Admission Open

लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी सुरु

लेखा समिति सक्रिए भए सहकारीमा समस्या आउँदैनः सचिव दुवाडी


काठमाडौं, २५ असोज / भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीले सहकारीमा समस्या आउन नदिनका लागि लेखापरीक्षकको भूमिका महत्वपूर्ण हुने बताएका छन् । राष्ट्रिय सहकारी बैंकले आयोजना गरेको लेखा सुपरीवेक्षण समितिको गोष्ठीमा बोल्दै दुवाडीले सहकारीमा समस्या आउन नदिन र समस्या समाधानका लागि लेखापरीक्षण समितिको भूमिका महत्वपूर्ण हुने बताए ।
आन्तरिक नियन्त्रण प्रणाली बलियो भए सहकारी संस्थामा समस्या नआउने भन्दै उनले समितिले आफ्नो सक्रियता बढाउनु पर्नेमा उनको जोड छ । उनले थपे आन्तरिक नियन्त्रण प्राणाली सुदृढ हुन सकेको छ छैन भन्नेकुरा अहिलेको परिस्थितीले देखाएको छ ।
लेखा समितिले हरेक गरिविधिको नियमन गर्न सक्ने भन्दै उनले हरेक चार महिनामा संस्थाको आन्तरिक लेखा प्रणालीलाई लेखापरिक्षण गर्न सक्ने र सो अनुसार नभए आवाजसम्म उठाउन सक्ने बताए । आन्तरिक नियन्त्रण प्रणालीबाट सहकारी सञ्चालन हुन्छ भन्ने मान्यताले सहकारीहरु स्वनियमन र स्वअनुगमनमा छाडेको उनको भनाई छ ।
अधिकांश सहकारी संस्थाहरुको तरलता १० प्रतिशतभन्दा कम भएको र लगानी गरेको पुँजी समयमै फिर्ता नहुँदा तरलता व्यवस्थापनमा समस्या भएको दुवाडीले बताए । समग्र अर्थतन्त्रको अवस्था र त्यसको प्रभावलाई मूल्यांकन नगरी लगानी गर्दा सहकारीमा समस्या आएकाले त्यसतर्फ अब समितिले ध्यान दिन सुझाए । सदस्यको विश्वास जित्न नसकेसम्म जतिसुकै तालिम र गोेष्ठी गरेपनि औचित्य नरहने बताए ।
कार्यक्रममा उनले अधिकांश सहकारीहरु आफ्नो मूल्य मान्यता र सिद्धान्त अनुसार काम नगर्दा समस्या सिर्जन भएको बताउँदै अहिलेको समस्याको कारण र समाधानका उपायहरु पहिचान गर्नका लागि लेखा समितिको भूमिका महत्वपूर्ण हुने औल्याए ।
“पदाधिकारीहरुले सहकारी सदस्यहरुप्रति वफादारिता कायम गर्न नसक्दा अधिकांश सहकारीमा समस्या आएको हो, लेखा समितिले पनि तदारुकता देखाउन सकेनन्, सहकारीमा अहिले वातावरणिय समस्या जस्तो देखिएको हो, गलत सहकारीका कारण राम्रो सहकारी पनि समस्यामा परे, यो समस्या समाधानका लागि लेखा समितिले भूमिका खेल्न सक्नु पर्छ”, उनले थपे ।
उनले सहकारी क्षेत्र सुधार कार्यदलले दिएका सुझावहरु कार्यान्वयन गर्न सकेमा सहकारीको समस्या समाधान हुने धारणा राखे । उनका अनुसार ती सुझावहरुले सहकारीको सुधारको लागि ठूलो पहल गर्न सक्छ । उनले सहकारीकर्मीहरुले सदस्यहरुप्रति जिम्मेवार नबन्दा अहिलेको समस्या देखिएको बताए । सदस्यहरु पनि सहकारीप्रति वफादारिता नबन्दा अहिलेको परिस्थिती सिर्जना भएको उनको भनाइ छ ।
कतिपय सहकारीका सञ्चालकहरुलाई नै आफु सञ्चालक भएको समेत जानकारी नहुने विषय पनि आफुसमक्ष गुनासो आएको जानकारी दिए । “अहिले म सहकारीको सञ्चालक होइन भनेर निवेदन दिनेको चाङ्ग लाग्न थालेको छ, म कसरी सञ्चालक बनेँ, सहकारीबाट पहिले नै राजिनामा दिइसकेको हुँ भनेर निवेदन दिने गरेका छन्”, उनले प्रश्न गरे । यसरी सञ्चालकहरु समस्याबाट पन्छिन वा भाग्न नसक्ने बताए ।
बैंकका अध्यक्ष के.बी. उप्रेतीको अध्यक्षतामा सुरु भएको गोष्ठी भोलीसम्म चल्नेछ ।


लेखा सुपरीवेक्षण समितिको गोष्ठी सुरु
“दिगो, पारदर्शी र जोखिमरहित सहकारी लेखा सुपरीवेक्षण समितिको जिम्मेवारी” भन्ने थिमसहित लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी–२०८० आजबाट सुरु भएको छ । गोष्ठीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वबाट विभिन्न ८ वटा विषयमा कार्यपत्र प्रस्तुत हुने आयोकले बैंकले जनाएको छ ।
गोष्ठीको पहिलो दिनमा नेपालको सहकारीमा लेखा सुपरीवेक्षण समितिको अभ्यासः व्यवस्था र अवस्था विषयमा राष्ट्रिय सहकारी बैंकका लेखा समिति सदस्य केशवप्रसाद सापकोटाले प्रस्तुत गर्नेछन् । त्यस्तै वित्तीय सहकारीको जोखिम मापनः संरचना र पद्धति विषयक कार्यपत्र बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईंले प्रस्तुत गर्नेछन् । तेस्रो सत्रमा सहकारीको वित्तीय जोखिमः मापन र व्यवस्थापन रणनीति विषयमा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत डा. नवराज सिंखडाले प्रस्तुत गर्नेछन् । पहिलो दिनको अन्तिम सत्रमा सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीमा सञ्चालन एवं अनुपालना जोखिमः मापन र व्यवस्थापन रणनीति विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।
त्यस्तै दोस्रो दिनको पहिलो सत्रमा सहकारीको आन्तरिक नियन्त्रण प्रणालीः विकास र अभ्यास विषयमा नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्ता मणी शिवाकोटीले प्रस्तुत गर्नेछन् । दोस्रो सत्रमा राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ सुब्बाले सहकारीको सुशासन र स्वनियमनः प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली विषयमा कार्यपत्र प्रस्तुत गर्नेछिन् भने सहकारीको आन्तरिक नियन्त्रण प्रणालीः विधि प्रविधि र औजार विषयमा एशियाली ऋण महासंघका प्रमुख प्राविधिक अधिकृत रञ्जित हिताराचीले प्रस्तुत गर्नेछन् ।
त्यस्तै गोष्ठीको अन्तिम कार्यपत्र सहकारी व्यवस्थापन समितिको कार्यालयका प्रमुख काशीराज दाहालले प्रस्तुत गर्नेछन् । उनले सहकारीको विद्यमान संकट सामनाः रणनीति र भावी कार्यदिशा विषयमा आफ्नो प्रस्तुती दिने कार्यक्रम तय भएको आयोजक बैंकले जनाएको छ ।
काठमाडौंको याक एण्ड यति होटलमा सुरु भएको गोष्ठीमा देशभरबाट ५ सयजना सहभागिता रहको बैंकले जनाएको छ । लेखा सुपरीवेक्षण समितिको भूमिकालाई थप प्रभावकारी बनाई सहकारीमा सुशासन एवं आन्तरिक नियन्त्रण पद्धति स्थापनामार्फत दिगो सहकारीको निर्माणमा योगदान पुग्ने गोष्ठीको मुख्य उद्देश्य रहेको बैंकका अध्यक्ष के.बी. उप्रेतीले जनाकारी दिए ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...