
बर्दिया : गेरुवा गाउँपालिकामा ‘वास गेन्स परियोजना’को सहकार्यमा विभिन्न सामुदायिक विद्यालयहरूको संयुक्त अनुगमन गरिएको छ । अनुगमनको मुख्य उद्देश्य विद्यालयहरूमा खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) को अवस्था, व्यवस्थापन र नियमितता मूल्यांकन गर्नु रहेको थियो । यसबाट स्थानीय तहको शैक्षिक वातावरण सुधारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
अनुगमन टोलीले सरस्वती आधारभूत विद्यालय जोधिपुर, बालप्रिय आधारभूत विद्यालय तीनघरुवा, नेपाल राष्ट्रिय आधारभूत विद्यालय गिदारपुर, नवज्योति आधारभूत विद्यालय सुखार, जनता परिक्षित नरसिंह आधारभूत विद्यालय वाहीपुर, एकप्रिय राठोर माध्यमिक विद्यालय पाताभार र जानकी माध्यमिक विद्यालय जनकनगरलगायत विद्यालयमा भौतिक संरचना र सेवा–सुविधाको अध्ययन गरेको थियो ।
अवलोकनका क्रममा फोहर व्यवस्थापन, पहुँचयोग्य पूर्वाधार निर्माण, मर्मत–सम्भार कोष, शिप तथा औजार व्यवस्थापन, ह्यान्ड वास स्टेशनको दक्ष प्रयोग र सरसफाइ अभ्यासमा सुधार आवश्यक देखिएको छ । साथै अपांगता भएका बालबालिकालाई सुरक्षित र पहुँचयोग्य वातावरण उपलब्ध गराउने विषयमा विद्यालय प्रशासनलाई विशेष प्राथमिकता दिन सुझाव दिइएको छ ।
तथा बाल क्लब तथा किशोरी क्लबसँग अन्तरक्रिया गर्दै ‘तिन तारे’ परिक्षण सूचकको आधारमा विद्यालयहरूको वर्तमान स्थिति मूल्यांकन गरिएको थियो। क्लब सदस्यहरूले विद्यालयको सरसफाइ, स्वच्छ पानीको पहुँच, शौचालयको नियमित प्रयोग, व्यक्तिगत स्वच्छता अभ्यास र सरोकारवालासँगको समन्वयबारे आफ्ना अनुभव साझेदारी गरेका थिए । अनुगमन टोलीले नियमित पालना र अभिलेखीकरणको महत्वबारे पनि प्रकाश पारेको थियो ।
अनुगमन टोलीमा गेरुवा गाउँपालिका अध्यक्ष जमानसिंह के.सी., उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत वसबहादुर राना, विषयगत शाखाका प्रमुखहरू, परियोजनाका कर्मचारी तथा प्रतिनिधिहरू सहभागी थिए । स्थानीय तहको नेतृत्वसँगै परियोजना टोलीको सक्रियताले विद्यालयहरूको समग्र वास अवस्थालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ । सन्तोष पौडेल/दैनिकमध्यान्ह


