काठमाडौं : नेपाल मगर संघ केन्द्रीय समितिले माघे संक्रान्तिको अवसरमा मगर मौलिक राष्ट्रिय सांस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ ।
मगर संघले आज रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गर्दै पुस २९, ३० र माघ १ गते काठमाडौंको टुँडिखेलमा महोत्सवको आयोजना गरिएको बताएको हो । कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने बताइएको छ ।
कार्यक्रममा मगरहरुको मौलिक सांस्कृतिक प्रदर्शनी, मौलिक खानपिन, भेषभुषा र मगर जातिको मौलिक खेल धनुष वाण हान्ने, क्षलो हान्ने खेललगायतका कार्यक्रम रहने बताइएको छ ।
कार्यक्रममा मगर समुदायका अन्य संघ संस्थाहरुको पनि प्रतिनिधित्व रहने छ । कार्यक्रममा पुस २९ र ३० गते मौलिक संस्कृतिको प्रदर्शन हुने र सोही दिन मगरहरुको परम्परागत खेलहरु क्षलो हान्ने र धनुष वाणलगायत शुभकामना आदान प्रदानको कार्यक्रम रहेको छ ।
माघ १ गते १० बजे भृकुटी मण्डपबाट र्याली सुरु हुनेछ । कार्यक्रममा उपस्थिति भएर मगरको मौलिक संस्कृति, भेषभुषा, खानपिन, मौलिक खेललगायतका गतिविधिको अवलोकनका लागि केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनले आग्रह गरेका छन् ।
सरकारको संस्कृति मन्त्रालयमा नेपालको मौलिक संस्कृति सूचीकृत नभएको भन्दै उनले सरकारले सांस्कृतिक अभिलेखीकरणको अभियान सुरु गर्नुपर्ने बताएका छन् ।