
सल्यान, ९ कात्तिक : सल्यानमा ज्वरो र स्क्रब टाइफसका बिरामी बढ्दै गएसँगै थप एक पुरुषको मृत्यु भएको छ । दार्मा गाउँपालिका–५ ढाँकाडामका ४० वर्षीय टेकम चन्दको उपचारका क्रममा मृत्यु भएको हो ।
उच्च ज्वरो आएपछि आफन्तले उपचारका लागि नेपालगन्ज लगेका चन्दको अस्पतालमै मृत्यु भएको दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार र चन्दलाई स्क्रब टाइफस र डेंगीको जस्तै लक्षण देखिएको थियो । उहाँले भन्नुभयो, “रिपोर्ट नआए पनि मुटु र छातीमा समस्या देखिएको डाक्टरहरूले बताएका छन् ।’’
यसअघि असोज अन्तिम सातामा दार्मा गाउँपालिका–३ दुवाङ्गकी ४७ वर्षीया यनकुमारी खत्रीको पनि उच्च ज्वरोका कारण मृत्यु भएको थियो । पछिल्लो समय गाउँपालिकामा ज्वरो, स्क्रब टाइफस र सरोकारसम्बन्धी रोगका बिरामी बढ्दै गएको स्वास्थ्य शाखाको भनाइ छ ।
“उच्च ज्वरो देखिएकाको रगत परीक्षणको तयारी भइरहेको छ । अवस्था गम्भीर भएका बिरामीलाई जिल्ला अस्पताल रिफर गर्दै आएका छौं,” बस्नेतले बताउनुभयो ।
असोज महिनामै स्क्रब टाइफसबाट एक र ज्वरोका कारण तीनजनाको मृत्यु भइसकेको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढामगरले स्थानीय स्तरमा रोगको पहिचानमा ढिलाइ र आफैं औषधी सेवन गर्ने प्रवृत्तिका कारण जोखिम बढ्दै गएको वताउनुभयो । उहाँका अनुसार स्क्रब टाइफसको जोखिम बढेपछि अहिले प्रभावित क्षेत्रमा गएर रगत परीक्षण र निगरानी कार्य तीव्र रूपमा भइरहेको छ ।
यसैबिच जिल्लामा स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि स्वास्थ्यकर्मीहरू गाउँगाउँमा पुगेर सङ्क्रमितको पहिचान तथा सचेतना अभियानमा जुटेका छन् ।
जिल्लाको बागचौर नगरपालिका र छत्रेश्वरी गाउँपालिका स्क्रब टाइफसको उच्च जोखिममा रहेकाले स्वास्थ्य सेवा कार्यालय सल्यानले ती क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्दै सङ्क्रमितको खोजी कार्य थालेको हो ।
शारदा नगरपालिका, बागचौर नगरपालिका र छत्रेश्वरी गाउँपालिका सङ्क्रमणको उच्च जोखिममा छन्। शारदा नगरपालिकाभित्र सल्यान जिल्ला अस्पताल अवस्थित रहेकाले अधिकांश सङ्क्रमितले अस्पतालबाटै सेवा लिइरहेका छन् भने बागचौर र छत्रेश्वरीमा स्वास्थ्य टोली स्वयं गाउँ पुगेर परीक्षण तथा सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ ।
बागचौर नगरपालिका–४ मा आयोजित शिविरमा ३३ जनाको रक्त परीक्षण गर्दा १० जनामा स्क्रब टाइफस पोजेटिभ देखिएको छ । त्यस्तै, छत्रेश्वरी गाउँपालिकामा ३७ जनाको परीक्षण गर्दा ८ जनामा स्क्रब टाइफस पोजेटिभ र २ जनामा डेंगु पोजेटिभ भेटिएको छ ।
जनस्वास्थ्य अधिकृत तारा रिजालले शिविरमा सहभागी बिरामीलाई स्क्रब टाइफस, डेंगु लगायत रोगहरूको जानकारी, सङ्क्रमण हुने तरिका र बच्ने उपायबारे समेत जानकारी दिइएको बताउनुभयो । उहाँका अनुसार हालसम्म जिल्लामा स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ९५ पुगेको छ । तीमध्ये अधिकांशको सल्यान जिल्ला अस्पतालमा उपचारपछि निको भई घर फर्किसकेको जनाइएको छ ।


