एउटा भक्तका लागि ‘श्री हरि’ भगवान् मात्र हुनुहुन्न वहाँ प्रियतम, स्वामी, सखा, र जीवनको लक्ष्य हुनुहुन्छ । आफ्नो सच्चा भक्तलाई भगवानले कहिल्यै तिरस्कार गर्नुहुन्न। मीरा, सन्त तुलसीदास, र सन्त सुरदासहरूले वहाँ प्रति अत्यन्त प्रेमभाव व्यक्त गरेका दृष्टान्तहरु हामी शास्त्र अध्ययन मार्फत थाहा पाउन सक्दछौ । ‘श्री हरि’ केवल मन्दिरमा सीमित हुनुहुन्न, कण–कणमा ब्याप्त हुनुहुन्छ् । ‘श्री हरि’ प्रत्येक प्राणीको हृदयमा वास गर्नुहुन्छ र सबैका कर्मका साक्षी हुनुहुन्छ । ‘श्री हरि’ सर्वज्ञ, सर्वशक्तिमान, र दयामय हुनुहुन्छ । ‘श्री हरि’ को कुनै आरम्भ र अन्त छैन । दयालु ‘श्री हरि’ पापीलाई पनि क्षमा दिन सक्ने दयाका सागर हुनुहुन्छ । प्रत्येक प्राणीलाई कर्म अनुसार फल दिनुहुन्छ । ‘श्री हरि’ भक्तवत्सल हुनुहुन्छ, ‘श्री हरि’ भक्तहरूप्रति अपार माया र प्रेम गर्नुहुन्छ । भारतमा वैष्णव सम्प्रदाय अन्तर्गतका मन्दिरहरू जस्तै तिरुपति, बद्रीनाथ, जगन्नाथपुरी ‘श्री हरि’ प्रति समर्पित छन् । नेपालमा पनि अनेकौं विष्णु मन्दिरहरू छन् जस्तै बुढानीलकण्ठ, हरेकृष्ण धाम (स्कोन नेपाल) चागुनारायण आदि ।
‘श्री हरि’ प्राप्तिको उपाय भक्तियोग अर्थात् प्रेमपूर्वक स्मरण, भजन, पूजा, नामस्मरण ह्न् जस्तै – “हरे राम हरे राम राम राम हरे हरे, हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे”
‘श्री हरि’ प्रप्त गर्ने अर्को माध्यम ध्यान हो । मन र चित्तलाई हरिमा एकाग्र बनाउने । त्यस्तै सत्कर्म – धर्म, सेवा, सत्य र सदाचारमा आधारित जीवन । भगवान् श्री हरि दयालु र प्रेममय परमात्मा हुनुहुन्छ, जो हाम्रो हृदयमै वास गर्नुहुन्छ । ‘श्री हरि’ केवल ब्रह्माण्डका शासक मात्र हुनुहुन्न वहाँ त एक भक्तको प्रिय साथी पनि हुनुहुन्छ ।
जब हामी मोह–मायाबाट टाढा भएर, ‘श्री हरि’ को शरणमा जान्छौं—त्यो क्षणमा हामी साँचो शान्ति र आनन्द अनुभव गर्छौं । भगवान श्री हरिका यिनै भावहरु प्रति समर्पित भजन ‘हे हरि’ बबिना भट्टराईको स्वर, संगीत तथा शब्दमा बबिना भट्टराईको आफ्नै आध्यात्मिक च्यानल ‘श्री भजन्स्’ मार्फत सार्वजनिक भएको छ ।
‘हे हरि’ भजन एक गहिरो आध्यात्मिक भावनाले भरिएको भगवान ‘श्री हरि’ को प्रार्थना हो जसमा एक भक्तले भगवान् ‘श्री हरि’ प्रति आत्मसमर्पण गर्दै आफ्नो जीवनको पश्चात्ताप व्यक्त गरेको छ ।
हे हरि हे हरि हे हरि … भेटौ म तिमीलाई के गरि …
जनम बेकार मेरो जानु छ एक दिन मरि …
हे हरि ..हे “हे भगवान्, म तपाईंलाई कसरी भेटुँ ? म असहाय छु, अज्ञानी छु, म मा आध्यात्मिक तृष्णा छ तर मलाई थाहा छैन कि भगवान ‘श्री हरि’ संग मिलन कसरी सम्भव छ ? जीवन निष्फल भयो, बेकार भयो, अध्यात्मको पाटोबाट निरर्थक भयो किन भने यो मानव चोला चिरञ्जिवी छैन, अन्ततः एक दिन मरेर जाने हो, मेरो पनि मरण निश्चित छ तर मैले केही आध्यात्मिक उपलब्धि गरिन, मेरो जन्म नै बेकार भयो, अव म कसो गरु ?
पढिन शास्त्र गरिन ध्यान जपिन कहिले हरि नाम
हिँडिन तीर्थ गरिन दान पुजिन गुरु राखिन मान..
न शास्त्र पढियो, न ध्यान गरियो, न हरिको नाम जपियो… भजनमा जीवनको उत्तरार्धमा पश्चात्ताप व्यक्त गरिएको छ किनकि भक्तले आध्यात्मिक अभ्यासको अवहेलना गरेको छ । न तीर्थ यात्रा गरियो, न दान गरियो, न गुरुलाई सम्मान गरियो । यहाँ भक्तको आत्म–स्वीकारोक्तिको भाव देखिन्छ– जीवन भुलभुलैयमा मैै वित्यो, आध्यात्मिक मूल्यहरूलाई भने बेवास्ता गरियो ।
मोह मायाको यो भावसागर तरौ म अव के गरि
देह रै छ डढि जाने उड्दो रै छ मन चरि…
अब चाहि भक्तलाई डर लागेको छ, यो मोह–मायाको संसार (भवसागर) कसरी तरु ? कसरी पार गरूँ ? जीवनको अन्त्यमा आएर भक्तले प्रश्न गरिरहेको छ — अब केहि उपाय बाँकी छ र ? यो शरीर त नष्ट हुने हो, मन त चरा झैँ उड्छ, जीवनको नश्वरता र मनको चञ्चलता भजनका यी हरफमा महशुष गरिन्छ ।
जलमा तिमी थलमा तिमी, कण कणमा तिमी सरोवरी
गगनमा तिमी पवनमा तिमी, सर्वत्र तिमी अन्तरयामी…
तिमी पानीमा छौ, जमिनमा छौ, कण–कणमा छौ । भजनका यी हरफले भगवान ‘श्री हरि’ अर्थात् ईश्वरको सर्वव्यापकता वर्णन गरिएको छ – हरि सर्वत्र व्याप्त छन् आकाशमा, हावामा, जलमा, थलमा जताततै, कण कणमा, सबैतिर भएर पनि कतै देखिदैन, भगवान श्री हरि ! तिमी अन्तर्यामी छौ ।
तिमी खोजे मन्दिरमा रहेछौ तिमी मन भरि
भुलिरहे अज्ञानले जागौ अव के गरि ।
मन्दिरमा खोजेको तिमी त मेरो आफ्नै मनमै रहेछौ भनेर यहाँ धार्मिक स्थलभन्दा आत्मा भित्रको खोजको महत्व दर्शाइएको छ । अज्ञानताले म भुलिएको थिएँ, अब म जाग्न चाहन्छु – के गरूँ ? पछुतो गर्दै भक्तले आत्मबोधको आकांक्षा व्यक्त गरेको छ ।
भजन ‘हे हरि’ मा एक आध्यात्मिक व्यक्ति जीवनको अन्त्यतिर आइपुगेपछि पश्चात्ताप, आत्मबोध र ईश्वरप्राप्तिको तृष्णा व्यक्त गर्छ । उसले मान्छेको सामान्य भुलहरू जस्तै अध्यात्मको उपेक्षा, सांसारिक माया, मोह, र आत्मखोजको अभाव स्वीकार गर्दछ । अन्ततः ईश्वर त सर्वत्र छन् भन्ने सत्यमा पुग्छ र भन्छ, ‘अब म के गरूँ ?’ – यो प्रश्न वास्तवमै आत्मबोधको सुरुवात हो तर धेरै ढिला आत्मबोध भयो ।
भजन ‘हे हरि’ को भिडियोमा बबिना भट्टराई आफै फिचर्ड छिन् । भजनको भिडियोमा उनले एउटा सच्चा भक्तको रुपमा भगवान ‘श्री हरि’ को स्तुति गरेकी छिन् । काठमाडौको प्रशिद्ध धार्मिक स्थल गोकर्णमा ऐ.जे. अजुको निर्देशनमा छाँयाकंन गरिएको उक्त भिडियोको कलर ग्रेडिङ तथा सम्पादन अनिल विष्ट प्युठानीले गरेका हुन् ।
भगवान श्री हरिको महत्व दर्शाई आफ्नै आध्यात्मिक च्यानल श्री भजन्स् मार्फत सार्वजनिक भजन ‘हे हरि’ नेपाली भजनप्रेमीहरुले मन पराउने विश्वास लिएको बताउँदै गायिका तथा संगीतकार बबिना भट्टराईले आगामी दिनहरुमा यसै च्यानल मार्फत आफ्ना विविधतायुक्त भजनहरु भजनप्रेमी दर्शक, श्रोताहरु माझ ल्याउने विश्वास व्यक्त गर्दै आफ्नो नयाँ भजन ‘हे हरि’ लाई माया गर्नु हुन र आफ्नो आध्यात्मिक च्यानल श्री भजन्स् लाई सब्स्क्राइव, लाइक, कमेन्ट, शेयर गरि सहयोग गरिदिन पनि आग्रह गरेकी छिन् ।
भगवान प्रति पूर्ण आस्था र विश्वास राख्ने गायिका तथा संगीतकार बबिना भट्टराईका स्वर तथा संगीतमा भगवान श्री कृष्ण, भगवान श्री राम, भगवान महादेव लगायतका विभिन्न भजनहरु विगतका दिनहरुमा बीणा भक्ति युट्व च्यानल मार्फत सार्वजनिक भइसकेका छन् । नेपाली सुगम संगीतमा पनि उनले धेरै गीत, गजलहरुमा आफ्नो सुमधुर स्वर दिएकी छिन् । गायन र संगीत मार्फत धर्म, अध्यात्म र भक्तिमा बबिना भट्टराईले दिएकी योगदान विशेष प्रशंसनीय रहेको छ । आगामी दिनहरुमा पनि भजनद्धारा भगवानको भक्तिभाव र गुणगानलाई निरन्तरता दिई समाजमा अध्यात्म स्थापित गर्न प्रयास गर्ने उनी बताउँछिन् ।
भजन हे हरि …
हे हरि हे हरि हे हरि …
भेटौ म तिमीलाई के गरि ।
जनम बेकार मेरो जानु छ एक दिन मरि
पढिन शास्त्र गरिन ध्यान जपिन कहिले हरि नाम
हिडिन तीर्थ गरिन दान पुजिन गुरु राखिन मान
मोह मायाको यो भावसागर तरौ म अव के गरि
देह रै छ डढि जाने उड्दो रै छ मन चरि
हे हरि हे हरि ….
जलमा तिमी थलमा तिमी
कण कणमा तिमी सरोवरी
हे हरि हे हरि …
गगनमा तिमी पवनमा तिमी
सर्वत्र तिमी अन्तरयामी
तिमी खोजे मन्दिरमा रहेछौ तिमी मन भरि
भुलिरहे अज्ञानले जागौ अव के गरि ।