नेपालमा अहिलेसम्मको हाम्रो अनुभव सकारात्मक रहँदै आएको छ। प्रारम्भमा केही शिक्षकहरूले सन्देह व्यक्त गरे तापनि, जब विद्यार्थीहरू हाम्रा विधिसँग संलग्न भए, उनीहरूले त्यसको प्रभाव देख्न थाले । अभिभावकहरू पनि आफ्ना बालबालिकामा गणितप्रति साँचो रुचि विकास भएको देखेपछि सकारात्मक र ग्रहणशील बनेका छन् ।
अन्ततः, शिक्षा केवल परीक्षाको तयारीका लागि मात्र होइन, जीवनको तयारीका लागि हुनुपर्छ-दिवेश बठिजा
।
कलादेखि अर्थशास्त्रसम्म, गणित जताततै प्रयोग हुन्छ, तर विद्यार्थीहरूले यसको वास्तविक संसारसँगको सान्दर्भिकता विरलै देख्छन् । कक्षाकोठाको अवधारणा र दैनिक जीवनबीचको यो खाडललाई पुर्न अनम्याथले कसरी मद्दत गर्छ ?
- गणित र दैनिक जीवनबीचको यो विच्छेद शिक्षाको सबैभन्दा ठूलो चुनौती हो । धेरैजसो अवस्थामा, गणितलाई अमूर्त नियम र सूत्रहरूको एक सेटको रूपमा प्रस्तुत गरिन्छ, जुन वास्तवमा गणित विश्वमा कसरी प्रयोग गरिन्छ भन्ने कुराबाट अलग्गै रहन्छ ।
एम्बार्क अनम्याथमा, हामी यो विश्वास गर्छौं कि गणित सिकाउने सबैभन्दा राम्रो तरिका भनेको विद्यार्थीहरूलाई प्रत्यक्ष अनुभव गराउने हो। सङ्ख्या र चिन्हहरूबाट सुरु गर्नुको सट्टा, हामी ती परिस्थितिहरूबाट सुरु गर्छौं जहाँ विद्यार्थीहरू पहिले नै दैनिक जीवनमा देख्ने, गर्ने वा आनन्द लिने कुराहरूसँग परिचित हुन्छन् ।
जस्तै, सम्भाव्यता प्रयोग गरेर फुटबल रणनीति डिजाइन गर्ने, अंशहरूको माध्यमबाट सङ्गीतका ढाँचाहरू विश्लेषण गर्ने, वा मोडेल सहर निर्माण गरेर ज्यामिति बुझ्ने कार्यहरू समावेश गरिन्छ । यसरी हामी विद्यार्थीहरूलाई गणित केवल सम्झनु पर्ने विषय होइन, तर उनीहरूको वरिपरि रहेको संसार बुझ्ने माध्यम हो भन्ने महसुस गराउँछौं ।
जब विद्यार्थीहरूले यी सम्बन्धहरू पत्ता लगाउँछन्, उनीहरूको दृष्टिकोण परिवर्तन हुन्छ । उनीहरूले गणितलाई केवल गणनाको उपकरणको रूपमा होइन, एक भाषाको रूपमा बुझ्न थाल्छन् । यही हो एम्बार्क अनम्याथले गर्ने महत्वपूर्ण कार्य ।
नेपालको शिक्षा प्रणालीले परम्परागत विधिहरूमा गहिरो जरा गाडेको छ । अनम्याथले यो परिदृश्यलाई कसरी अगाडि बढाएको छ, अनि तपाईंले यहाँ कस्तो प्रकारको स्वागत पाउनुभएको छ ?
- नेपालमा पनि धेरै अन्य देशहरूजस्तै परम्परागत शिक्षण पद्धतिमा जोड दिइन्छ, जहाँ परीक्षामा विद्यार्थीले देखाएको प्रदर्शनलाई नै प्राथमिकता दिइन्छ । हामी सबैले बुझ्ने कुरा हो कि यी प्रणालीहरू लामो समयदेखि गहिरो रूपमा संस्थागत छन्, र रातारात परिवर्तन सम्भव छैन। त्यसैले, विद्यमान संरचना भत्काउने प्रयास गर्नुको सट्टा, हामी प्रयोगात्मक शिक्षालाई त्यसैमा समावेश गराउने दिशामा केन्द्रित भएका छौं। हाम्रो लक्ष्य भनेको अन्तरक्रियात्मक र अनुप्रयोगमा आधारित गणित शिक्षालाई केवल एक विकल्प होइन, तर परम्परागत सिकाइलाई थप प्रभावकारी बनाउने माध्यमको रूपमा स्थापित गर्नु हो ।
नेपालमा अहिलेसम्मको हाम्रो अनुभव सकारात्मक रहँदै आएको छ। प्रारम्भमा केही शिक्षकहरूले सन्देह व्यक्त गरे तापनि, जब विद्यार्थीहरू हाम्रा विधिसँग संलग्न भए, उनीहरूले त्यसको प्रभाव देख्न थाले । अभिभावकहरू पनि आफ्ना बालबालिकामा गणितप्रति साँचो रुचि विकास भएको देखेपछि सकारात्मक र ग्रहणशील बनेका छन् ।
अन्ततः, शिक्षा केवल परीक्षाको तयारीका लागि मात्र होइन, जीवनको तयारीका लागि हुनुपर्छ। जब शिक्षक, अभिभावक र विद्यार्थीहरूले हाम्रो दृष्टिकोणले सोचको स्पष्टता र संलग्नता दुवैमा सुधार ल्याउँछ भन्ने देख्छन्, तब उनीहरूले अनुभवात्मक शिक्षालाई अवरोध होइन, शिक्षाको विकासको रूपमा स्वीकार गर्छन् ।
हामी विद्यार्थीहरूलाई विभिन्न दृष्टिकोण अन्वेषण गर्न, विचारहरू प्रयास गर्न र केवल व्याख्यान सुन्न नभई प्रयोगात्मक सिकाइमा संलग्न हुन प्रोत्साहित गर्छौं । सबैभन्दा महत्त्वपूर्ण कुरा, हामी गणितलाई विद्यार्थीहरूको व्यक्तिगत रुचिसँग जोड्ने प्रयास गर्छौं। जब उनीहरूले कला, संगीत, गेमिङ वा खाना पकाउनेजस्ता आफ्ना रुचिका क्षेत्रहरूमा गणित देख्न थाल्छन्, तब उनीहरूको गणितप्रतिको दृष्टिकोण बदलिन्छ।-दिवेश बठिजा
गणित कसरी पढाउने भन्ने बारेमा पुनर्विचार गर्न तपाईंलाई प्रेरित गर्ने मोड के थियो ? अनम्याथले गणित पढाउने परम्परागत तरिकालाई कसरी चुनौती दिन्छ ?
- गणित कसरी पढाउने भन्ने विचारधारामा पुनर्विचार गर्न प्रेरित गराउने कुनै एक मात्र क्षण थिएन; यो अनुभव समयसँगै विकसित हुँदै गयो । धेरै पटक, हामीले अत्यन्त प्रतिभाशाली विद्यार्थीहरूलाई पनि गणितसँग संघर्ष गरिरहेको देख्यौं । त्यो उनीहरूमा क्षमताको अभावका कारण होइन, तर किन गणित सिक्नु आवश्यक छ भन्ने कुरा नबुझाई, केवल रट्न लगाइएको कारणले थियो ।
मलाई एक जना विद्यार्थीसँगको संवाद स्मरण छ, जसले भनेकी थिइन्, “मलाई संगीत मन पर्छ, तर गणितसँग घृणा लाग्छ ।“ जब हामीले उनलाई ताल, बीट, र हार्मोनिक्स जस्ता संगीतका तत्त्वहरू गणितीय संरचनामा गहिरोसँग जरा गाडिएको देखायौं, उनको सम्पूर्ण दृष्टिकोण परिवर्तन भयो । उनी गणितमा कमजोर थिइनन् – उनले केवल आफूले रुचाउने कुरासँग गणित कसरी सम्बन्धित छ भन्ने कुरा कहिल्यै थाहा पाइनन् ।
त्यस क्षणमा मैले महसुस गरेँ कि गणित सिकाउने तरिकामा केही ठूला परिवर्तन आवश्यक छन् । परम्परागत शिक्षण विधिले प्रायः गणितको रचनात्मकता हराउँछ र वास्तविक जीवनमा यसको महत्व ओझेलमा पारिन्छ । एम्बार्क अनम्याथले यिनै विधिहरूलाई चुनौती दिन्छ – गणितलाई केवल एक सैद्धान्तिक विषयको रूपमा होइन, अनुभव गर्न सकिने विषयको रूपमा प्रस्तुत गर्छ ।
सूत्रहरू केवल प्रस्तुत गरेर तिनलाई याद गर्न लगाउनुको सट्टा, हामी विद्यार्थीहरूलाई व्यावहारिक अन्वेषणको माध्यमबाट ती सूत्रहरू आफैं खोज्न र बुझ्न प्रेरित गर्छौं ।
तपाईंले नेपाल लगायत धेरै देशका विद्यालयहरूसँग काम गर्नुभएको छ । विद्यार्थीहरूले गणितलाई कसरी बुझ्छन् भन्ने कुरामा तपाईंले कस्ता विश्वव्यापी ढाँचाहरू देख्नुभएको छ र अनम्याथले तिनीहरूलाई कसरी सम्बोधन गर्छ ?
- विश्वभर गणित शिक्षाका मुख्य समस्याहरू उस्तै छन् । प्रायः विद्यार्थीहरु गणितलाई बुझ्नुको साटो कन्ठ गर्न खोज्छन् त्यसले गर्दा उनीहरुले गणितमा धेरै संघर्ष गर्नु पर्ने हुन्छ, अनि वास्तविक विषयसँग सम्बन्धको कमी हुन्छ । यी ढाँचाहरू कुनै एक देशको लागि केन्द्रित छैनन् – तिनीहरू एक शिक्षा प्रणालीको परिणाम हुन् जसले रचनात्मक सोच भन्दा मानकीकृत परीक्षणलाई प्राथमिकता दिन्छ ।
मेरो एक सामान्य अवलोकन, हामी अपेक्षा गर्छौं, विद्यार्थीहरूले परम्परागत सोच भन्दा बाहिर वा नयाँ र सिर्जनात्मक तरिकाले सोचुन तर फेरि गणित पढाउन हामी सबैले एउटै पाठ्यपुस्तक पालना गरौं पनि भन्र्छौँंैं, जुन वास्तवमै परिवर्तन गर्न आवश्यक छ । यदि विद्यार्थीहरू सिर्जनशील बनून् भन्ने हामीलाई लाग्छ भने, उनीहरूलाई पनि त्यस्तै प्रकारका चुनौतीपूर्ण कार्यहरू गर्न दिनुपर्छ जसले उनीहरूको सिर्जनात्मक सोचलाई विकास गर्न सकोस् ।
यदि विद्यार्थीहरूले घोकाइको सट्टा अनुभवबाट गणित सिके भने, यसले जीवनका अन्य क्षेत्रमा उनीहरूको समस्या समाधान क्षमतालाई कसरी रूपान्तरण गर्छ ?
- जब विद्यार्थीहरूले अनुभवबाट गणित सिक्छन्, उनीहरू केवल गणितमै प्रवीण हुँदैनन । उनीहरू आलोचनात्मक सोच र समस्या समाधान क्षमतामा पनि निपूर्ण बन्छन् । अनुभवात्मक सिकाइले विद्यार्थीहरूलाई परिस्थितिको विश्लेषण गर्न, विभिन्न समाधान अन्वेषण गर्न, र सोचलाई अनुकूल गर्न सशक्त बनाउँछ ।
उदाहरणका लागि, खेल डिजाइन गर्दै सम्भाव्यता सिक्ने विद्यार्थीले जोखिम मूल्यांकन गर्ने अवस्थामा सहज रूपमा विश्लेषणात्मक सोच प्रयोग गर्न सक्छ । वास्तुकलाबाट ज्यामिति बुझ्ने विद्यार्थीले आफ्नो वरिपरिको वातावरणलाई स्थानिक दृष्टिले बुझ्न थाल्छ। घोकाइबाट अनुप्रयोगतर्फको यो रूपान्तरणले विद्यार्थीलाई केवल गणितमा होइन, समग्र सोचमा पनि सशक्त बनाउँछ—र शिक्षा यही उद्देश्यका लागि हुनुपर्छ ।
दिवेश बठिजा गणित कथावाचक तथा अनम्याथ स्कूलका सह–संस्थापक हुन् । गणितको क्षेत्रमा उनको योगदान अत्यन्तै उल्लेखनीय र अमूल्य छ । उनले विद्यार्थीहरूलाई परम्परागत अंक–केन्द्रित दृष्टिकोणभन्दा पनि अवधारणात्मक रूपमा गणित बुझ्ने दृष्टिकोण अपनाउन प्रेरित गरेका छन् ।
बठिजाले परिणाममुखी शिक्षाप्रतिको आफ्नो विश्वास व्यक्त गरे, जसले विद्यार्थीहरूलाई पाठ्यपुस्तकभन्दा बाहिरका गणितीय अवधारणाहरू बुझ्न सहयोग पु¥याउँछ ।
उनले विद्यार्थी र शिक्षकहरूलाई प्रत्यक्ष रूपमा जोड्ने एउटा विधि विकास गरेका छन्, जसमा विशेष रूपमा डिजाइन गरिएका कार्यशालाहरू समावेश छन्, र ती कार्यशालाहरूले स्कूलको विद्यमान प्रणालीमा महत्वपूर्ण मूल्य थप्छन् ।
धेरै विद्यार्थीहरू ‘गणितको त्रास’ बाट ग्रस्त छन् । अनम्याथको पद्धतिले उनीहरूलाई कसरी संख्याप्रति आकर्षण तर्फ डोर्याउँछ ?
- गणितको त्रास मुख्यतः सही हुनुपर्ने, छिटो गर्नुपर्ने, र असफलता टार्नुपर्ने दबाबबाट उत्पन्न हुन्छ । यो डरले विद्यार्थीलाई प्रयास गर्नुअघि नै निरुत्साहित गर्छ । अनम्याथमा, हामी गणितसँगको विद्यार्थीहरूको अन्तरक्रियालाई रूपान्तरण गर्छौं—जहाँ गल्तीहरूलाई असफलता होइन, सिकाइको अविभाज्य हिस्सा मानिन्छ ।
हामी विद्यार्थीहरूलाई विभिन्न दृष्टिकोण अन्वेषण गर्न, विचारहरू प्रयास गर्न र केवल व्याख्यान सुन्न नभई प्रयोगात्मक सिकाइमा संलग्न हुन प्रोत्साहित गर्छौं । सबैभन्दा महत्त्वपूर्ण कुरा, हामी गणितलाई विद्यार्थीहरूको व्यक्तिगत रुचिसँग जोड्ने प्रयास गर्छौं। जब उनीहरूले कला, संगीत, गेमिङ वा खाना पकाउनेजस्ता आफ्ना रुचिका क्षेत्रहरूमा गणित देख्न थाल्छन्, तब उनीहरूको गणितप्रतिको दृष्टिकोण बदलिन्छ। डर हराउँछ, र जिज्ञासाले त्यसको स्थान लिन्छ—यहीँबाट वास्तविक सिकाइ सुरु हुन्छ ।
के तपाईं अनम्याथको दृष्टिकोण अपनाएपछि विद्यार्थी वा विद्यालयमा देखिएको प्रभावशाली परिवर्तनको कुनै उदाहरण दिन सक्नुहुन्छ ?
- म एउटा विद्यालयको उदाहरण दिन चाहन्छु, जहाँ विद्यार्थीहरू सधैं त्रिकोणमितिसँग संघर्ष गर्थे । उनीहरूको सामान्य प्रश्न थियो—“म इन्जिनियर बन्ने होइन, त्रिकोणमिति किन सिक्नु ?”
मैले त्यस खाडल तुरुन्त बुझें र विद्यालयको सबै सीसीटीभी क्यामेराहरू अन्वेषण गर्न, तिनको उचाइ र कोण परिवर्तन गर्न विद्यार्थीहरूलाई अनुमति दिएँ। त्यसपछि मैले सोधें“कति क्यामेरा हटाउन सकिन्छ ?” केही समयको निरीक्षणपछि उनीहरूले ११ वटा क्यामेरा आवश्यक नभएको निष्कर्ष निकाले—त्रिकोणमिति प्रयोग गरेर।
यो अनुभवको सबैभन्दा महत्त्वपूर्ण पक्ष थियो—विद्यार्थीहरूले गणितीय सोचमार्फत वास्तविक जीवनको निर्णय लिन सक्ने क्षमता देख्न पाए । सबैजना त्रिकोणमितिको ‘किन’ बुझेर उत्साहित भए ।
के तपाईं अनम्याथलाई नेपालको सरकार वा शिक्षा बोर्डसँग सहकार्य गर्दै ठूलो स्तरमा लागू गर्न सक्ने सम्भावना देख्नुहुन्छ ?
- निश्चित रूपमा, शिक्षा सुधार सबैभन्दा प्रभावकारी तब हुन्छ जब सरकार, विद्यालय र नवप्रवर्तनकारीहरूबीच सहकार्य हुन्छ । हामी नेपाल सरकार तथा शिक्षा बोर्डसँग सहकार्य गर्न इच्छुक छौं, ताकि अनुभवात्मक गणितलाई पाठ्यक्रममा समावेश गर्न, शिक्षकहरूलाई तालिम दिन, र ठूलो स्तरमा प्रभाव सिर्जना गर्न सकियोस् ।
गणित रचनात्मक विषय भएकाले, यो सबै क्षेत्रमा प्रयोग हुन्छ । यही कारणले हामीले दुर्गम क्षेत्रका विद्यालयहरूसँग पनि सफलतापूर्वक काम गरेका छौं ।
गणित शिक्षाको विश्वव्यापी भविष्यका लागि तपाईंको दृष्टिकोण के हो ?
- यदि मलाई गणित शिक्षामा विश्वव्यापी रूपमा एक परिवर्तन गर्न पाउने अवसर मिल्यो भने, म गणितलाई केवल गणनाको उपकरण नभई एक सार्वभौम भाषा—नैतिक र तार्किक निर्णय लिने आधारका रूपमा व्यवहार गर्न चाहन्छु । किनभने आजको युगमा—विशेषगरी एआईको विकाससँगै—गणनाको काम मेसिनले गर्छ । अब हामीले हाम्रो दिमागलाई गणितीय सोचमा अभ्यस्त गराउनु आवश्यक छ ।
म यस्तो भविष्यको कल्पना गर्छु, जहाँ विद्यार्थीहरूले सूत्रहरू घोक्दैनन्, बरु गणितलाई डिजाइन, सोच र निर्णय क्षमताको शक्तिशाली उपकरणका रूपमा हेर्छन् । अनम्याथ यही भविष्य निर्माणको यात्रामा समर्पित छ ।