Admission Open

७ प्रदेशमा सेवा विस्तार गर्ने योजनामा क्यान्सर अस्पताल

नारायणगढ (चितवन) : बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ७ प्रदेशमा सेवा विस्तार गर्ने जनाएको छ । अस्पतालले ७ प्रदेशमा क्यान्सर रोकथाम र नियन्त्रण तालिम, स्क्रिनिङ तथा बहिरङग सेवा विस्तार गर्ने योजना बनाएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले अस्पतालमा आउने बिरामीको चाप कम गर्न र बिरामीलाई उच्चस्तरको सेवा प्रदान गर्नका लागि सेवा विस्तार गर्न लागेको जानकारी दिए ।

“अस्पतालको शल्यक्रिया सेवामा स्तरोन्नति गरी थप प्रविधिमैत्री बनाइ सेवा प्रदान गर्ने योजनामा हामी लागेका छौँ” उनले भने । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको अस्पताल निरीक्षणका क्रममा अस्पतालका भावी योजनाबारे जानकारी गराइएको उनले बताएका छन् ।

त्यसैगरी अस्पतालको प्याथोलोजी सेवामा मोलिक्यूलर प्रयोगशाला पूर्ण रुपमा सञ्चालन गरिने, रेडियसन सेवामा थप अत्याधुनिक मेसिन जडान गरिने उनी बताउँछन् । न्यूक्लियर मेडिसिनतर्फ राष्ट्रिय गौरवको रुपमा रहेको साइक्लोट्रोनसहितको पेट सिटी स्क्यान सेवा स्थापना गरी उक्त सेवाका लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्नेतर्फ अस्पताल लागेको उनको भनाइ छ ।

“हामीले अस्पताललाई क्यान्सर उपचारमा सबै सेवायुक्त बनाउने योजनामा लागेका छौँ । रक्त क्यान्सरको उपचारमा महत्वपूर्ण मानिने बोनम्यारो प्रत्यारोपण सेवाको स्थापना गर्नका लागि चिनियाँ सरकारको अनुदानमा काम अघि बढेको छ” उनले भने ।

अस्पतालबाटै दक्ष जनशक्ति उत्पादन गर्नका लागि शैक्षिक प्रतिष्ठानको रुपमा विकास गर्ने प्रक्रियामा रहेको पनि उनको भनाइ छ । यहाँ उपचारका लागि छिमेकी देशबाट समेत बिरामी आउने गरेका छन् । (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...