
काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री साने ताकाइचीले द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन्।
उक्त सम्झौताले अमेरिका र जापानको सम्बन्धमा नयाँ स्वर्ण युगुको सुरुवात हुने बताइएको छ। जापानी प्रधानमन्त्री ताकाइचीले अमेरिकालाई सम्बन्धको नयाँ स्वर्ण युगमा एक अपरिहार्य साझेदारको रूपमा हेर्नुको साथै ट्रम्पको भूमिकाको समेत प्रशंसा गरेकी छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले जापानलाई एक महान सहयोगीको रूपमा प्रशंसा गर्दै आवश्यक पर्दा जापानलाई सहयोग गर्न अमेरिका तयार रहने बताएका छन्।

दुई देशले गरेको सम्झौतामा पहिलो सम्झौताले लामो समयदेखि रहेका दुई राष्ट्रहरूबीचको सहयोगलाई सुदृढ गर्ने लक्ष्य राखेको छ भने दोस्रो सम्झौता महत्वपूर्ण खनिजहरूमा केन्द्रित रहेको छ। खनिजहरूको आपूर्ति सुनिश्चित गर्न र दुवै राष्ट्रको दीर्घकालीन आर्थिक र प्राविधिक सुरक्षाका लागि महत्वपूर्ण मानिएको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले जापानमाथि व्यापार र सुरक्षाको सन्दर्भमा कडा अडान लिइरहेका छन्। जसले टोकियोलाई अन्योलमा पारेको छ। ट्रम्प जापानको बजारमा, विशेष गरी कार, कृषि र प्रविधि क्षेत्रमा अमेरिकाको पहुँच बढाउन चाहन्छन्।
निर्यातमा धेरै निर्भर र आफ्नो अटो उद्योगका कारण टोकियोमाथि यी सम्झौताहरू कार्यान्वयन गर्न ठूलो दबाब छ। प्रधानमन्त्री ताकाइचीले घरेलु उद्योग, विशेष गरी शक्तिशाली कृषिको हितलाई पनि संरक्षण गर्नुपर्ने चुनौतीको सामना गर्नुपर्ने देखिएको छ।


