Admission Open

ad place

पार्टी सदस्यता विवादले एमालेको एकता र लोकतान्त्रिक मूल्य खतरामा पर्‍यो: नेतृ भण्डारी

काठमाडौँ : नेकपा (एमाले) की नेतृ तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता नवीकरणमाथि उठाइएको विवादले पार्टीको एकता र लोकतान्त्रिक मूल्यमाथि प्रश्न उठेको बताएकी छन्। विधान महाधिवेशनका प्रतिनिधिलाई सम्बोधन गर्दै उनले लेखेको पत्रमा यो विवाद व्यक्तिगत नभई पार्टीको विधि, मूल्य र भविष्यसँग जोडिएको उल्लेख गरेकी छन्।

नेकपा (एमाले) केन्द्रीय कमिटीको २०८२ साल साउन ५ र ६ गतेको बैठकले भण्डारीको नवीकृत सदस्यतामाथि प्रश्न उठाएपछि उनले यो पत्रमार्फत आफ्नो धारणा राखेकी हुन्। उनले पार्टीको सचिवालय, स्थायी समिति र केन्द्रीय कमिटीका बैठकहरूमा यसअघि आफ्नो सदस्यतामाथि कुनै प्रश्न नउठेको तर अहिले विवादमा पारिएकोप्रति आश्चर्य व्यक्त गरेकी छन्।

‘मैले आफ्नो जीवनको लामो समय देश, जनता र पार्टीका लागि अर्पण गरेको छु। महिला अधिकार, मानव अधिकार, न्याय र समानताका लागि निरन्तर आवाज उठाउँदै आएकी छु,’ उनले लेखेकी छन्, ‘आज मेरो सदस्यतामाथि उठाइएको प्रश्न मेरो लागि मात्र होइन, पार्टी र सिङ्गो राष्ट्रका लागि गम्भीर छ। यो पत्र आत्मरक्षाका लागि होइन, बरु पार्टीको उज्ज्वल भविष्यका लागि हो।’

भण्डारीले २०३७ सालमा प्राप्त पार्टी सदस्यता आफ्नो आस्था र विश्वासको प्रतीक भएको उल्लेख गर्दै यसमा कुठाराघात गर्ने प्रयास दुखद् भएको बताएकी छन्। उनले पार्टीको विशेष निर्णयले राष्ट्रपति बनाइएपछि कुशलतापूर्वक जिम्मेवारी पूरा गरेको र अब पार्टीमा सक्रिय हुन खोज्दा सदस्यताबाट रोक्ने प्रयास भएकोमा आपत्ति जनाएकी छन्। ‘यो प्रश्न मेरा लागि मात्र होइन, कुनै पनि पार्टी सदस्यले भोग्नु हुँदैन,’ उनको अडान छ।

उनले २०८२ असार १४ गते मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा आफ्नो सदस्यता नवीकरण भएको घोषणा गरेको स्मरण गरेकी छन्। सो कार्यक्रममा उनले जनताको बहुदलीय जनवाद (जबज) को अजेयता, सामाजिक-आर्थिक रूपान्तरण र पार्टीको सुदृढीकरणबारे सम्बोधन गरेको उल्लेख गरिन्।

राष्ट्रपति निर्वाचित भएपछि २०७२ कात्तिक १२ मा प्रेस नोट जारी गरी पार्टीको जिम्मेवारीबाट अलग भएको र सामान्य नागरिक बनेपछि नेतृत्वको सल्लाहमा सदस्यता नवीकरण गरेको उनले स्पष्ट पारेकी छन्। तर, केही जिम्मेवार नेताहरूले सदस्यता नवीकरण नभएको भन्दै सञ्चारमाध्यममा भ्रम सिर्जना गरेकोमा उनले दुख व्यक्त गरेकी छन्। ‘जबजले सिकाएको लोकतान्त्रिक संस्कारसँग यो मेल खाँदैन,’ उनले लेखेकी छन्।

भण्डारीले आफ्नो सदस्यता कायम राख्न र पार्टीमा एकताबद्ध वातावरण बनाउन नेतृत्वसँग आग्रह गरेकी छन्। उनले यो विषय सम्पूर्ण सदस्यहरूको आस्था र अधिकारसँग जोडिएको बताउँदै पार्टीको विधि, मूल्य र लोकतान्त्रिक अभ्यासको रक्षाका लागि यो पत्र लेखेको उल्लेख गरेकी छन्।

‘मेरो राजनीतिक जीवन नेकपा (एमाले) सँग जोडिएको छ। कलिलै उमेरदेखि लोकतन्त्र, न्याय र समानताका लागि भएका आन्दोलनमा पार्टीसँगै थिएँ,’ उनले लेखेकी छन्। ‘राष्ट्रपतिको जिम्मेवारीमा रहँदा संविधानको मर्म र राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर काम गरेँ। तर आज मेरो सदस्यता र भूमिकालाई अस्वीकार गर्ने प्रवृत्ति देखिएको छ।’

उनले पार्टी विधान र संविधानले आफूलाई सदस्य हुनबाट रोक्ने कुनै आधार नभएको जिकिर गरेकी छन्। ‘नेपालको संविधानले प्रत्येक नागरिकलाई सहभागिता र समानताको अधिकार दिएको छ। मेरो सदस्यतामाथिको प्रश्नले पार्टी र लोकतान्त्रिक संस्कृतिलाई कमजोर बनाउँछ,’ उनको भनाइ छ।

भण्डारीले पार्टीमा विधि, पद्धति र लोकतान्त्रिक अभ्यास कमजोर भए सम्पूर्ण पार्टीलाई असर पर्ने चेतावनी दिँदै समयमै सच्याउन आग्रह गरेकी छन्। ‘मेरो प्रयास पार्टीलाई एकताबद्ध र सुदृढ बनाउन हो। यस्तो प्रयासलाई गलत भाष्य बनाएर कमजोर पार्ने काम नहोस्,’ उनले भनेकी छन्।

अन्तमा, उनले विधान महाधिवेशनका प्रतिनिधिलाई यो विषयमा गम्भीर बन्न र पार्टीको वैचारिक र सांगठनिक सुदृढीकरणका लागि सकारात्मक निर्णय लिन आग्रह गरेकी छन्। ‘पार्टी बलियो भए मात्र देश बलियो हुन्छ। समाजवादको आधार निर्माण र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न एकताबद्ध भएर अगाडि बढ्नुपर्छ,’ उनले जोड दिएकी छन्। (नागरिक)

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...