Admission Open

विराटनगर महानगरद्वारा ५० प्रतिशत अनुदानमा मकैको बीउ र पोषण वितरण

विराटनगर : विराटनगर महानगरपालिकाले अनुदानमा कृषकलाई मकैको बीउ र जिङ्क (पोषण) वितरण गरेको छ। महानगरको आर्थिक विकास महाशाखाअन्तर्गतको कृषि शाखाले आज एक कार्यक्रमको आयोजना गरेर उन्नत जातको मकैको बीउ र जिङ्क वितरण गरेको हो।

महानगर क्षेत्रभित्रका कृषक समूह र सहकारी कृषि फर्मलाई ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराइएको हो। महानगरका प्रमुख नागेश कोइराला, आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेलले कृषक समूहलाई बीउ र जिङ्क वितरण गरेका हुन् ।

महानगरका प्रमुख कोइरालाले अव्यवस्थित सहरीकरणका कारण खेतीयोग्य जमिन मासिँदै गएको बताउँदै रासायनिक मलका कारण उत्पादत्वमा ह्रास आएको चर्चा गरे । उनले प्राङ्गारिक र जैविक मलको प्रयोग बढाएर उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए। “महानगरपालिकाभित्र जति जमिन छ, त्यसमा उत्पादकत्व वृद्धि गर्नु आवश्यक छ”, उनले भने, “त्यसका लागि महानगरले कृषकलाई गर्ने सहयोग गर्छ।”

महानगरले २६ वटा कृषक समूह र सहकारी कृषि फर्मका तीन सय ३९ घरधुरीका एक हजार एक सय ७६ जनालाई मकैको बीउ आठ हजार तीन सय ३३ केजी र जिङ्क वितरण गरेको छ। सो बीउबाट ५४ दशमलव ६२ हेक्टर र जिङ्कले ५२ दशमलव ३२ हेक्टर क्षेत्रफलमा खेती गर्न सकिने कृषि शाखा प्रमुख खगेश्वर तिम्सिनाले जानकारी दिए ।

तेलहन बाली पकेट कार्यक्रमअन्तर्गत तोरी बालीका लागि विराटनगर-१९ मा साना किसान कृषि सहकारी संस्था र मकै पकेट कार्यक्रम विराटनगर–१८ मा समावेशी कृषक समूहमार्फत सञ्चालनमा रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...