Admission Open

कम्प्युटर इन्जिनियरको चिया पसल: उनी भन्छन्,– ‘कुनै पछुतो छैन’

टिकाराम सुनार र चन्दन ठाकुर

जनकपुरधाम : सूचना प्रविधिको युग । त्यसैमा कम्प्युटर इन्जिनियरिङमा स्नातक अर्थात् ‘बिटेक’ गरिसकेको युवा । यस्तो युवाले के गरिरहेका होलान्, कल्पना गर्नुहोस् त ? सोही विषयमा स्नातकोत्तर अध्ययनको तयारीमा जुटेका, रोजे खोजेको कार्यालयमा सफ्टवेयर बनाइरहेका, बहुचर्चित विधा आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सेक्युरिटी लगायत काममा नयाँ–नयाँ प्रयोग गर्न अभ्यस्त । त्यसै नभएपनि आफ्नो सीप र कला प्रयोग गरेर जीवनयापन गरिरहेका त पक्कै होलान् ! हरेकको मानसपटलमा यस्तै चित्र बन्छन् ।

तर धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१० देवीचोक निवासी कम्प्युटर इन्जिनियर राजेश कर्णको दिनचर्या भने हामीले कल्पना गरेभन्दा भिन्न छ । कम्प्युटरका पाटपुर्जा र थरिथरि सफ्टवेर बनाउन किबोर्ड चलाउनुपर्ने उनका हात यतिखेर स्वादिलो चियाका लागि चियापत्ती, पानी र चिनी अड्कल्दै छन् । जनकपुरधाम–२ स्थित किशोरी चोकमा एउटा सानो सटरमा चियापसल सञ्चालन गरिरहेका छन् राजेशले ।

घरी असरल्ल राखिएका चिया गिलास टिप्छन्, घरी चिया पकाउँछन् । सपनामा विश्वविद्यालयमा आर्जन गरेको कम्प्युटर शिक्षा प्रयोग गर्नेछ तर विपनामा भने यसैगरी चियाको मात्रा नापिरहेका छन् । “आफ्नै क्षेत्रमा काम गर्ने रहर त कसैलाई हुदैन र ! त्यस्तै रहर मलाई पनि थियो । तर रहरले मात्रै कहाँ हुँदोरहेछ ! त्यसैको उदाहरण हुँ म”, उनले भने । रहरले त हुँदैन तर प्रविधिको ज्ञान त छ नि ! प्रयास गरेपछि कसो नहोला ? लामो सुस्केरा हाल्दै राजेशले भने, “खै ! नहुँदोरहेछ । मसँग त रहर र सीप दुवै छ । प्रयास पनि कहाँ नगरेको हुँ र… !”

पछाडिबाट आवाज आयो, “दाई चिया ।” उनी कुरा छाडेर काममा लागे । ग्राहकलाई चिया दिइसकेपछि छेउमै आएर सोधे, “तपाईँहरु को नि ?” जवाफमा हामीले पत्रकार भएको बताएपछि एउटा कुर्सी तानेर बस्नै लाग्दा फेरि ग्राहक थपिए ।

“मेरो त काम नै यस्तै छ । सुरुका केही दिन त नरमाइलो लाग्थ्यो, अहिले भने अभ्यस्त हुँदैछु”, पाक्दै गरेको चिया चलाउँदै राजेशले भने, “पारिवारिक परिबन्ध र खराब समय चलेपछि जति प्रयास गर्दा पनि हुँदैन रहेछ । विज्ञानमा विश्वास गर्ने म अचेल त भाग्यमा यस्तै गर्नुरहेछ भनेर चित्त बुझाइरहेको छु ।”

यसरी तुहियो सपना

जनकपुरधामस्थित एक निजी विद्यालयबाट विसं २०६६ मा पहिलो श्रेणीमा प्रवेशिका परीक्षा उत्तीर्ण राजेशले स्नातकसम्मको शिक्षा भारतमा पढेका हुन् । भारतको डाएनसी कलेज बेनीपट्टी, मधुबनीबाट प्लस टु साइन्स (प्रथम श्रेणी) र हिमाञ्चल प्रदेशस्थित बद्दी युनिभर्सिटी अफ इमर्जिङ साइन्स एण्ड टेक्नोलोजीबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक (बि–टेक) सम्मको अध्ययन पूरा गरेका छन् ।

सन् २०१८ मा स्नातकसम्मको पढाइ सकेपछि राजेशले विश्वविद्यालयकै सिफारिसमा मासिक ५२ हजार भारु पाउने गरी चण्डिगढको एउटा कम्पनीमा काम सुरु गरिसकेका थिए । तर जनकपुरस्थित घरमा रहेकी आमा ‘थ्रोट’ क्यान्सरबाट सिकिस्त भएपछि तीन महिनामै जागिर छाड्नुपरेको उनले सुनाए ।

“स्नातक सकिएपछि काम सुरु गरिसकेको थिएँ, तर तीन महिनामै छाडेर नेपाल आउनुपर्यो । त्यसपछिको सम्पूर्ण समय आमाको उपचारमा खर्चिए । एक वर्ष त दिल्लीस्थित एम्स अस्पताल धाउँदै बित्यो । त्यसक्रममा करिब रु २५–३० लाख खर्च भयो । त्यसयता हामी सबैको योजना भताभुङ्ग भयो”, उनले दुःख पोखे ।

हुँदाखाँदाको जागिर छाडेर नेपाल आएका राजेशको जीवनमा एक समय यस्तो आयो कि कसैले लाखौँ तलब दिन्छुभन्दा पनि काम गर्ने अवस्था रहेन । किनकि घरको काम उनले नै गर्नुपर्ने भयो । यहीबीचमा साढे चार वर्षअघि बुवाको मृत्यु भयो ।

“बुवा बितेपछि आमाको सम्पूर्ण सहारा गुम्यो, हाम्रो भरोसा । त्यसपछि आमालाई एक्लै छाड्ने अवस्था रहेन । जागिरको अवसर पाएका बेला घरायसी समस्याले घेर्यो । आमालाई ठिक भएपछि सँगै बसेर केही गर्न पाए हुन्थ्यो भनेर जनकपुरमै धेरै प्रयास गरेँ, धेरैलाई गुहारे तर जागिर पाइँएन”, उनले भने ।

नेपाल टेलिकमको जागिरबाट अवकाशप्राप्त बुवाको पेन्सनबाट घरव्यवहार चलाइरहेको बताउने राजेशले आफ्नो शिक्षा र ज्ञान प्रयोग गर्नुपर्छ भन्ने योजना नबनाएका पनि होइनन् तर आर्थिक अभावले पूरा गर्न सकेनन् । “जागिर पाइएन । खर्च बढ्दै गयो तर आम्दानी छैन”, एकछिन निःशब्द हुँदै उनले भने, “श्रमको मूल्य पाउने जागिर नै पाइएन, १०–१२ हजारमा काम गर्न सकिएन ।”

नेपालमा विकल्प नभएपछि उनले विदेशिने निधो गरे । त्यसबेला स्वास्थ्य बाधक बन्यो । राजेशले दुबईमा साइबर सेक्युरिटीका क्षेत्रमा काम गर्न एउटा कम्पनीमा विभिन्न चरण पार गरेँ । तर मेडिकल परीक्षण गर्दा रगतमा सङ्क्रमण देखिएपछि त्यहाँ पनि जान पाएनन् । अहिले औषधि सेवन गरिरहेको उनले बताए ।

सामान्य मध्यमवर्गीय परिवारका उनले ‘प्लस टु साइन्स’ आफ्नै लगानीमा पढे पनि बि–टेकचाहिँ छात्रवृत्तिमा पढेका हुन् । उनीमात्रै होइन उनका दाजुले पनि बायोटेक्नोलोजीमा स्नातकोत्तर (एमटेक) सम्मको अध्ययन भारतबाट र चीनबाट विद्यावारिधि गरेका छन् । लकडाउनको समयमा अध्ययन सकेर नेपाल फर्किएका उनीपनि पारिवारिक समस्याकै कारण घरमै अल्झिरहनुपरेको भाइ राजेशले जानकारी दिए ।

आठ हजार तिर्नुपर्ने भएपछि…

आमालाई क्यान्सर भयो । त्यहीबीचमा बुवा बिते । परिवारको लय बिथोलियो, राजेश दाजुभाइको सपना र योजना । जागिरका लागि गरिएका प्रयास सफल भएनन् । भएको सीप प्रयोग गरेर केही गरौँ भन्ने सोचमा पुँजी बाधक बन्यो । “सबै प्रयास असफल भएपछि अहिले चिया पसल चलाइरहेको छु । रु एक लाख ऋण काढेर यो व्यवसाय सुरु गरेको पनि तीन महिना भयो । ठूलो चोट, सिकाइ र विवशतापछिको प्रतिफल हो”, उनले मलिन मुद्रामा भने ।

यो व्यापार पनि एउटा पसलमा रु आठ हजार उधारो तिर्नुपर्दाको सकसपछि जन्मिएको हो । चियाका अम्मली राजेशले गएको दसैँ तिहारकै समयमा उधारो खाने गरेको चियापसलेलाई रु ८ हजार ३ सय तिर्नुपर्ने भयो । अनुमानभन्दा बढी पैसा तिर्नुपरेपछि त्यसै दिन चिया छोड्ने वा आफैँ चियापसल खोल्ने सङ्कल्प लिएको राजेशको कथन छ ।

उनी भन्छन्, “त्यहीँ घटनापछि चियापसल खोल्ने निर्णयमा पुगेँ । एकातिर अरुलाई तिर्नुपर्ने चियाको पैसा जोगिने अर्कोतिर समयको सदुपयोग र दुई पैसा आम्दानी पनि हुने । त्यसपछि चियापसल सुरु गरेको हुँ ।” राजेशले पसलको नाम ‘इन्जिनियर क्याफे’ राख्ने निधो गरेर बोर्ड बनाउन दिएका हुन् । उनी विभिन्न प्रकारका चिया, कफी बनाउने सोचका साथ बजार अध्ययन गरिरहेको र अब यहीँ व्यवसायलाई व्यवस्थित बनाउने योजनामा छन् ।

“सुरुमा पढियो एउटा गरियो अर्कै भनेर निराश हुन्थे तर अहिलेचाहिँ कुनै पछुतो छैन । देशको अवस्था, विदेशिएका युवाको पीडाका साथै पसलमा आउनेहरूले दिने प्रतिक्रियाबाट पनि उत्साहित भइरहेको छु । आगामी दिनमा के–के हुन्छ हेर्दै जाऔँ, उनले भने ।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्रकुमार महासेठ पनि एउटा शिक्षित र प्राविधिक शिक्षा पढेको युवाले रोजगारी नपाउनु चिन्ताको विषय भए पनि राजेशले रोजेको बाटोबाट आम युवाका लागि प्रेरणाको ठूलो सन्देश प्रवाह भएकामा खुसी व्यक्त गरेका छन् । “देशमा कुनै पनि क्षेत्र र मान्छे उत्साहित छैनन् । युवाहरू विदेश धाइरहेका छन् । यो भीडमा एउटा शिक्षित युवाले चियापसल खोल्ने आँट गर्नु राम्रो कुरा हो । यसबाट अरुले पनि पाठ सिक्न जरुरी छ”, उनले भने । (रासस)

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...