कविता

भन्दै छ शासक सुशासन दिन्छु आज
बेचेर खान्छ दुनियाँ तर छैन लाज
झूठो मिठो बचनले प्रिय शब्द बोल्छन्
निर्दोष हुन्छ घरको परको छ पोल्छन् ।।१।।
भन्छन् यहाँ बगरझैँ सुन फल्छ रास
जाकिन्छ निर्धन कठै ! पर बस्छ खास
यो चाल ले मुलुकमा कतिले कमाए
आफू बसी महलमा टुहुरो फसाए ।।२।।
त्यो राष्ट्रसेवक बरा ! नित काम गर्छ
आदेश मान्छ जहिले अनि जेल पर्छ
यो चाल ले विगतमा पनि कर्मचारी
बस्थे सधैँ कहर साथ बिगो सकारी ।।३।।
आदेश पालन भयो कि भएन भन्छन्
आफन्त छैन घरको पर हुन्छ झन् झन्
निष्पक्षता मुलुकमा कहिले भएन
सेवा दिँदा बिरसिलो मनको गएन ।।४।।
सत्कर्म गर्न पहिले प्रण त्यो गरेको
बिर्सेर कर्म अहिले किन हो झरेको
त्यो ताजको नजरमा अब पर्नु पर्छ
सेवा दिइन्न छरितो जनको ठहर्छ ।।५।।
(छन्द-वसन्ततिलका)
हलेसी तुवाचुङ न पा-४, हात्तीवन (हाल- कञ्चनरुप नगरपालिका वडा नं ७, आदर्शटोल सप्तरी)
लेखक/कवि: बुढ्यौली साहित्य समाज सप्तरीका अध्यक्ष हुनुहुन्छ ।