Admission Open

ad place

नेपाल प्रिमियर लिग : लिग चरणको अन्तिम खेल आज, कर्णाली र जनकपुरबीच प्रतिष्ठाको भिडन्त

काठमाडौं, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल सञ्चालन हुँदैछ। लिग चरणको अन्तिम खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स आमनेसामने हुँदैछन्।

अपराह्न ३ः३० बजे सुरु हुने यो खेल दुवै टोलीका लागि प्रतिष्ठाको विषय बनेको छ। छ–छ खेल खेलिसकेका कर्णाली याक्स र जनकपुर बोल्ट्सले समान दुई–दुई अंक मात्र जोड्न सफल भएका छन्। कमजोर प्रदर्शनका कारण दुवै टोली यसअघि नै प्रतियोगिताको प्ले–अफ दौडबाट बाहिरिसकेका छन्। त्यसैले आजको खेल उपाधि यात्राभन्दा बाहिरिए पनि आत्मसम्मान जोगाउने अवसरका रूपमा लिइएको छ।

यस सिजनमा दुवै टोलीले अपेक्षाअनुसारको प्रदर्शन गर्न सकेनन्। साविक विजेता जनकपुर बोल्ट्सले उपाधि रक्षा गर्ने लक्ष्यका साथ प्रतियोगितामा सहभागिता जनाए पनि निरन्तर हार व्यहोर्नुपर्‍यो। त्यस्तै, कर्णाली याक्स पनि टोली संयोजन र प्रदर्शनमा तालमेल मिलाउन असफल देखिएको छ। आजको खेल दुवै टोलीका लागि आफ्ना समर्थकलाई सान्त्वना दिन र प्रतियोगिताको सुखद समापन गर्ने अवसरका रूपमा लिइएको छ।

लिग चरणको अन्य खेलहरूको नतिजाअनुसार सुदूरपश्चिम रोयल्सविराटनगर किङ्स क्वालिफायर चरणका लागि छनोट भइसकेका छन्। यी दुई टोली उपाधि यात्रातर्फ एक कदम नजिक पुगेका छन्। यस्तै, काठमाडौं गोर्खाजलुम्बिनी लायन्स ले इलिमिनेटर चरणमा स्थान सुरक्षित गर्दै अन्तिम चारमा पुग्ने सम्भावना जोगाएका छन्।

अब क्वालिफायर र इलिमिनेटर चरणबाट फाइनलमा पुग्ने टोलीको टुंगो लाग्नेछ। दर्शकको उल्लेखनीय उपस्थितिका बीच सञ्चालन भइरहेको एनपिएलको दोस्रो संस्करणले नेपाली घरेलु क्रिकेटको स्तर, प्रतिस्पर्धा र लोकप्रियता थप उचाइमा पुर्‍याएको क्रिकेटप्रेमीहरूको विश्वास छ।

आजको अन्तिम लिग खेलसँगै अब प्रतियोगिता निर्णायक मोडमा प्रवेश गर्नेछ, जहाँ उपाधिका लागि कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...