
काठमाडौँ, २५ वैशाख : आजदेखि काठमाडौं महानगरपालिकाले महानगरभित्रका अव्यवस्थित तार काट्ने काम सुरु गर्ने भएको छ । सडकको दायाँबायाँ अव्यवस्थित रुपमा जेलिएका तारहरुले महानगरको सौन्दर्य घटाउनुका साथै जोखिम पनि बढाएको थियो ।

त्यसैले त्यस्ता तारहरु हटाएर महानगरको सौन्दर्य बढाउन तथा आगजनीका घटनालाई नियन्त्रण गर्न महानगरपालिकाले विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गर्न लागेको हो ।
काठमाडौं महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीच आइतबार भएको बैठकले तार व्यवस्थापन गर्ने निर्णय गरेको थियो । सोही अनुसार आज पहिलो दिन न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गर्ने दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।


