Admission Open

ad place

पीसीएल नर्सिङको नतिजा सार्वजनिक : १७ प्रतिशत मिडवाईफ सतप्रतिशत उत्तीर्ण

काठमाडौं : नेपाल नर्सिङ परिषद्ले सञ्चालन गरेको प्रविणता प्रमाणपत्र तह (पीसीएल) नर्सिङको नाम दर्ता (लाइसेन्स) परीक्षाको यसपटकको नतिजा अत्यन्त कमजोर आएको छ । परिषद्ले गत १६ देखि १८ कात्तिक (हिजो) सम्म सञ्चालन गरेको परीक्षामा जम्मा १७.४४ प्रतिशत मात्र उत्तीर्ण भएका छन् ।

परिषद्का अनुसार परीक्षाका लागि ६४५ जनाले फारम भरेका थिए, तर ६०२ जना मात्र परीक्षामा सहभागी भए । तीमध्ये १०५ जना मात्र सफल भएका हुन् । यो परिणाम नर्सिङ शिक्षाको गुणस्तर र मूल्यांकन प्रणालीप्रति गम्भीर प्रश्न उठाउने खालको छ ।

बीएस्सी नर्सिङ तर्फ पनि यो वर्षको नतिजा सन्तोषजनक छैन । कुल २१७ जनाले फारम भरेका मध्ये २१० जनाले परीक्षा दिएका थिए, जसमा ९६ जना (४५.७१ प्रतिशत) मात्र सफल भएका छन् । त्यस्तै विशेषज्ञ नर्स तर्फको नाम दर्ता परीक्षामा ९८ जनामध्ये ८९ जना सहभागी भए र तीमध्ये ५० जना (५६.१८ प्रतिशत) मात्र उत्तीर्ण भएका परिषद्ले जनाएको छ ।

तर, बीएमएस (ब्याचलर अफ मिडवाइफ्री) को परीक्षामा भने सबैजना सफल भएका छन् । उक्त तर्फ २८ जनाले फारम भरेका थिए, २७ जना परीक्षामा सहभागी भए र सवै २७ जना (१०० प्रतिशत) सफल भएका छन् ।नतिजा कमजोर आउनुको कारणबारे परिषद्का परीक्षा समितिले ‘पुराना विद्यार्थीहरूको सहभागिता बढी हुनु’ मुख्य कारण भएको जनाएको छ । “यसपटकको परीक्षामा धेरैजसो अघिल्ला वर्षहरूमा अनुत्तीर्ण भएकाहरू सहभागी भएका थिए, नयाँ पासआउट विद्यार्थी कम थिए,” परिषद् परीक्षा समिति भन्छ “त्यसैले नतिजा कमजोर हुन सक्छ ।”

यसपटकको परीक्षा पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन संस्थामा कम्प्युटर प्रणालीमार्फत सञ्चालन गरिएको थियो । परिषद्ले यसलाई ‘निष्पक्ष र पारदर्शी’ परीक्षा बताएको भए पनि नतिजाले शैक्षिक तयारी र गुणस्तरप्रति गम्भीर प्रश्न उठाएको देखिन्छ ।

नतिजा सार्वजनिक भएपछि शिक्षा र स्वास्थ्य क्षेत्रमा कार्यरत विशेषज्ञहरूले नर्सिङ शिक्षाको गुणस्तर र नियमनप्रति प्रश्न उठाएका छन् । उनीहरूका अनुसार, शुल्कमुखी नीतिले नर्सिङ शिक्षाको स्तर घटाएको छ भने, प्रयोगात्मक अध्ययन र क्लिनिकल अभ्यासमा सुधार नगरेसम्म गुणस्तरीय नतिजा आउन असम्भव देखिन्छ । स्वास्थ्य शिक्षाविद्का अनुसार “नर्सिङ पेशा मानवजीवनसँग प्रत्यक्ष सम्बन्धित हो । यस पेशामा अध्ययनरत विद्यार्थीहरूको ८० प्रतिशतभन्दा बढी असफल हुनु केवल विद्यार्थीको कमजोरी होइन, सम्पूर्ण शिक्षा प्रणालीकै विफलता हो ।”

नेपाल नर्सिङ परिषद्ले २३, २४ र २५ कात्तिकमा उत्तीर्ण विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गर्ने तालिका सार्वजनिक गरेको छ । त्यस्तै, परीक्षामा असफल भएका विद्यार्थीहरूले नतिजामा चित्त नबुझे ३५ दिनभित्र पुनरावलोकनका लागि निवेदन दिन सक्ने व्यवस्था गरिएको परिषद्ले जनाएको छ ।

तीन दशकदेखि नर्सिङ शिक्षा र मूल्यांकन प्रणालीमा सुधारको माग भइरहे पनि व्यवहारिक परिवर्तन भने देखिएको छैन । अहिले आएको कमजोर नतिजा त्यसैको दुष्परिणामका रूपमा देखिएको हो । स्वास्थ्य नीति–निर्माताहरूका अनुसार, शिक्षण संस्थाहरूमा गुणस्तरीय शिक्षण, अध्यापन विधि, र मूल्यांकन प्रणालीमा तत्काल सुधार नगरेसम्म यस्ता ‘कमजोर नतिजा’ फेरि दोहोरिन सक्ने खतरा देखिन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...