
काठमाडौँ, १ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन् । जनयुद्धको २८औं वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले उक्त कुरा बताएका हुन् ।
प्रचण्डले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति आफ्नो अमूल्य जीवनको बलिदान गर्ने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गरेका छन् । त्यस्तै घाइते र अपाङ्ग योद्धाहरूमा स्वास्थ्यलाभको शुभेच्छासहित दीर्घजीवनको कामना पनि गरेका छन् ।
‘यस ऐतिहासिक दिनमा देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति आफ्नो अमूल्य जीवनको बलिदान गर्नुहुने महान् शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु, सम्पूर्ण बेपत्ता योद्धाहरूको स्मरण गर्दै उच्च सम्मान व्यक्त गर्दछु, घाइते र अपाङ्ग योद्धाहरूमा स्वास्थ्य लाभको शुभेच्छासहित दीर्घ जीवनको कामना गर्दछु’, शुभकामना सन्देशमा उल्लेख छ ।
उनले नेकपा माओवादीले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीहरूको साझा दिवस भएको बताए ।


