काठमाडौँ, २६ चैत्र : घोडेजात्रा सामाजिक जात्राको रुपमा प्राचीनकालदेखि मनाइँदै आइएको छ । जनविश्वासअनुसार टुँडिखेलको पूर्वदक्षिण दिशामा रहेको एउटा रूखमा गुरुमापा नामक राक्षस बस्थ्यो । त्यस राक्षसले शहरका बालबालिकालाई खान्थ्यो । आफ्ना बालबालिकालाई खाने त्यस राक्षसलाई शहरका पीडितहरूले त्यसको संहार गरे । तर पनि उसको प्रेतात्मा फेरि जागेर बालबालिकालाई क्षति गर्न सक्ने त्रास शहरवासीहरुमा थियो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको छ। यसरी घोडेजात्रा गरेपछि त्यस गुरुमापा राक्षसको आत्माले स्थानीयवासीलाई दुःख नदिने जनविश्वास रहि आएको छ।
त्यस्तै बालबालिका खाइदिएर दुःख दिने गरेको गुरुमापा राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको हुनाले विजय उत्सवको रुपमा घोडेजात्रा मनाउने परम्पराको शुरुवात भएको किंवदन्ती रहेको छ।
जसले यो शहरलाई अहिले पनि नाश गर्न चाहने विश्वास गरिन्छ । साथै यस जात्राले देशमा शुमङ्गल ल्याउने विश्वास पनि गरिन्छ ।
घोडेजात्राको खास नाम ‘पाहाँ चह्रेु ‘ हो। यस पर्वमा उपत्यकाभित्र देवीदेवताको जात्रा गरी मनाउने चलन छ। यही ‘पाहाँ चह्रे’ नखस्मा पछि घोडा जात्रा थपेर ‘घोडेजात्रा’ भनिन थालिएको हो। काठमाडौंको टुँडिखेलमा मनाइने प्रसिद्ध घोडेजात्राको दिनलाई घोडचढी प्रतिस्पर्धाको रूपमा पनि मनाइन्छ।
कुनैदिन एसियाकै ठूलो परेड मैदान भनिएर चिनिएको काठमाडौंको मुटुमा रहेको टुँडिखेलमा यसको आयोजना हुनु र देशको अतिउच्चदेखि सर्वसाधारण नागरिकसम्मले हेर्नु यो जात्राको विशेषता हो।