
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र मेडिकल व्यवसायी दुर्गा प्रसाईँबीच सिंहदरवारमा आज वार्ता सुरु भएको छ।
प्रधानमन्त्री कार्कीले केही दिनअगाडि पत्र पठाई वार्ताका लागि निम्तो गरेपछि आज दुबै पक्ष औपचारिक रूपमा भेटघाटमा बसेका हुन्। प्रसाईँले राजसंस्था पुनःस्थापना, हिन्दु अधिराज्य, चिकित्सा शिक्षा क्षेत्रमा सुधार, र राष्ट्रियता सम्बद्ध विषयहरूबारे माग राख्दै आएका छन्। माग पूरा नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिँदै आएका प्रसाईँ वार्तामा आफ्नो धारणा प्रस्तुत गरिरहेका छन्।
वार्तामा प्रधानमन्त्री कार्कीका तर्फबाट गृहमन्त्री ओम प्रकाश अर्याल, प्रमुख स्वकिय सचिव आदर्श कुमार श्रेष्ठ, मुख्य सल्लाहकार अजय भद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमल्सिना सहभागी छन्।
त्यस्तै, प्रसाईँको पक्षबाट राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका केन्द्रिय संयोजक दुर्गा प्रसाद प्रसाईँसहित वार्ता समिति सदस्यहरू—प्रेम थापा मगर, प्रेमदिप लिम्बू, देवी प्रसाद संग्रौला, विष्णु बोहरा क्षेत्री, रेणु शाही, कमला चन्द ठकुरी, तेजिन्द्र रायमाझी, विजय थापा, बलबहादुर तामाङ, शक्ति राज शाही, खिलराज शर्मा धिमाल, विनोदमणि भट्टराई, सहजकर्ता सदस्य लवन न्यौपाने, यातायात सदस्य नारायण भट्टराई, कवाडी व्यवसायी राम केवल गुप्ता, मकबुल शाह, सुशील बराल, मुकुन्द दाहाललगायत २०–२५ जना प्रतिनिधि उपस्थित छन्।
दुवै पक्षबीच अहिले जारी वार्तामा प्रसाईँले उठाएका संवैधानिक, राजनीतिक तथा सामाजिक विषयहरूमा केन्द्रित छलफल हुँदै गएको बताइएको छ। सरकारको तर्फबाट भने वार्ता सकारात्मक ढंगले अघि बढाउने तयारी गरिएको छ।


