पाटन (ललितपुर), २२ जेठः वातावरण संरक्षणमा बालबालिकाको चेनता अभिवृद्धि र संरक्षण शिक्षामा जोड दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
विश्व वातावरण दिवस २०२५ का अवसरमा राष्ट्रिय प्रकृति संरक्षण कोष – सदर चिडियाखानाद्वारा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ‘वातावरण संरक्षण गर्नुपर्छ’ भनेर बोल्न जति सजिलो भएपनि काम काम गर्न असहज हुने बताउनुभयो । “हामीले महानगरमा हरियाली प्रवद्र्धनलाई जोड दिएका छौँ, सोही अनुसार हरियाली बढेको पनि छ, ४०/४२ उद्यान बनिसकेका छन्, लगनखेलका तीनवटा पोखरीमा पानी भर्ने र कमलको फूल फूलाउने काम गर्छौं, वातावरण संरक्षणमा ध्यान दिएरै काम गरेका छौँ ।” उहाँले भन्नुभयो ।
प्राडा विजया पन्तद्वारा लिखित ‘म अर्किड’ नामक पुस्तकको विमोचन गरिएको थियो । कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा राजेन्द्र मिश्रले प्लास्टिक उत्पादन भएको एक सय १० देखि १५ वर्षको अवधिमा मानिसको अभिन्न अङ्ग बनेर मानिस र प्रकृतिलाई प्रदूषणको सिकार बनाइरहेको बताउनुभयो । वनस्पति तथा वातावरण डा तीर्थबहादुर श्रेष्ठले प्लास्टिकको समस्या समाधानका लागि व्यवस्थापन गर्न ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भविष्यको वातावरण संरक्षणका लागि प्रकृतिको विविधतालाई जोगाएर राख्नुपर्ने बताउनुभयो ।
वरिष्ठ न्यूरो सर्जन प्राध्यापक डा वसन्त पन्तले वातावरण राम्रो भयो भने मानिसको दिमाग र सोेच पनि राम्रो हुने जनाउँदै यसका लागि हामीले वातावरणमैत्री कार्यका लागि सोचाइ र धारणा बनाउनुपर्ने बताउनुभयो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले जलवायु परिवर्तनको दुस्चक्रबाट बच्न सबैले आ–आफ्नो स्थानमा पानीको स्रोतको संरक्षणमा ध्यान दिन सके दीर्घकालीन रुपमा सकरात्मक प्रभाव पार्दछ भन्नुभयो ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डा नरेश सुवेदीले देशभरका चार सय पचासभन्दा बढी विद्यालयमा संरक्षण शिक्षाका लागि ’फ्रेन्डस् अफ जु’ कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।