Admission Open

ad place

१२औं म्युजिक खबर म्युजिक अवार्ड सम्मान तथा पुरस्कार घोषणा

१२ औं म्युजिक खबर म्युजिक अवार्ड सम्मान तथा पुरस्कार’ घोषणा

काठमाडौँ : म्युजिक खबर म्युजिक अवार्डको १२औं संस्करणमा दिइने सम्मान तथा पुरस्कारको घोषणा गरिएको छ । म्युजिक खबरका सल्लाहकार, आयोजक, संगीतकर्मीबीच छलफल गरी आगामी जेठ २३ गते हुने अवार्डको फाइनल कार्यक्रममा दिइने सम्मान तथा पुरस्कारको नामहरु छनौट गरिएको कार्यक्रमको संयोजक सबिता पोखरेलले जानकारी दिइन् ।

तिलगंगात बेस्ट वेस्टर्न प्लस होटलमा आयोजना हुने म्युजिक अवार्ड कार्यक्रममा विशिष्ट गीतकार यादव खरेललाई म्युजिक खबर दीर्घ साधना सम्मान–२०८१ अर्पण गरिने भएको छ । सयौं गीत लखेका गीतकार खरेलका गैरी खेतको शीरै हान्यो, चैतमास खडेरीमा डढेलोले बनै खायो, यस्तो पनि हुँदो रैछ, नौसय खोला तरेर जाने, उडुँ कि गुडुँ म लगायतका गीतहरु कालजयी छन् । उनले चलचित्र नासो, प्रेमपिण्ड, श्रीस्वस्थानी, नासो, लोभीपापी, आदिकवि भानुभक्त लगायतको निर्माण तथा निर्देशन गरेका छन् भने चलचित्र विकास बोर्डको पहिलो अध्यक्षसमेत हुन् । गीतकार खरेललाई ५१ हजार नगद राशीसहित दीर्घ साधना सम्मान अर्पण गरिने संयोजक पोखरेलले बताइन् ।

त्यसैगरी यस वर्षको म्युजिक खबर रजत सङ्गीत सम्मान–२०८१ गायक तिलकसिंह पेलालाई अर्पण गरिने भएको छ । रेडियो नेपाल हुँदै हालसम्म पनि उनको संगीत तथा स्वरमा दर्जनौं गीतहरु रेकर्ड भएका छन् । लामो समयदेखि श्रीकृष्ण गुरुकुलमार्फत संगीतको प्रशिक्षकको माध्यमले अरुलाई शिक्षित गराउँदै आएका पेलालाई ‘म्युजिक खबर रजत सम्मान –२०८१’ अर्पण गरिने भएको हो । लुकाउन खोज्दा पनि, के लत बस्यो मलाई, हेर दिन ढल्यो, कथा एउटै, पलपल, निर्जन किनार, तिम्रो याद, कहानी बनेन केही लगायतका गीत तथा गजलहरुमा उनको स्वर सुन्न सकिन्छ ।

त्यस्तै, यस वर्षको म्युजिक खबर दशक संगीत सम्मान– २०८१ बाट गायक खुमन अधिकारी र गायिका जुनु रिजाल काफ्लेलाई अर्पण गरिने भएको छ । २०६२ सालदेखि औपचारिक रुपमै संगीत क्षेत्रमा सक्रिय रहँदै आएका गायक अधिकारीले १० हजार बढी गीतमा स्वर भरिसकेका छन् । देश, विदेश, मेला, महोत्सव, रोधीघर आदि स्टेजहरुमा खुमनको माग बढ्दो छ । उनले स्वर भरेका ‘मनको देउतैले’, ‘जोर शंख फुकेर’, ‘बिन्ती मेरो कोटी कोटीमा’, ‘रुमाल चिनो लैजाउ बैनालाई’, ‘एउटै डोरी पासो लगाम भो’, ‘सिलाइ दिउँला भोटो’, ‘स्याङ्जालीलाई नभन जाली’, लगायतका थुप्रै गीतहरु लोकप्रिय बनेका छन् ।

त्यस्तै, सांंगीतिक दरिलो छाप बनाएकी गायिका जुनु रिजालका फूल मन्जरी, न दोष तिम्रो न दोष मेरो, ड्राइभर दाइ, के नै भन्नु छ र अब, डाँफे झैं नाच्ने, के होला उनको नाउँ, लुकी लुकी, बनचौंरी लगायतका गीतहरु लोकप्रिय छन् । १२ औं म्युजिक खबर म्युजिक अवार्ड समारोहमा गायक खुमन अधिकारी र गायिका जुनु रिजाललाई ‘म्युजिक खबरदशक संगीत सम्मान’ अर्पण गर्ने निर्णय भएको छ । भेलाले यो वर्षको म्युजिक खबर युवा सङ्गीत सम्मान गायिका मिना लामालाई अर्पण गर्ने निर्णय गरेको छ ।

गायिका लामाले लोक गायन तथा आधुनिक संगीतमा सयौं गीतमा स्वर तथा संगीत भरिसकेका छन् । लाइभ दोहोरीसमेत अब्बल गायिका लामाका झम्के साँझैमा, आँसु पैंचो, प्रवेश निषेध, झरनाको पानी, बाँचुन्जेल लगायतका आधुनिक, लोक र सेलो गीतहरु रहेका छन् ।

त्यसैगरी यस वर्षको म्युजिक खबर संगीत पत्रकारिता पुरस्कार रङ्गपत्रकार एमपी सुब्बा र दिपाञ्जली शाहलाई अर्पण गरिन लागिएको छ । दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा संलग्न रहेका पत्रकार सुब्बा दृष्टि साप्ताहिकमा जिम्मेवारी सम्हाल्दै आएका छन् भने शाह हाल कान्तिपुर ग्रुपसँग आवद्ध रहेका छन् । उनीहरु दुवै जनालाई नगद राशी ५हजार ५ सय ५५ नगद राशिसहित सम्मान अर्पण गरिनेछ ।

त्यसैगरी यस वर्षको बाल प्रतिभा प्रोत्साहन सम्मान बाल गायिका पुजा देवकोटालाई अर्पण गरिन लागिएको छ । गायिका देवकोटाले सानै उमेरमा गायनमा रुची राखी संगीत क्षेत्रमा चालेको यात्रालाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गर्न लागिएको हो । उनको स्वरमा रहेको म हुँ नेपाली, माया पलाउने, जिन्दगी मेरो, हर युगौयुगसम्म, आँसु गहमा, मैले मात्रै सम्झेर लगायतका दर्जनौं गीतहरु बजारमा आएका छन् ।

म्युजिक खबर डायस्पोरा संगीत सम्मान गीतकार डा.रमिल अधिकारीलाई अर्पण गरिने भएको छ । लामोसमयदेखि गीतिलेखनमा सक्रिय रहेका गीतकार अधिकारी न्यूजिल्याण्डमा कार्यरत रहेका छन् । न्यूजिकल्याण्डका लागि नेपाली पर्यटनदूतको समय जिम्मेवारी सम्हालेका अधिकारीको जीउने चाहना, आऊ एउटा बाचा गरौं, हाम्रो जे भनेनी तिमी, विन्दास नाच्ने हो लगायतका गीतहरु रहेका छन् ।

यसैगरी म्युजिक खबर फोटो पत्रकारिता पुरस्कार– २०८१ फोटोपत्रकार प्रदिपराज वन्तलाई अर्पण गरिने भएको छ । नेपालमा उनले फोटो पत्रकारिताको क्षेत्रमा अतुलनिय योगदान दिंदै आएका छन् ।

राष्ट्रिय समाचार एजेन्सीमा समेत आवद्ध रहेका उनले खिचेका फोटोहरु नेपालका राष्ट्रिय छापा तथा अनलाईन मिडियामा प्रकाशित भएका छन् । निरन्तर फोटो पत्रकारिता रमाइरहेका उनी हाल फोटो पत्रकारहरुको संस्था एनएपीजेका अध्यक्ष समेत रहेका छन् । फोटो पत्रकारहरुको नेतृत्वाम रहँदा होस् वा बाहिर व्यवसायिक फोटो पत्रकारका लागि असंख्य अवसरहरु सिर्जना गर्ने कामको कदर गर्दै १२औं म्युजिक खबर म्युजिक अवार्ड समारोहमा उनलाई म्युजिक खबर फोटो पत्रकारिता पुरस्कार– २०८१ अर्पण गरिनेछ ।

त्यसैगरी संगीत क्षेत्रमा व्यवसायिक रुपमा क्रियाशील विमल शाहलाई म्युजिक खबर संगीत व्यवसायी सम्मान अर्पण गर्न लागिएको हो । पशुपति हारमोनियम बिक्री तथा मर्मत केन्द्र संचालन गर्दै आएका विमल शाहले नेपालमै हार्मोनियमको उत्पादन तथा मर्मत गर्दै आएका छन् ।

उनले कलाकारहरुको घरघरमा पुगेर हारमोनियम मर्मत गर्नुका साथै आफैं हारमोनियम निर्माण गरेर देश तथा विदेशमा कलाकारहरुलाई पठाउने गरेका छन् । कला क्षेत्रका लागि अत्यावश्यक बाजाका रुपमा रहेको हारमोनियमको उत्पादन तथा बिक्री बितरण गर्दै आएका विमल शाहलाई म्युजिक खबर संगीत व्यवसायी सम्मान अर्पण गर्न लागिएको हो ।

विगत १२ वर्षदेखि आयोजना हुँदै आएको म्युजिक खबर म्युजिक अवार्ड कार्यक्रमका निर्देशक वरिष्ठ पत्रकार एवं गीतकार शान्तिप्रिय हुन् । सुमन पण्डित अध्यक्ष रहेको अवार्ड कार्यक्रमकी संयोजक सविता पोखरेल छिन् ।

भेलामा वरिष्ठ कलाकार, निर्देशक, हाल चलचित्र कलाकार संघका अध्यक्ष –मोहन निरौला, बरिष्ठ गायक, संगीतकार नारायण रायमाझी, वरिष्ठ कलाकार एवं निर्देशक हाल चलचित्र विकास बोर्डका अध्यक्ष – दिनेश डिसी, वरिष्ठ साहित्यकार राधेश्याम लेकाली, वरिष्ठ गायिका देविका बन्दना, सांस्कृतिक प्रवद्र्धक तथा वरिष्ठ संगीतकर्मी आरसी कोइराला, वरिष्ठ संगीतकर्मी उज्ज्वलजंग ठकुरी, वरिष्ठ गायक चन्द्र शर्मा, बरिष्ठ अधिबक्ता एवं गीतकार राम भट्टराई, संगीतकार सन्तोष श्रेष्ठ, गायिका सिता केसी, मोडल कविता बानियाँ, कार्यक्रम प्रस्तोता एवं पत्रकार निराजन भण्डारी, गायक तथा संगीतकार सरोज कोइराला, गायिका लक्ष्मी पुरी प्रधान, संगीतकर्मी बादल थकाली, युवा व्यवसायी गणेश घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

टिप्पणिहरु
Loading...