काठमाडौँ, १५ साउनः नेपाली बजारमा सामसङले आफ्नो ग्यालेक्सी वाच ८ सिरिज अन्तर्गत ग्यालेक्सी वाच ८ (Galaxy Watch 8) र ग्यालेक्सी वाच ८ क्लासिक (Galaxy Watch 8 Classic) भित्र्याएको छ ।
अहिलेसम्मकै शक्तिशाली ३ नानोमिटर प्रोसेसर र सुधारिएको सफ्टवेयर अनुभवसहित आएको यो सिरिजले नेपाली बजारमा नयाँ तरंग ल्याउने कम्पनीले अपेक्षा राखेको छ ।विशेषगरी निद्रा, रक्तचाप, मुटुको चाल (ईसीजी), एन्टिअक्सिडेन्ट मापन जस्ता सुविधा यसका मुख्य आकर्षण हुन् ।
वाचमा रहेको ग्यालेक्सी एआईको सहायताले निद्रासम्बन्धी जानकारीलाई अझ स्पष्ट र बुझ्न योग्य बनाइएको कम्पनीले जनाएको छ । निद्राको गुणस्तर, सुत्ने समयको तालिका, सुत्दाका हाउभाउजस्ता पक्षहरूमाथि गहिरो विश्लेषण गरेर प्रयोगकर्तालाई सल्लाहसमेत दिने बताइएको छ ।
नयाँ ३ नानोमिटरसँगै यसमा ५-कोर प्रोसेसर प्रयोग गरिएको छ । जसलाई सामसङले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली चिपसेट भनेको छ । कम्पनीका अनुसार, ग्यालेक्सी वाच ६ मा प्रयोग भएको ५ नानोमिटर डुअल-कोर प्रोसेसरको तुलनामा यसको सीपीयू पर्फर्मेन्स तीन गुणाले सुधार भएको छ भने यो ३० प्रतिशत बढी शक्तिशाली छ । यसले गर्दा ब्याट्री लामो समयसम्म टिक्ने कम्पनीको भनाइ छ ।
वाचमा भास्कुलर लोड (Vascular Load) प्रयोग गरिएको छ । पहिलो पटक प्रस्तुत गरिएको यो सुविधाले निद्राको समयमा रक्तनलीमा पर्ने तनाव वा भारको निगरानी गर्छ । उच्च भास्कुलर लोडलाई मुटु रोगको जोखिमसँग जोडेर हेरिने भएकाले यसले प्रयोगकर्तालाई आफ्नो समग्र स्वास्थ्यबारे सचेत रहन मद्दत गर्ने कम्पनीले जनाएको छ ।
त्यस्तै यो स्मार्टवाचले प्रयोगकर्ताको छालामा रहेको क्यारोटिनोइड्स (Carotenoids Measurement- एक प्रकारको एन्टिअक्सिडेन्ट) को स्तर मापन गर्न सक्छ । जसले केही सेकेन्डमै प्रयोगकर्ताको खानपान र जीवनशैली स्वस्थकर छ कि छैन भन्ने जानकारी दिन्छ ।
प्रयोगकर्ताको तीन दिनको निद्राको रेकर्डको आधारमा सुत्ने समयको सुझाव दिन ‘बेडटाइम गाइडेन्स’ नामक नयाँ सुविधा थपिएको छ । यसले प्रयोगकर्तालाई निद्राको गुणस्तर सुधार्न मद्दत गर्नेछ ।
वन यूआई ८ मा चल्ने भएकाले प्रयोगकर्ताले ‘डेप्थलेस नोटिफिकेसन’ मार्फत सजिलै नोटिफिकेसन हेर्न सक्नेछन् भने मल्टी-इन्फो टाइल्स मार्फत एउटै स्क्रिनमा धेरै एपहरूको जानकारी हेर्न सक्नेछन् ।
दौडिने, पौडी खेल्ने, साइक्लिङ जस्ता दैनिक गतिविधिहरूका लागि यसको स्ट्र्यापलाई थप आरामदायी र हावा छिर्ने (Breathable) बनाइएको छ । धावकहरूका लागि यसमा ‘Vo2Max’ र रनिङ म्याट्रिक्समार्फत पर्फर्मेन्स विश्लेषण गर्ने, व्यक्तिगत ‘HR Zone’ को आधारमा तालिम दिने र दौडने तरिकामा सुधार ल्याउन मद्दत गर्ने जस्ता सुविधा छन् ।
मूल्य: #ग्यालेक्सी वाच ८ (४० एमएम): रु. ५४,९९९, #ग्यालेक्सी वाच ८ (४४ एमएम): रु. ५९,९९९, #ग्यालेक्सी वाच ८ क्लासिक: रु. ७४,९९९