Admission Open

हाई स्कोरिङ खेलमा हैदराबादसँग राजस्थान ४ विकेटले पराजित

काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आइतबार राति खेलिएको खेलमा सनराइजर्स हैदराबाद विजयी भएको छ । हैदराबादले राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गर्यो ।

पहिलो ब्याटिङको निर्णय लिएको राजस्थानले निर्धारित ओभरमा २ विकेट गुमाएर २ सय १४ रनको विशाल योगफल तयार पार्यो । जवाफी ब्याटिङमा ओर्लिएको हैदराबादले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय १७ रन बनाउँदै विजय लक्ष्य पार गर्‍यो ।

हैदराबादको जितमा ओपनर ब्याट्सम्यान अभिषेक शर्माले अर्धशतकीय पाली खेले । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ३४ बलको सामना गरी २ छक्का र ५ चौकाको मद्दतले ५५ रन बनाए ।

अभिषेक र अनमोलप्रित सिंहले ओपनिङ विकेटका लागि ५१ रनको साझेदारी गरे । अनमोल भने ३३ रन बनाउँदै पेभेलियन फर्किए । उनले २५ बलको सामना गरी १ छक्का र ४ चौका हिर्काए ।

राहुलले केवल २९ बलको सामना गरी ३ छक्का र २ चौका प्रहार गरेका थिए । विकेटकिपर ब्याट्सम्यान हेनरिच क्लासेनले पनि १२ बलमा २ छक्का र २ चौकाको मद्दतले २६ रन बटुले । ग्लेन फिलिप्स पनि आक्रामक रुपमा प्रस्तुत भए । उनले केवल ७ बलको सामना गरी ३ छक्का र १ चौकाको मद्दतले २५ रन जोडे । उनी म्यान अफ दि म्याच घोषित भए ।

अब्दुल समादले अविजित १७ रन बनाए । राजस्थानका बलर युजवेन्द्र चाहलले ४ विकेट लिए । त्यसअघि पहिलो ब्याटिङ रोजेको राजस्थानका लागि ओपनर जस बट्लरले ९५ रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । बट्लरले ५९ बलको सामना गरी ४ छक्का र १० चौका पनि हिर्काएका थिए ।

बट्लर र यशस्वी जैसवालले ओपनिङ विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए । यशस्वीले टोलीको खातामा ३५ रन थपे । कप्तान सन्जु सामसनले पनि टोलीका लागि अविजित ६६ रनको योगदान गरेका थिए । विकेटकिपर ब्याट्सम्यान सामसनले केवल ३८ बलमा ५ छक्का र ४ चौका प्रहार गरेका थिए ।(रासस)

टिप्पणिहरु
Loading...