काठमाडौँ, ४ माघ : यहि माघ १ गतेका दिन पर्यटकीय नगरी पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परि ज्यान गुमाउनु हुने यात्रु र चालक दलका सदस्य सहित ७२ जनाको आत्माको चिरशान्तिको कामना गर्दै नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) काठमाडौंले ठमेलको नर्सिङ चोकमा दीप प्रज्ज्वलनसहित श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त श्रद्धाञ्जली सभामा बोल्दै नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा.धनन्जय रेग्मीले नेपालको हवाई उड्डयन क्षेत्रमा निरन्तर दुर्घटना हुनु कहिँ न कतै सरकारको पनि कमजोरी रहेको हुँदा आम नागरिकले यस्ता घटनाको न्यूनीकरणका लागि दबाब दिनुपर्ने बताउनु भयो । हाल सम्म नेपालको उड्डयन इतिहासमा १०४ वटा हवाई दुर्घटना भैसकेको उल्लेख गर्दै विश्व भर नेपालको आकाश असुरक्षित रहेको सन्देश प्रवाह प्रती चिन्ता व्यक्त गर्दै यस्ता दुर्घटना न्यूनीकरणका लागि कडा नियम कानुन सहित प्रस्तुत हुन सरकारको ध्यानाकर्षण गराउनु भयो ।
उड्डयन जस्तो संबेदनसिल क्षेत्रको नियमायक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई प्रशासनिक र प्राबिधिक दुबै जिम्मेवारी दिनु अन्तर्राष्ट्रिय अभ्यास विपरित भएको तर्क पनि प्रस्तुत गर्नुभयो । उक्त दीप प्रज्ज्वलन कार्यक्रम तथा श्रद्धाञ्जली सभामा पर्यटन क्षेत्र संग सम्बन्धित विभिन्न संघ संस्थाहरुको सहभागिता रहेको थियो ।