Admission Open

ad place

मौलिक कला संस्कृति जगेर्ना गर्न पहल

घोडाघोडी, १९ भदौ  : आधुनिकताको नाममा मौलिकता हराउँदै गएपछि सुदूरपश्चिमको मुख्य मौलिक चाडपर्वसँग जोडिएका मौलिक कला संस्कृति जोगाउन स्थानीय तहले रकम छुट्याउन थालेको छ । यसले लोप हुँदै गएको कला संस्कृति पुनः ब्युँताउन सहयोग भएको छ ।

कैलालीको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी नगरपालिकाले स्थानीय संरक्षण समूहलाई गौरा पर्वका अवसरमा समाजमा लोप हुँदै गएको पन्चैबाजा संरक्षणका लागि पन्चैबाजा तथा पोसाक हस्तान्तरण गरेको छ । नगरप्रमुख खडकबहादुर रावतले घोडाघोडी नगरपालिका–८ मा रहेको पन्चैबाजा संरक्षण समितिलाई दमाह, झ्याली, ट्याम्को, हुड्का, नरसिंहा, सनईलगायत बाजा बजाउनेले लगाउने १६ थान पोसाक हस्तान्तरण गर्नुभयो ।

नगरप्रमुख रावतले भन्नुभयो, “आधुनिकताले मौलिक पन्चैबाजा हराउन थालेपछि समुदायको माग अनुसार पालिकाले सहयोग गरेको हो । उहाँहरूसँग पहिला पन्चैबाजा थियो रे, प्रयोगमा नआएपछि धेरै बाजा हराएछन्, त्यसको महत्व महसुस गरेपछि अहिले माग भयो ।”

पन्चैबाजा संरक्षण समितिका प्रकाश नेपालीले बाउबाजेका पालादेखि बजाउँदै आएको पन्चैबाजालाई अब निरन्तरता दिने बताउनुभयो । उहाँले भन्नुभयो, “बिचमा हामीले बजाउन छाडेपछि बाजा पनि हराए, अब नगरपालिकाले सहयोग गरेको छ । यसलाई हामी सुरक्षितसाथ राख्छौँ र विवाह, धार्मिक कार्यमा बजाउँछौँ ।”

घोडाघोडी नगरपालिकाले सुदूरपश्चिमको गौरा, लवाङ्गी, गुरही, भुवा, तिजलगायत मौलिक चाडपर्व, तथा धार्मिक मेला महोत्सव जस्ता सांस्कृतिक कार्यक्रमका लागि वार्षिक १५ लाख रुपियाँ रकम खर्च गर्ने गरेको छ । नगरप्रमुख रावतले पालिकाको सहयोगपछि हराउँदै गएको मौलिकता संरक्षण हुन थालेको बताउनुभयो । घोडाघोडीले जस्तै गौरीगङ्गा नगरपालिकाले समेत मौलिक संस्कृति जगेर्नामा जोड दिएको छ । गौरीगङ्गा नगरपालिकाका नगरप्रमुख देवीदत्त कँडेलले गत आर्थिक वर्षमा समाजमा हराउँदै गएको पन्चैबाजा संरक्षणका लागि तालिम सञ्चालन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ पुस्ताले पन्चैबाजा बजाउन नजान्ने अवस्था थियो । पालिकाको सहयोगमा वडा नम्बर १, ३, ४ र ९ मा पन्चैबाजा बजाउने तालिम सञ्चालन गरिएको थियो । अहिले विभिन्न कार्यव्रmममा पन्जैबाजा बज्ने गरेका छन् ।”

बर्दगोरिया गाउँपालिका–१ का वडाध्यक्ष एवं प्रवक्ता मिठुन गौतमले तिज तथा गौरा पर्वका साथै चार दिनसम्म गणेश चौथी धार्मिक कार्यक्रम पालिकाको सहयोगमा सम्पन्न भएको जानकारी दिनुभयो । उहाँले गाउँपालिकाको समग्र विकाससँग मौलिक कला संस्कृतिसमेत जोडिएको उल्लेख गर्दै विभिन्न चाडपर्व, मेला महोत्सवमा पालिकाले सहयोग गर्ने गरेको बताउनुभयो । उहाँले विभिन्न पालिकामा सुदूरपश्चिमको कला संस्कृति जगेर्नाका लागि कार्यक्रमको आयोजना हुँदै आएको बताउनुभयो ।

लम्कीचुहाले समेत थारू मौलिक संस्कृतिसँग जोडिएको मुङ्ग्रहवा नाच, छलिया नाच, भुवा नाचका लागि आवश्यक सामग्री सहयोग गरेको छ । स्थानीय सरकारले सहयोग गर्न थालेपछि लोप हुने अवस्थामा रहेका कला संस्कृतिको प्रस्तुति बढ्दै गएको जानकारहरू बताउँछन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...