
काठमाडौं : सन् २००१ मा स्थापना भएको गैरसरकारी संस्थामा उनले काम सुरु गरे। समलिङ्गी, तेस्रोलिंगी, अन्तरलिंगी र दुईलिंगी व्यक्तिहरूको स्वास्थ्य र अधिकारका लागि वकालत गर्ने उद्देश्य थियो संस्थाको। दातृ निकायले सहयोग नगरेसम्म उनले स्वयंसेवककै रूपमा योगदान दिए। पछि फन्ड आउन थालेपछि त्यही संस्थामा जागिर पनि पाए।
नील हिरा समाज (ब्लु डायमन्ड सोसाइटी)का संस्थापक सदस्य हुन् उनी। दुई दशकभन्दा बढी समय उनले सोसाइटीका लागि बिताए। बीचमा एफएचआइ परियोजनामा पियर एजुकेटरको रूपमा पनि काम गरे। दिवङ्गत मनोरञ्जन कुमार वैद्यले सम्हालेको सचिव पदमा पुगेका उनी पछि कोषाध्यक्ष समेत बने।
“स्थापनादेखि नै सदस्य हुँ, सचिव र कोषाध्यक्ष भएर कार्यसमितिमै रहेँ,” नाम नखुलाउने सर्तमा उनले भने, “तर कार्यसमितिमा एकै व्यक्तिको दादागिरी चल्छ, संस्थाको आर्थिक पारदर्शिताबारे कहिल्यै जानकारी दिइँदैन।”
“माफियाको अड्डा”
धरानका बादलले एक पटक फेसबुकमा लेखेका थिए, “ब्लु डायमन्ड माफियाहरूको अड्डा हो, गुन्डाहरूको समूह हो।” उनको त्यो स्ट्याटस पढेका उनी सम्झिन्छन्,“तर त्यसलाई अर्को दिनमै डिलिट गर्न लगाइयो।”
सर्वोच्च अदालतमा नेपाल सरकारविरुद्ध सुनिल बाबु पन्त रहेको रिटका निवेदक दिवङ्गत मनोरञ्जन कुमार वैद्यले पनि उनलाई सोधेका थिए, “दिवा प्रोजेक्टले तलब दिइरहेको छ, भत्ता पनि पाउँछौँ, एक जनालाई पुगिरहेको छ, तर तेरो जीवन निर्वाह कसरी भइरहेको छ?”
त्यो प्रसङ्ग उनले कोइलीलाई सुनाएका थिए। “मन्थराले दिवा परियोजनाबाट खाए, त्यो त विश्वराजहरूको थियो, तर त्यो प्रोजेक्टमा मेरो जागिर थिएन,” उनले भने, “आधी-आधी तलब दिइरहेको वैद्य बा ले भनेपछि उनलाई ‘आउट’ गरेर मलाई ‘इन’ गराए। वैद्य बा दिवा प्रोजेक्टमै थिए।”
निर्णय माथिबाट, हस्ताक्षर तलबाट
उनका अनुसार, संस्थाभित्रका निर्णयहरू सधैँ ‘माथिबाट’ तयार भएर आउँथे। “हामीलाई सिग्नेचर गर्न लगाइन्थ्यो। ‘हेर्नुस्, म एक्लै विरोधी हुन्छु, सोध्या छ कि छैन?’ भनिन्थ्यो। अनि सबै जना कोइलीको पक्षमा ‘हो’ भनिहाल्थे,” उनले सुनाए।
अध्यक्ष पदबाट हटिसके पनि प्रत्येक बोर्ड बैठकमा निर्देशन दिने काम कोइलीकै हातमा रहन्थ्यो। “उसको बारेमा कुरा आउनै नहुने, बोर्डमा राखिहाल्ने, बैठक बोलाउने, अनि सबै परिचालित गर्ने काम पनि उ स्वयं गर्छ,” उनले भने।
बोर्ड बैठकमा हुने निर्णय पनि पारदर्शी थिएन। “कहिले सुनाइन्थ्यो, कहिले कार्यसमितिमै अरूलाई थाहा हुन्नथ्यो,” उनले भने। दिवङ्गत वैद्य पछि सचिव बनेका उनी कोषाध्यक्षबाट पनि हटाइए।
“एफएचआइमा परियोजनामा कार्यरत सत्येन्द्र र समता दुवै बोर्डमा छन्, उनीहरू दुई तिर खान सक्छन् रे। तर मलाई भने मिल्दैन भनेर हटाइयो,” उनले भने, “राजीनामा नै गर्न लगाइन् कोइलीले, ‘कोषाध्यक्ष बस्न मिल्दैन, दुई ठाउँमा खान मिल्दैन’ भनेर।”
उनको प्रश्न छ, “एफएचआई प्रोजेक्टमा काम गर्नेले बोर्डमा पनि बस्न मिल्ने? म सेभ द चिल्ड्रेनमा हुँदा किन नमिल्ने?” अहिले सोसाइटीको कोषाध्यक्ष राज हुसेन छन्।
सम्मान गृहभित्रको पीडा र जोखिम
कोषाध्यक्षबाट हटाइएपछि उनले सम्मान गृहमा केयरटेकरको काम सुरु गरे। तर, “मन्थराहरूले ‘मिल्दैन’ भन्न थाले र अन्ततः मलाई हटाइदिए,” उनले भने।
“हरेक बैठकमा कोइली आउनै पर्छ। उसको अनुमति बिना बैठक बस्दैन। न अध्यक्षको आदेश, न अरू केही,” उनले भने, “उसैले ‘यसो गर’ भनेर सबैलाई सिकाउँछ।”
उनका अनुसार, उनले जागिर छोड्दा तलब घटाएर पठाइएको थियो। “३० हजार पाउँथे, घटाएर १६ हजार भयो।
२० हजार गरिदिए बस्छु, उनले भने। तर मन्थराले, डोनरले दिँदैनन्, हुँदैन भने।
उनी भन्छन्, “त्यत्रो वर्ष काम गर्दा पनि सम्मान गृहमा काम सजिलो थिएन। त्यहाँ हेपाटाइटिस बी, सी भएका, एचआइभी सङ्क्रमित व्यक्तिहरू थिए। पकाएर खान दिनुपर्थ्यो, भाँडा माझ्नुपर्थ्यो। जोखिम कति ठुलो थियो भन्नुस् त! रोग सर्छ कि सर्दैन भन्ने डर हरेक दिन।”
उनका अनुसार, “बाहिर जिल्लामा सम्मान गृह छन् तर निरीक्षण गर्न कोही जान्न। रिपोर्ट मात्रै बनाइन्छ। पोखरामा सम्मान गृह ‘पर्दैन’ भन्ने आवाज आएको थियो।”
उनका अनुसार, “पोखरामा सम्मान गृह नराखे पनि हुन्छ भनियो। मेटीहरू चर्ने, टा लगाएर राख्ने, सम्मान गृहको नाममा अनेक गतिविधि भइरहेको छ।”
उनले आरोप लगाए, “मन्थराको इटहरी जतिलाई प्रमोट गर्ने, बजेट मिलाएर खाने चलन छ। बजेटको छलफल कागजमै हुन्छ, हिसाब मिलाउन अडिटरसँग मिलिन्छ। कति महिनासम्म उनीहरूलाई राखिन्छ।”
“पिंकीले थुप्रै बैङ्कमा पैसा राखेकी छिन्, निरीक्षण गर्दा थाहा हुन्छ। चितवनमा जग्गा लिएकी छिन्, अहिले करोडौँ मूल्य पुगेको छ। त्यसैले त पिंकीको देबदाइसँग त्यति बाक्लो सम्बन्ध भएको,” उनले भने।
उनका अनुसार, “उमिशा (उमेश श्रेष्ठ) नाम मात्रैका अध्यक्ष हुन्। वास्तविक निर्णय गर्ने पिंकी हुन्। उनी बोर्डमा सबैलाई धम्क्याउँछिन्, ‘तपाईँहरूलाई मैले के लुकाएको छु?’ भनेर। सबै डराउँछन्।”
“गैरिनी त डराउने मान्छे म के? उ त मेकअप आर्टिस्ट, म त सर्वसाधारण। गुन्डाराज चलाएकी छिन् पिंकी, शीतल, कोइली आदि उपनाम भएका सञ्जीव गुरुङले,” उनले आफूले भोगेको अनुभव सुनाए।
अधिकारका नाममा प्रश्न
पिंकी र मनिषा ढकाल सबै प्रोजेक्टबाट तलब भत्ता बुझ्ने गरेको बताए उनले। उनले समुदायबाट समुदाय नै शोषित भएको बताए। विडम्बना— आजसम्म ब्लु डायमन्ड सोसाइटीले आफ्नै संस्थापक सदस्यको नाम मतदाता नामावलीमा दर्ता गराएको छैन। आगामी फागुन २१ गते हुने निर्वाचन तेस्रोलिंगी, समलिङ्गी, अन्तरलिंगी र दुईलिंगी समुदायका लागि सामूहिक रूपमा आवाज बुलन्द गर्ने सुनौलो अवसर बनेको छ। निर्वाचन आयोगको रेकर्डअनुसार, मतदाता सङ्ख्या जम्मा १८७ मात्र छ, जबकि कुल जनसङ्ख्याको ८ देखि १० प्रतिशत यो समुदायका व्यक्तिहरू रहेको अनुमान गरिएको छ।
यो तथ्य मात्र होइन, यो समुदायका पुराना कार्यकर्ताको वास्तविक कथा पनि हो, जसले दुई दशकसम्म जीवन समर्पण गरेको संस्थाबाट अन्ततः ‘बाहिर निकालिने’ नियति भोगे। अधिकारका नाममा स्थापना भएको संस्था आज पारदर्शिता र न्यायको सवालमा आफैँ प्रश्नवाचक बनेको छ।
तिहार बिदा सुरु हुने दिनसम्म ६ जनाले अन्य पहिचानमा मतदाता नामावलीमा नाम दर्ता गराइसकेका छन्, तर सोसाइटीको संस्थापक सदस्य अझै प्रतीक्षामा छन्।


