काठमाडौं : विद्युतीय सामग्री र सेवा प्रवाह सम्बन्धी बृहत् प्रदर्शनी फीन इलेक्ट्रो–टेक २०२२ को दोस्रो दिन शुक्रबार अवलोकनकर्ताहरुको उत्साहपूर्ण सहभागिता रहेको छ । प्रदर्शनीको दोस्रो दिन १६ हजार भन्दा बढीले अवलोकन गरेका छन् ।
नेपाली उपभोक्ताहरुको रुची र सामर्थ्य अनुसारका सामग्रीहरुबाट अवलोकनकर्तामा उत्साह बढेको पाइएको छ । आज खासगरी विद्युत प्रविधि क्षेत्रका विज्ञहरुको उपस्थिति रहेको थियो । प्रदर्शनीमा विद्युतीय क्षेत्रका सरोकारवालाहरुको भेटघाट, छलफल र अन्तक्रिया भएका छन् । प्रदर्शनीका बाँकी दिनहरुमासिम्पोजियम समेत रहने छ । विद्युतीय सुरक्षा सम्बन्धी विज्ञहरुका धारणाहरु राख्ने कार्यक्रम पनि रहेका छन् ।
”प्रदर्शनी निकै उत्साहपूर्ण छ । सोचेभन्दा बढी अवलोकनकर्ताहरु आइरहनुभएको छ । हामी साह्रै खुसी छौँ,“ फीनका अध्यक्ष सुदर्शन प्रसाद पौड्यालले बताए । प्रदर्शनीमा राखिएका नवीनतम र अत्याधुनिक विद्युतीय सामग्रीहरुको अवलोकन जो कोहीलाई लाभदायी छ । अब दुई दिन बाँकी छ । घर बनाइरहेका उपभोक्ताहरु, इलेक्ट्रोनिक व्यवसायी, इन्जिनियर, विद्यार्थी लगायत सर्व साधारणलाई एकपल्ट मेला अवलोकन गर्न अनुरोध गर्न चाहन्छु– अध्यक्ष पौडेलले भने ।
प्रदर्शनी नेपालको एकमात्र इलेक्ट्रिकल एवं इलेक्ट्रोनिक्स सामग्रीहरुको अन्तर्राष्ट्रिय स्तरकै बृहत प्रदर्शनी एवं गोष्ठीको दशौं संस्करण हो । फीन इलेक्ट्रो–टेक– २०२२को नारा ”नेपालको समृद्धि, उर्जा खपत अभिवृद्धि“ रहेको छ ।
मेलाको टाइटल स्पोन्सर राठी स्वीच एण्ड केबुल (अन्नपूर्ण ग्लोवल इम्पेक्स प्रा.लि.) रहेको छ । प्लाटिनियम स्पोन्सरमा महालक्ष्मी केबुल (महालक्ष्मी वायर एण्ड केबुल इन्डष्ट्रिज प्रा.लि.), डायमण्ड स्पोन्सरमा ग्रेटह्वाइट (मित्तल ओभरसिज प्रा.लि.), गोल्ड स्पोन्सरमा इलेक्ट्रा इलेक्ट्रिक (एनजी इलेक्ट्रिकल्स प्रा.लि.) जानकी केबुल (जानकी केबुल इन्डष्ट्रिज प्रा.लि.), लिशा स्वीच (वेलकम टेक्नोल प्रा.लि). र ट्रान्सवेल्ड ट्रान्सर्फमर (ट्रान्सवेल्ड नेपाल प्रा.लि.) रहेका छन् ।
चार वर्षपछि भएको प्रदर्शनीमा नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीका उत्पादनहरु राखिएको छ । गुणस्तरीय सामानहरुको उत्पादन तथा बिक्री वितरण मार्फत उपभोक्ताहरुलाई सुविधा दिनु पनि मेला आयोजनाको प्रमुख उद्देश्य रहेको छ ।
फिन इलेक्ट्रो टेक २०२२ लाई भव्यता प्रदान गर्न तथा प्रदर्शनी प्रति ऐक्यवद्धता जनाउन Strategic Support को रुपमा नेपाल विद्युत प्राधिकरणको सहभागिता रहेको छ भने सहयोगी संस्थामा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान), नेपाल ईञ्जिनियर्स एशोशियसन, सौर्य ऊर्जा उत्पादक संघ नेपाल, सोसाइटी अफ कन्सल्टिङ्ग, आर्किटेक्चरर एण्ड इञ्जिनियरिङ फर्म, लघु जल विद्युत् उत्पादक संघ नेपाल, सोसाइटी अफ इलेक्ट्रीकल ईञ्जिनियर्स नेपाल, नेपाल विद्युतीय सामाग्री उत्पादक संघ (निमा), नेपाल इलेक्ट्रीकल कन्ट्राक्टर एशोशियसन र सोसाईटी अफ नेप्लिज आर्किटेक्टस् लगायत लगायत संस्थाहरु रहेका छन् ।
नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको प्रदर्शनीको उद्घाटन हिजो माननीय अर्थमन्त्री जनार्दन शर्माले गर्नुभएको हो । प्रदर्शनीको पहिलो दिन ११ हजार ७७० जनाले अवलोकन गरेका थिए । ४ दिनसम्म चल्ने प्रदर्शनीमा करिव ६० हजार अवलोकनकर्ताले अवलोकन गर्ने अनुमान गरिएको छ ।