काठमाडौँ, ११ भदौ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा क्षेत्रलाई रोजगारी सिर्जना र लगानीको मुख्य आधारका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।
आज ‘पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान’को आयोजनामा भएको पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय ऊर्जा संवाद कार्यक्रममा दाहालले ऊर्जा क्षेत्रमा रहेको दीर्घकालीन सम्भावनाको पूर्ण उपयोग नगर्दा राष्ट्रले अपेक्षित लाभ लिन नसकेको बताउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहालले अब यस क्षेत्रलाई समृद्धिको मुख्य आधार बनाउन आवश्यक रहेकामा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हामीले सुरु गरेको नीतिगत निरन्तरताले आज नेपाल विद्युत् निर्यात गर्न सक्षम भएको छ ।”
नेपाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले ऊर्जा क्षेत्रमा नियामक, सञ्चालक र विकासकर्ता एउटै संस्थामा सीमित रहनु समस्या भएको बताउनुभयो । यसैगरी, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रलाई राष्ट्र विकासको प्रमुख आधार मान्दै सरकारले यसलाई गम्भीरतापूर्वक लिएर नीतिगत रूपमा अघि बढाउनुपर्ने बताउनुभयो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले अन्तर मन्त्रालय समन्वयको अभाव औँल्याउनुभयो । नेपाल उद्योग व्यापार महासङ्घका अध्यक्ष खिमलाल भण्डारीले ऊर्जा क्षेत्रमा जनसहभागिता अपरिहार्य रहेको धारणा राख्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष वर्षमान पुनले नदी प्रवाहमा आधारित आयोजनाले मात्र भविष्यमा माग धान्न नसक्ने भएकाले जलाशययुक्त आयोजनामा जोड दिन आवश्यक रहेको बताउनुभयो ।