Admission Open

ad place

धनगढीमा चिस्यान केन्द्र निर्माण कार्य अन्तिम चरणमा

गोदावरी (कैलाली) : धनगढी उपमहानगरपालिका–१८ फूलबारीमा चिस्यान केन्द्र (कोल्डस्टोर) निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।

रु १० करोड ५० लाखभन्दा बढीको लागतमा निर्माणाधीन २ हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माणकार्य अन्तिम चरणमा पुगेको क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन एकाइ धनगढीले जनाएको छ ।

TVS_Golden key

आयोजना कार्यान्वयन एकाइका इञ्जिनीयर सौरभ कलौनीका अनुसार विसं २०७५ मङ्सिर १८ मा रविना कन्स्ट्रक्सन निर्माण कम्पनीसँग रु १० करोड ५० लाख ७३ हजारमा ठेक्का सम्झौता भई २०७७ मङ्सिरसम्म निर्माणसम्पन्न गरिसक्ने भनिएपनि विभिन्न कारणले ढिलाइ भएको थियो ।

सङ्घीय सरकारको सहयोगमा निर्माणाधीन सो केन्द्रको ८५ प्रतिशत काम सम्पन्न भइसकेको उहाँले बताए । “निर्माण कम्पनीको लापरबाहीका कारण निर्माणकार्य लम्बिँदै गएको थियो । पटक–पटक समयावधि थप गरेर हाल ८५ प्रतिशत कार्यसम्पन्न भएको छ । अब चाँडै बाँकी काम सक्ने गरि निर्माण कार्य भइरहेको छ”, उनले भने ।

धनगढी उपमहानगरपालिका–१८ का वडाध्यक्ष भुवन रिजालले चिस्यान केन्द्र सञ्चालनमा आए धनगढी उपमहानगरपालिका, कैलारी गाउँपालिकाकालगायत त्यस क्षेत्रका किसानले उत्पादन गरेको फलफूल, तरकारी तथा आलु भण्डारणमा सहजता हुने विश्वास व्यक्त गरेका छन् ।

कृषि ज्ञान केन्द्र कैलालीका सूचना अधिकारी श्यामप्रसाद जोशीले कैलालीमा चिस्यान केन्द्र नहुँदा व्यावसायिक रूपमा फलफूल तथा तरकारीखेती गर्दै आएका किसानले समस्या झेल्नु परेको बताए । फूलबारीमा चिस्यान केन्द्र सञ्चालनमा आएपछि किसानलाई राहत हुने उनको विश्वास छ । (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...