ढाका, २१ जेठ (रासस/एएफपी) : विश्वव्यापी सहायता कटौतीले संयुक्त राष्ट्रसङ्घको बाल एजेन्सी (युनिसेफ) लाई बङ्गलादेशका रोहिङ्ग्या शरणार्थी शिविरहरूमा एक हजारभन्दा बढी शिक्षकलाई बर्खास्त गर्न बाध्य पारेको बताएको छ । एजेन्सीले कोष नआएमा थप रोजगारी जोखिममा रहेको बताएको छ ।
उत्पीडित र प्रायः मुस्लिम रोहिङ्ग्याहरूका करिब १० लाख सदस्य बङ्गलादेशको अस्वच्छ राहत शिविरहरूमा बस्छन् । तीमध्ये अधिकांश छिमेकी म्यान्मामा सन् २०१७ को सैन्य दमनबाट भागेर आएका हुन् ।
अमेरिकामा नाटकीय रूपमा कोष कटौती भएपछि शिक्षकहरूलाई बर्खास्त गरिएको हो ।
“विश्वव्यापी सहायता कोष सङ्कटका कारण युनिसेफले रोहिङ्ग्या शरणार्थी बालबालिकाका लागि प्रारम्भिक शिक्षा सेवाहरूलाई प्रभाव पार्ने कठिन निर्णयहरू लिनुपरेको छ”, एजेन्सीले मङ्गलबार राति एक वक्तव्यमा भन्यो ।
युनिसेफले बालबाटिका र प्राथमिक विद्यालयमा काम गर्ने एक हजार एक सय ७९ जनाको सम्झौता समाप्त भएको बताएको छ ।
बङ्गलादेशी वरिष्ठ सरकारी सहायता अधिकारी मोहम्मद शम्सुद दौजाका अनुसार कटौती हुनुअघि शिविरहरूमा अनुमानित चार हजार शिक्षक थिए ।
मुस्लिम पर्व इदका लागि विद्यालयहरू बन्द छन् तर जुनको अन्त्यमा सत्र सुरु हुने बेलासम्म नयाँ कोष प्राप्त भएन भने थप शिक्षकहरूले आफ्नो जागिर गुमाउन सक्छन् ।
“बाँकी कामदारहरूको फिर्ती… नयाँ कोष सुरक्षित हुनुमा निर्भर गर्दछ”, युनिसेफले भनेको छ, “भविष्यमा बढेको सहयोगले हरेक बच्चाले पाउनुपर्ने कुरा पुनःस्थापना गर्नेछ भन्नेमा हामी प्रतिबद्ध र आशावादी छौँ ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जनवरीमा पदमा फर्किंदै अधिकांश विदेशी सहायता कोष स्थगित गर्नुभएपछि विश्वभरका मानवीय संस्थाहरू हलचलमा परेका छन् ।
संयुक्त राज्य अमेरिका परम्परागत रूपमा धेरै एजेन्सीहरूका लागि सबैभन्दा ठूलो दाता भएको छ, जसले अचानक बजेट अन्तरहरू भर्न हतारमा काम गरिरहेका छन् ।
“हामी रोहिङ्ग्या शरणार्थी बालबालिकाहरूले सामना गर्ने तत्काल आवश्यकताहरूबारे गहिरो रूपमा सचेत छौँ, जसमध्ये धेरैले उनीहरूको शिक्षा, स्वास्थ्य, पोषण र सुरक्षामा महत्त्वपूर्ण आघात र अवरोधहरू झेलिसकेका छन्”, युनिसेफले भनेको छ, “हाम्रो लक्ष्य भनेको उनीहरूसँग आवश्यक सीपहरू छन् भनेर सुनिश्चित गर्नु हो, उनीहरूसँग आधारभूत योग्यता छ जसले उनीहरूलाई फर्कने समय सुरक्षित हुँदा उनीहरूको समुदायमा योगदान गर्ने विश्वास दिन्छ ।”