Admission Open

ad place

लेखनाथ महोत्सवमा दर्शकको उपस्थिति उल्लेखनिय, १ करोड २० लाखको कारोबार

पोखरा : पोखरामा जारी १८ औं संस्करणको लेखनाथ महोत्सवमा दर्शकको उपस्थिति उल्लेखनिय रहेको छ । महोत्सवको चौथो दिन आज ३० हजार बढी दर्शकहरुले अवलोकन गरेका छन् ।

इसाई धर्मावलम्बीहरुको प्रमुख पर्व क्रिसमसको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको थियो । जसका कारण आज दर्शकहरुको उपस्थिति उल्लेखनिय रहेको प्रचारप्रसार संयोजक राजेन्द्र ओझाले जानकारी दिएका छन् । महोत्सवमा आज एकैदिन १ करोड २० लाखको कारबोर भएको उनले बताए ।

महोत्सवको पहिलो दिन ३० हजार, दोस्रो दिन १० हजार, तेस्रो दिन २५ हजार र चौथो दिन आज ३० हजार गरि चार दिनमा कुल ९५ हजार दर्शकले अवलोकन गरेका छन् भने महोत्सवबाट हालसम्म कुल ३ करोड ४० लाखको कारोबार भएको छ । जसमा पुस ७ गते पहिलो दिन ८० लाख, दोस्रो दिन ४० लाख, तेस्रो दिन हिजो १ करोड र आज १ करोड २० लाख गरि कुल ३ करोड ४० लाखको कारोबार भएको संयोजक ओझाले जानकारी दिएका छन् ।

महोत्सवको दुई दिन हिजो र आज सार्वजनिक बिदा परेकाले दर्शकहरुको उत्साहजनक सहभागिता देखिएको छ । महोत्सवमा मनोरञ्जनका लागि प्रत्येक दिन रत्यौली कार्यक्रमदेखि लिएर विद्यालय स्तरीय कार्यक्रम, लोकदोहोरी कार्यक्रम, भजन कृतन, लाइभ कन्सर्ट, विभिन्न जातजाति, भाषाभाषीका कार्यक्रमहरु भइरहेका छन् ।

आज भएको लोकदोहोरी कार्यक्रममा गायकहरु कुलेन्द्र बिक, राजन कार्की, प्रेमराज अधिकारी, प्रजापति पराजुली, नारायण सुवाल गायिकाहरु आइशा गौतम, बन्धना पाण्डे, कमला गैह्रे, बिनु लामाको प्रस्तुति रहेको थियो भने हाँस्यव्यंग्यतर्फ बेगम नेपाली उर्फ ‘भटभटे’, मनराज श्रेष्ट उर्फ ‘भगवान’को आर्कषक प्रस्तुति रहेको थियो । त्यस्तै, लाइभ कन्सर्टतर्फ र्‍यापर दिमृती र संजिव सिंह रानाको प्रस्तुति रहेको छ ।

भोलि महोत्सवमा लोकदोहोरी कार्यक्रम तर्फ गायकहरु तारापति सुवेदी, शंकर विरही गुरुङ, एक क्षेत्री गायिकाहरु पूर्णकला विसी, दिलु मगर, बसन्ती थापालगायतका कलाकारहरुको प्रस्तुति रहने भएको छ। त्यस्तै महोत्सवमा युवाहरुका लागि प्रत्येक दिन लाइभ कन्सर्ट पनि राखिएको छ । कन्सर्ट प्रत्येक साँझ ६ बजेदेखि ८ बजेसम्म संचालन हुँदै आएको छ । भोलि लाइभ कन्सर्टतर्फ मिलन नेवार, ओम गुरुङको प्रस्तुति रहने भएको छ ।

आज पोखरा उद्योग वाणिज्य संघ, उद्योग वाणिज्य संघ नवलपरासीका प्रतिनिधिहरुले महोत्सवको अवलोकन गरेका छन् । यसका साथै उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष अन्जन श्रेष्ठ, रुपमा गाउँपालिकाका अध्यक्षलगायको टीमले पनि अवलोकन गरेको छ । निजी क्षेत्रको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको महोत्सव पोखरा महानगरपालिकाको तालचोक डाडा नाकमा जारी छ ।

महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवमा कुल ३३७ स्टलहरु रहेका छन् । ग्रामिण घरेलु प्रविधिको प्रदर्शनी र यहाँका पर्यटकीय स्थलको पहिचान गराउने उद्देश्यले आयोजना गरेको महोत्सवमा पर्यटकीय स्थलको पहिचान गराउने छुट्टै बेगनास तालको डेमो तयार गरि राखिएको छ, जुन दर्शकको आकर्षणको केन्द्र बनेको छ ।

यसका साथै महोत्सवमा हस्तकला, घरेलु उत्पादन, एग्रो प्रोडक्टहरुको प्रवर्द्धन सम्बन्धी स्टलहरु, मेसिन, अटो गार्मेन्ट, माटाका भाडा, फलामका औजार प्रदर्शनीमा राखिएका छन् । त्यस्तै महोत्सवमा विद्यार्थीका लागि इन्जिनियरिङ सम्बन्धी प्रदर्शनी पनि रहेको छ । आफ्नो सेवा तथा वस्तु प्रमोशनका लागि पनि विभिन्न प्रतिष्ठानले स्टल राखेका छन् ।

सगरमाथा इन्स्योरेन्स मुख्य प्रायोजक रहेको महोत्सवमा सहप्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, कामना सेवा विकास बैंकलगायत महोत्सव सफल बनाउन विभिन्न संघ संस्थाहरुले सहयोग गरिरहेका छन् । पुस ७ गतेदेखि सुरु भएको महोत्सव १८ गतेसम्म सञ्चालन हुने संयोजक ओझाले जानकारी दिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...