रामपुर (पाल्पा) : समृद्ध जिवन विषयक प्रवचन कार्यक्रम रामपुर पाल्पामा भएको छ । जीवन विज्ञान सम्बन्धी जानकारी गराई जीवनलाई सुखी र समृद्ध बनाउन सक्षम बनाउने उद्देश्यले रामपुर नगरपालिकाको आयोजनामा प्रवचन कार्यक्रम भएको हो ।
नगर प्रमुख रमणबहादुर थापाले सुखी र समृद्ध जीवनका लागि योग ध्यान सहित सकारात्मक सोँचको खाँचो पर्ने हुदा भौतिक सुख सुविधाले मात्र मानिसको जीवन खुशी नहुने भन्दै आत्मज्ञान र आत्म सन्तुष्टिले मात्र सुखी र खुशी बनाउने बताए ।
जीवनलाई समृद्ध र समाजलाई अनुशासित बनाउनका लागि सकारात्मक सोँच र आफुलाई चिन्न आवश्यक रहेको उल्लेख गर्दै नगर प्रमुख थापाले मानिसले आफुलाई चिन्न नसक्दा र सकारात्मक सोँचको कमीका कारण समाजमा विकृति विसंगति फैलिरहेको औँल्याए ।
कार्यक्रममा समृद्ध जीवन विज्ञानका विशेषज्ञ योग साधक एल.पि. भानु शर्माले सहजिकरण गर्दै जीवनलाई समृद्ध बनाउन स्वयम आफुभित्रको क्षमताको पहिचान र हरेक आवश्यकता परिपूर्ति गर्नुपर्ने बताउँदै उनले अरुको आवश्यकता पुरा गरेर जीवनको समृद्धि हासिल गर्न सकिने बताए ।
रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले प्रवचन सहितको प्रशिक्षणमा सिकाईएका कुरा व्यवहारमा लागु गरी जीवनलाई समृद्ध बनाउन आग्रह गरे ।
नगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का वडाध्यक्ष कपिलबहादुर खाँणको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख विक्रम बस्नेतले गरेका हुन् ।
कार्यक्रममा नगरपालिकाका सल्लहाकार, जनप्रतिनिधि, राजनितिक दल, विभिन्न विद्यालयका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक अविभावक संघका अध्यक्ष, विद्यार्थी, पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत पण्डितको अध्यक्षतामा भएको हो ।