राँझा (बाँके), १९ भदौः नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा तलाउबीच भागमा रहेको जुङ्गे महादेवको मन्दिर पनुःनिर्माण गरिएको छ । मन्दिर पनुःनिर्माण भएपछि यहाँ भक्तजनको चहलपहल बढेको छ ।
साँघुरो र जीर्ण अवस्थामा रहेको जुङ्गे महादेवको मन्दिर र पुललाई नेपालगञ्ज उपमहानगरपालिकाले पुनःनिमाण गरेको हो । अहिले मन्दिरमा पूजा आजा गर्न आउने भक्तजनको सङ्ख्या बढ्दै गएको छ । यहाँ साँघुरो पुललाई फराकिलो समेत बनाइएको छ । अब फराकिलो पुल बनेका कारण समेत दर्शन गर्न सजिलो भएको नेपालगञ्ज–२१ फुल्टेक्राकी सिर्जना थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पहिला पूजा गर्न लामो समय लाइन लाग्नु पथ्र्यो अब त्यो समस्या हटेको छ ।” पहिला साँघुरो र कमजोर भइसकेको पुल हुँदै मन्दिर पुग्नुपर्ने अवस्था थियो । अहिले धेरै भक्तजनले एकैपटक दर्शन गर्न पाएका छन् ।
अहिले बागेश्वरी मन्दिर आउने झक्तजनले जुङ्गे महादेवको समेत दर्शन गर्न थालेका बागेश्वरी मन्दिरका मूल महन्त चन्दननाथ योगीले बताउनुभयो । आकर्षक शैलीको जुङ्गे महादेवको मन्दिरमा अहिले भक्तजनको चहलपहल बढेको उहाँको भनाइ छ ।
दर्शनार्थीलाई आउने र जाने गरी डोरी बाँधेर अलग–अलग बाटो बनाइएको छ । बागेश्वरी मन्दिरमा दैनिक भक्तजनको घुइँचो लाग्छ । पहिला सीमित व्यक्तिलाई मात्रै जान दिएर जुङ्गे महादेवको पूर्जा गर्न दिने गरिएको थियो ।
विसं २०७८ साउनमा पुल जोखिमपूर्ण बनेको भन्दै मन्दिरको प्रवेशद्वारमा पूजाआजाको व्यवस्था मिलाइ महादेवको मूर्तिसम्म पुग्न रोक लगाइएको थियो । भक्तजनको पुल पनुःनिर्माण हुनुपर्ने मागलाई ध्यानमा राखेर २०७९ सालदेखि निर्माणको काम सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बताउनुभयो । उहाँका अनुसार, करिव रु एक करोड नौ लाखको ालगतमा मन्दिर पनुःनिर्माण गरिएको हो ।