Admission Open

सरकार पाँच वर्ष चल्छ, यताउता हुन्छ भन्ने भ्रम हो : प्रधानमन्त्री

काठमाडौँ, १८ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो नेतृत्वको सरकारमा आउने विश्वास व्यक्त गरेका छन् । प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उनले रास्वपा सरकारमा सहभागि हुने विषयमा कुराकानी चलिरहेको जानकारी दिए ।

प्रधानमन्त्री दाहालले भने, “रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन । सो पार्टी पनि सरकारमा आउने कुरा चलिरहेको छ ।” रास्वपाले पहिलाका मन्त्रालय माग्नु अस्वभाविक नभएको बताउँदै उनले यसैमा उहाँ अडिनुहुन्छ भन्ने आफूलाई नलागेको बताए ।

सत्तासाझेदार दलका बीचमा सरसल्लाह गरेर सहमतिमा जाने प्रधानमन्त्री दाहालले बताए । रास्वपालाई अहिलेनै मन्त्रालय छाड्ने विषयमा आफूहरु नपुगेको उनले स्पष्ट पारे । प्रधानमन्त्री दाहालले भने, “रास्वपका अध्यक्ष रवि जीले पनि हामीलाई यही नै चाहिन्छ भन्नुभएको छैन । छलफलकै क्रममा भएकाले केही छैन ।” सञ्चारकर्मीको एक प्रश्नको जवाफमा उनले सरकार पाँच वर्ष चल्ने बताए ।

उनले भने, “सरकार पाँच वर्ष चल्छ । यताउता हुन्छ की भन्ने भ्रम हो ।” आफ्नो निवास शिवनगरमा आयोजना गरिएको सो कार्यक्रममा प्रधानमन्त्री दाहालले खुलेर पत्रकारसँग कुराकानी गरेका थिए । सो क्रममा उनले महाविर पुन आफूसँग सल्लाह नै गरेर माइतीघर मण्डलामा बसेको बताए । बस्नुअघि आफूसँग बालुवाटारमा भेटेको जनाउँदै उनले पुनले उठाएका मागप्रति सरकार सकारात्मक रहेको बताए ।

प्रधानमन्त्री दाहालले भने, “भेटमा मैले बजेटमा तपाईको माग सम्बोधन गर्न पूरै प्रयास हुन्छ भनें, हिँड्ने समयमा उहाँले माइतीघर मण्डलामा बस्छु है कस्तो हुँदो रहेछ भन्नुभयो । हाँसीहाँसी ।” प्रधानमन्त्री दाहालले थपे, “यस कारण सरकारले वास्ता गरेन भन्ने झुटो कुरा हो । मैले बुझ्दा त सल्लाहमा नै उहाँ बसेको भन्ने बुझेको छु ।” पुनले विकास बजेटको एक प्रतिशत बजेट छुट्याउन अनुरोध गरेको पनि उनले बताए ।

पूर्व लडाकुलाई रकम दिने विषय विसं २०७१ को सरकारले गरेको निर्णय भएको उनले बताए । तत्कालीन समयमा अर्थमन्त्री विष्णु पौडेल रहेको र कांग्रेस एवं एमाले सरकार रहँदा छलफल भएर टुङ्गिएको विषय भएको प्रधानमन्त्री दाहालले जानकारी दिए । तत्कालीन समयमा सर्वोच्च अदालतमा मुद्दा परेका कारण रोकिएको र अहिले दिन मिल्ने गरी फैसला भएकाले रकम दिन लागिएको बताए ।

आर्थिक समस्याका कारण किस्ताबन्दीमा लडाकुलाई रकम दिने विषयमा छलफल भइरहेको प्रधानमन्त्री दाहालले बताए । उनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको आक्रमणमा सत्तारुढ दल लागेको भन्ने कुरा असत्य भएको बताए । उनले भने, “तत्कालीन राजा र तीनका समर्थक भन्ने छ त्यो गम्भीर विषय हो ।” अर्को एक प्रश्नमा खेलकुद क्षेत्रको बिकासमा सरकारले प्राथमिकता दिएको उनको भनाइ थियो । सरकारले कृषि उत्पादन, रोजगारी र युवा लक्षित कार्यक्रमलाई बजेटमा जोड दिने पनि बताए । सो अवसरमा दाहालले प्रेस सेन्टर चितवनले प्रकाशन गरेको क्यालेन्डरको लोकार्पण गरेका थिए । (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...