Admission Open

ad place

काठमाडौँको वडा २२ र २५ मा भूमिगत पानी पुनर्भरण प्रणाली स्थापना र हस्तान्तरण

शहरी क्षेत्रमा पानीको बढ्दो माग र भूमिगत जलस्रोतको कमीलाई सम्बोधन गर्न जलवायु परिवर्तन अनुकूलन दृष्टिकोणका साथ सीआइयुडी र बोटलर्स नेपाल लिमिटेडको संयुक्त पहल

काठमाडौँ, ४ जेठ : काठमाडौँ उपत्यकाका बासिन्दाहरूको खानेपानीको प्रमुख स्रोत पहिलेदेखि नै भूमिगत पानी रहेको छ । उपत्यकाका हरेक कुनामा ढुङ्गेधारा, इनार र कुवाहरू जस्ता प्राकृतिक पानीका स्रोतहरू देख्न सकिन्छ । तर गत दुई दशकदेखि अत्यधिक भूमिगत पानी निकाल्ने, अव्यवस्थित भवन निर्माण र सडक निर्माणले उपत्यकामा भूमिगत पानीको स्तरमा उल्लेखनीय कमी आएको छ । छोटो अवधिमा अत्यधिक वर्षा हुने र वर्षाको प्रणालीमा आएको परिवर्तनले पनि भूमिगत पानी पुनर्भरणको प्राकृतिक प्रक्रियामा असर पारेको छ ।
यी समस्याहरूलाई सम्बोधन गर्न र कृत्रिम भूमिगत पानी पुनर्भरण पहलहरू मार्फत भूमिगत पानीलाई पुनर्भरण गर्न, शहरी पानी व्यवस्थापनमा सार्वजनिक/निजी/साझेदारी (पिपिपि) मोडेल प्रदर्शन गर्दै, बोटलर्स नेपाल लिमिटेड (बिएनएल) र सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट (सीआइयुडी) ले २०८१ मा काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ र २५ मा भूमिगत पानी पुनर्भरण परियोजना कार्यान्वयन गरेको छ । छनौट गरिएका स्थानहरूमा भूमिगत पानीको स्तर बढाउने, कम लागतको भूमिगत पानी पुनर्भरण प्रविधिको प्रदर्शन गर्ने र स्थानीय सरकार र समुदायहरूलाई यस्तै उद्देश्यहरू दोहो¥याउन र बढाउन प्रेरित गर्ने प्रमुख उद्देश्यका साथ, यस परियोजनाले वडा २५ मा ६ र वडा २२ मा ५ पुनर्भरण प्रणालीहरू स्थापना गरेको छ । प्रत्येक प्रणालीमा एउटा पुनर्भरण कुवा र एउटा फिल्टर चेम्बर रहेको छ । कुवाको औसत गहिराई २० फिट रहेको छ ।
परियोजना सफलतापूर्वक सम्पन्न भएपछि, सीआइयुडी र बिएनएलले संयुक्त रूपमा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, वडा सदस्यहरु र स्थानीय समूहहरूको उपस्थितिमा वडा २२ र वडा २५ का अध्यक्षहरूलाई भूमिगत पानी पुनर्भरण प्रणालीहरू हस्तान्तरण गरे ।
उक्त अवसरमा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, “काठमाडौँमा पानी रिचार्जको आवश्यकता भएकोले, हामी काठमाडौँका धेरै क्षेत्रमा पानी रिचार्ज प्रणालीका लागि सीआइयुडी र बोटलर्स नेपालसँग काम गरिरहेका छौं र यसका सकारात्मक प्रभावहरू पनि देखिरहेका छौं । आज, काठमाडौंको मुख्य क्षेत्र मानिने वडा २२ र २५ मा यो परियोजना कार्यान्वयन गर्न सक्षम भएकोमा हामी धेरै खुसी छौं । जतिबेला यस परियोजनाको प्रत्यक्ष प्रभाव यस क्षेत्रका समुदायहरूले अनुभव गर्नेछन्, निश्चित रूपमा हामी परियोजनाको वास्तविक सफलता त्यतिबेला मनाउनेछौं ।”
यी प्रणालीहरूले वार्षिक रूपमा लगभग ८,६२४ किलो लिटर पानी पुनर्भरण गर्न मद्दत गर्ने र त्यसद्वारा हस्तक्षेप क्षेत्रको भूमिगत पानीको तहलाई स्थिर पार्ने अनुमान गरिएको छ । परियोजना वडा २२ र २५ का दुवै सदस्यहरूसँग निकट सहकार्यमा कार्यान्वयन गरिएको थियो, साथै संकटा क्लब, ग्वाहाली दाबु, आर्यावलोकितेश्वर जस्ता विभिन्न सुधार समूह, केल अचाजु गुठी र मछिन्द्र क्लब जस्ता महत्वपूर्ण समुदायिक समूहहरूले पनि परियोजनामा आफ्नो महत्वपूर्ण योगदान गरेका थिए ।
काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३ को रानीबारी, ठिमी नगरपालिकाको युसिइपि, ललितपुर महानगरपालिकाको लगनखेलको राजदल आर्मी ब्यारेक र काठमाडौँ महानगरपालिकाको वडा १६ को बालाजु पार्कमा यो परियोजना सफल कार्यान्वयन हुनु बोटलर्स नेपाल लिमिटेड, सीआइयुडी र वाटरएड नेपालको त्रिपक्षीय सहकार्यको निरन्तरता हो । यो साझेदारीले अघिल्ला परियोजनाहरूमार्फत वार्षिक रूपमा लगभग १,५६,००० किलो लिटर भूमिगत पानी पुनर्भरण गरिरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...