काठमाडौँ : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विभिन्न जातजाति, धर्म र संस्कृतिमा धनी नेपालमा बुद्धले देखाउनुभएको शान्ति र शिक्षाको मार्गलाई अँगाल्दै अगाडि बढ्नुको विकल्प नभएको बताउनुभएको छ ।
बैदाम तामाङ सेवा समाजद्वारा पोखरा–६ को खहरेमा निर्माण गरिएको पेमा धेछेनलिङ गुम्बाको आज उद्घाटन गर्दै उहाँले अन्तिम सत्य शान्ति भएको विचार राख्नुहुँदै बुद्धले दिनुभएको सन्देश विश्वभर फैलिएको बताउनुभयो ।
नयाँ पुस्तालाई संस्कार, संस्कृतिका साथै रीतिरिवाज हस्तान्तरण गर्दै सयौँ वर्षदेखि कायम सामाजिक सद्भाव अझ बलियो बनाउन आवश्यक भएको उहाँको भनाइ थियो । “बुद्धले विश्वमा जसरी शान्तिको सन्देश फैलाउनुभयो, त्यसरी नै हामी सबै नेपालीले शान्तिको बाटो अँगाल्दै अगाडि बढ्नुको विकल्प छैन”, उहाँले भन्नुभयो ।
रु दुई करोड ७५ लाखको लागतमा निर्माण गरिएको गुम्बामार्फत विदेशी तथा स्वदेशी पर्यटकको बसाइ लम्ब्याउने विश्वास लिइएको बताउँदै मुख्यमन्त्री पाण्डेले यसै गुम्बामा हुने बुद्ध मार्गका प्रवचनले विश्वमा शान्तिको सन्देशसमेत पुग्ने बताउनुभयो ।
गुम्बामा मङ्सिर २ देखि ९ गतेसम्म प्रज्ञा पारा मिता त्रिपिटक कङ्ग्युर वाचन, विश्व शान्ति पूजा, गुम्बाको प्राण प्रतिष्ठा लगायतका पवित्र काम हुने छ । देश विदेशबाट जम्मा हुनुभएका एक सय आठ लामा धर्मगुरुले लगातार आठ दिनसम्म कङ्ग्युर पाठ पूजा गर्नुहुनेछ । सो गुम्बामा २८ फिट अग्लो अमिताभ बुद्धको प्रतिमा राखिएको छ । (रासस)