
काठमाडौँ, २० मंसिर : लेखक कुमारीकमला राईद्वारा लिखित अनुभव–सङ्ग्रह ‘आफ्नै तस्वीर’ को लोकार्पण कार्यक्रम काठमाडौँमा सम्पन्न भएको छ।
रावसावा प्राज्ञिक समाज नेपाल, काठमाडौँको आयोजनामा सम्पन्न उक्त कार्यक्रम नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीस्थित पारिजात हलमा भएको हो।
कार्यक्रममा आयोजक संस्थाका पदाधिकारीहरू: अध्यक्ष बम बानियाँ, वरिष्ठ उपाध्यक्ष सुरेश हाचेकाली, उपाध्यक्ष चन्द्र रानोहँछा, महासचिव भरत लिमेल मगर, कोषाध्यक्ष यमप्रसाद बास्तोला, वरिष्ठ सदस्य डा. यादेवी ढकाललगायतको उपस्थिति रहेको थियो।

महिला शिक्षक समाजकी केन्द्रीय उपाध्यक्ष तथा जनकल्याण माध्यमिक विद्यालयकी पूर्व प्रधानाध्यापक कुमारी कला राईद्वारा लेखिएको उक्त अनुभव–सङ्ग्रहको लोकार्पण समारोहमा साहित्यप्रेमी, लेखक, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता रावसावा प्राज्ञिक समाजका अध्यक्ष बम बानियाँले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा राष्ट्रिय परीक्षा बोर्ड, सिनामंगलकी निर्देशक जयन्ती सत्यालको उपस्थिति रहेको थियो।
कृतिमाथि टिप्पणी गर्दै रावसावा प्राज्ञिक समाजका वरिष्ठ उपाध्यक्ष सुरेश हाचेकालीले पुस्तकले जीवनका यथार्थ अनुभूति, संघर्ष र समाजका विविध आयामहरूलाई सशक्त ढङ्गले उजागर गरेको उल्लेख गर्नुभयो।
समारोहमा बोल्ने वक्ताहरूले लेखक कुमारीकमला राईको साहित्यिक यात्राको चर्चा गर्दै ‘आफ्नै तस्वीर’ कृतिले जीवनका अनुभूत क्षण, आत्मसंघर्ष, सामाजिक यथार्थ र मानवीय संवेदनालाई कलात्मक रूपमा प्रस्तुत गरेको बताए। उनीहरूले यस्तो कृति नेपाली साहित्यका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै लेखकलाई आगामी दिनमा थप सशक्त र सिर्जनशील कृति ल्याउन शुभकामना व्यक्त गरेका थिए।
कृतिको लोकार्पणसँगै लेखकसँग प्रत्यक्ष संवाद तथा विचार आदान–प्रदानसमेत गरिएको थियो। कार्यक्रममा सहभागी साहित्यप्रेमीहरूले कृतिप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गर्दै यसले पाठकलाई जीवनका गहिरा अनुभूति महसुस गराउने बताएका थिए। कार्यक्रममा दुई सय भन्दा बढीको उपस्थिति रहेको आयोजकले जनाएका छन।


