Admission Open

रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार छ : अर्थमन्त्री पौडेल

काठमाडौं : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रेमिट्यान्सलाई वैधानिक च्यानलबाट भित्राउन र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने अनुकूल वातावरण तयार पार्न आवश्यक सहयोगका लागि सरकार तत्पर रहेको बताएका छन् ।साथै उनले यस वर्षको मंसिर मसान्तसम्मको राजश्व परिचालनलाई गतवर्षको सोही अवधिसम्म तुलना गर्दा करिव २० प्रतिशत कम भएको बताए ।

प्रवासी नेपाली मञ्ज अमेरिकाले शनिबार राती आयोजना गरेको रेमिट्यान्स एन्ड इन्भेस्टमेन्ट इन नेपाल विषयक कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै मन्त्री पौडेलले रेमिट्यान्सलाई वैधानिक च्यानलबाट भित्राउन र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने अनुकूल वातावरण तयार पार्न आवश्यक सहयोगका लागि सरकार तत्पर रहेको बताएका हुन्।

प्रवासमा भएका सबै नेपालीहरुले वैध माध्यमवाट मात्रै रेमिट्यान्स पठाइदिए नेपाली अर्थतन्त्रलाई निकै सहयोग पुग्ने चर्चा गर्दै उनले वैध ढंगले रेमिट्यान्स पठाउन कानुनमा संशोधन गर्न आवश्यक भए पनि सरकार तयार रहेको बताए ।

कानुनमा संशोधन आवश्यक छ वा कुनै इन्सेन्टिभ आवश्यक छ भने त्यो वारेमा पनि प्रवासी नेपालीहरुले जानकारी गराउंदा उचित हुन्छ तर गैर बैंकिङ च्यानलवाट आएको रेमिट्यान्सलाई रोक्नु आवश्यक भएको छ, उनले भने ।

रेमिट्यान्सलाई उत्पादनको क्षेत्रमा, निर्माणको क्षेत्रमा र रोजगारीका नयाँ–नयाँ अवसर सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न सकिने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले त्यसका लागि नीतिगत र कानुनी क्षेत्रमा देखिएका समस्याहरुलाई परिमार्जन र सुधार गर्दै जाने बताए।

गैरआवासीय नेपालीले उठाएको नागरिकतासम्बन्धी चासोप्रति सरकारको ध्यानाकर्षण भएको बताउँदै पौडेलले भने।वैदेशिक लगानी तथा प्रविधिसम्बन्धी ऐेनले गैरआवासीय नेपालीहरुलाई विदेशी नागरिक सरह लिएको विषयप्रति गैरआवासीय नेपालीहरुले ध्यानाकर्षण गराएको जानकारी दिँदै पौडेलले त्यस विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे।

गैरआवासीय नेपालीहरुले नेपालमा आउँदा भिसा लिनु पर्ने विषयमा पनि ध्यान गएको भन्दै अर्थमन्त्री पौडेलले गैरआवासीय नेपालीहरुको नागिरकतासम्बन्धी विषय समाधान गरेसँगै यो समस्या पनि समाधान हुने विश्वास व्यक्त गर्दै उनले भने, ‘रेमिट्यान्सका कोणबाट मात्र होइन, वैदेशिक लगानीका निम्ति पनि नेपालको सद्भावना दूतका रुपमा प्रत्येक प्रवासी र गैरआवासीय नेपालीले भूमिका खेलिदिनुस भन्ने अपेक्षा गर्न चाहन्छु। नेपाल लगानीका निम्ति सुरक्षित स्थान हो। प्रतिफल दिने स्थान हो। त्यो सन्देश संसारभरका लगानीकर्ताका बीचमा पुर्याइदिनुहोस् भन्ने आग्रह छ।’

कार्यक्रमका सहभागीहरुले रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै नेपालको अर्थतन्त्रलाई मजबुत पार्न कृषि, पर्यटन, उर्जा, पूर्वाधार, मानवीय संशाधन, औद्योगिकरण, सेवा क्षेत्र, सामाजिक सुरक्षालगायतमा जोड दिनुपर्ने सुझाव दिएका थिए।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...