक्त गर्नुभयो।
समारोहको दोस्रो चरणमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो। शुभकामना दिने वक्ताहरूमा वरिष्ठ सर्जक श्री बसन्त मुकारुङ, वरिष्ठ संस्कृतिविद् डा. भक्त राई, प्रसिद्ध गीतकार तथा नेपाली सेनाका अवकाशप्राप्त जनरल श्री गौरव गुरुङ, गीतकार तथा पूर्व महासेनानी श्री गंगाराज मुकारुङ, प्राज्ञ सभा सदस्य तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य श्री टीका चाम्लिङ र श्री भीषण मुकारुङ, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य श्री रानोहँछा, श्री मदन राई रहनुभएको थियो।
वक्ताहरूले साहित्य, संगीत, नाट्यकला, ललितकला तथा सिर्जनात्मक क्षेत्रको विकासमा यस्ता सम्मान कार्यक्रम अत्यन्तै आवश्यक भएको उल्लेख गर्दै यसले नयाँ पुस्तालाई सिर्जनामा आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो। साथै विदेशमा बसेर पनि नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा खेलिएको भूमिका प्रेरणादायी रहेको बताए।
कार्यक्रमको सञ्चालन नेपाली प्रतिभा प्रतिष्ठान नेपालका संयोजक, कवि तथा साहित्यकार शशी लुमुम्बुले गर्नुभएको थियो। समारोहमा रावासावा प्राज्ञिक समाज नेपालका अध्यक्ष बम बानिया, वरिष्ठ उपाध्यक्ष सुरेश हाचेकाली, उपाध्यक्ष चन्द्र रानोहँछा, कोषाध्यक्ष यमप्रसाद बास्तोला लगायत विभिन्न साहित्यिक, सांस्कृतिक संस्थाका प्रतिनिधि, पत्रकार, स्रष्टा तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समारोहले स्रष्टाहरूलाई आत्मविश्वास, प्रेरणा र सिर्जनात्मक ऊर्जा थप प्रदान गरेको सहभागीहरूले प्रतिक्रिया दिएका छन्। नेपाली प्रतिभा प्रतिष्ठानले आगामी दिनमा पनि यस्ता सम्मान तथा सिर्जनात्मक गतिविधि निरन्तर सञ्चालन गर्ने जनाएको छ।


