काठमाडौँ, १९ भदौः बुढानिलकण्ठ नगरपालिकाको सिर्जनशीलटोलस्थित अमर अधिकारीको निबासमा पुग्ने जो कोहीले पनि सोध्नेगर्छन्- “यो केको लहरा हो?” भनेर। पूर्वतर्फको जमिनबाट भ्याकुरको लहरा र पश्चिमतर्फको जमिनबाट गीठाको लहरा उनको घरको माथि छततिर लम्किएको देख्न सकिन्छ। गीठा र भ्याकुरको फल उस्तै देखिए पनि गीठा हल्का तीतो हुने र भ्याकुरको भित्र रेसादार गुदी हुन्छ। दुबै वनस्पति कन्दमुल वर्गमा पर्ने र गुणकारी खाद्यवस्तु मानिन्छ। उनको सानो बारीमा चैतदेखि साउनसम्म खानका लागि जरिङ्गेको साग पनि तयार हुन्छ। जरिङ्गेको बीऊ एकपटक रोपेपछि हरेक वर्ष रोप्नुपर्दैन। जमिनमुनी गानो बनेपछि हरेक वर्ष त्यसैबाट टुँसा पलाएर जमिनमाथि निस्कन्छ। २०६२ सालमा छ आना जग्गा जम्मा चार लाखमा किनेको जमिनमध्ये आधा आना बाटो बिस्तारमा परेको थियो। छ आनाको चार लाख बताउँदा अहिले कसैले पनि पत्याउदैनन्, किन कि त्यहाँ पछिल्लो समय आनाको पचास लाखसम्म चलेको थियो।
कुनै बखतसम्म चेपाङ जातीको मुख्य खाद्यवस्तुको रुपमा रहेको भ्याकुर उनले गोरखाबाट कोसेलीको रुपमा प्राप्त गरेको र खाएर बाँकी रहेको एउटा बीऊ रोपेपछि अहिले उनी भ्याकुरमा आत्मनिर्भर बनेका छन्। त्यस्तै गीठा भने उनले आफ्नै मावली घर रोल्पाको सिर्पबाट ल्याएका रहेछन्। उनी ‘प्रकृतिप्रेमी’ को उपनामले पनि चिनिन्छन्। आफ्नो निबास वरपर खेतहरुमा धान झुलेको र पर्याप्त मात्रामा रुखहरु देख्दा उनी आफ्नो आयु केही बढ्ने आशामा छन्। उनी घुमफिरका क्रममा सुदूरपश्चिम प्रदेश बाहेक सबै प्रदेश पुगेका छन्। ६२ वर्षको उमेरमा पनि युवा झैँ देखिने उनलाई एकछिन पनि फुर्सद हुँदैन, उनी सृजनाका काम र घरायसी कामहरुमा दत्तचित्त देखिन्छन्।
२०७९ असारमा सरकारी सेवाबाट अवकाश लिएपछि साहित्य-लेखनमा ज्यादा सक्रियता अपनाएका उनका तीन कृति प्रकाशित भएका छन् भने दिनहूँजसो उनका केही न केही लेख-रचना प्रकाशन भएको देखिन्छ। पछिल्लो समय उनी साहित्यिक संस्थाहरु र मिडियाहरुमाझ लोकप्रिय बनिसकेका छन्। उनका लेख-रचनाहरुमा स्वस्थ रहने उपायहरु, ज्ञान-चेतनाका कुराहरु पनि समेटिन्छन्। उनले फेसबुकमा पस्कने गरेका सामग्रीहरु पनि रोचक, जानकारी मूलक, ज्ञानवर्द्धक र रमाइला खालका हुनेगर्छन्।
उनको जीवनीमा आधारित पुस्तक ‘अमर अधिकारीः व्यक्तित्व र कृतित्व’ पूर्वक्याम्पस प्रमुख डा. घनश्याम पुडासैनीले लेखिसक्नुभएको छ। प्रभावकारी लेखहरुका लेखकको रुपमा पनि चिनिन्छन् अधिकारी। उनका लेखहरुबाट सुधारका कामहरु पनि भैसकेका छन्। साहित्य-लेखनतर्फ आधा दर्जनभन्दा बढी कीर्तिमान रचेका कारण उनी अमर कीर्तिमानीका नामले पनि चिनिन्छन्। उनले हरेक महिनाजसो सम्मानपत्र, पुरस्कार पनि पाउदै आएका छन्। उनी भन्छन्- “सम्मानभन्दा पनि ठूलो कुरा कलमको शक्ति र प्रभाव नै हो।” उनले आफूलाई नेपाल सरकारको वरिष्ठ पूर्व अधिकृत भन्न रुचाउँदैनन्, किन कि नेपालको कर्मचारीतन्त्र पहिल्यैदेखि नै बदनाम छ। सरकारी सेवाको सिलसिलामा उनले निकै नै हण्डरहरु खाएको कुरा उनकै पुस्तक ‘ओगिल्जा’ मा उल्लेख छन्।