Admission Open

पशुपतिनाथका बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख बुधबार देखाइने

काठमाडौं : पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख बुधबार बिहान पशुपति क्षेत्रमा सर्वसाधारणका लागि प्रदर्शन गरिने भएको छ ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन वर्षभर सुरक्षित राखिएको छ भनेर बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख सर्वसाधारणलाई देखाउने गरिन्छ । यसैगरी मार्गशीर्ष कृष्ण औँसीका दिन भने अब एक वर्षका लागि सुरक्षितसाथ राखिन्छ भनी देखाउने परम्परा रहेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

यस वर्ष त्रयोदशीका दिन सोमबार सर्वसाधारणका लागि गत वर्ष पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख सुरक्षित छ भनी प्रदर्शन गरिएको थियो । बुधबार भने अब अर्को वर्षलाई यी सामग्री सुरक्षितसाथ राखिनेछ भनी देखाउन लागिएको कोषले जनाएको छ ।

बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्खलाई मार्गशीर्ष कृष्ण औँसीका दिन बुधबार भण्डारको तेस्रो तलामा राख्ने कार्यक्रम रहेको छ । राख्नुअघि अर्थात् बिहान १० बजे अगावै पशुपतिनाथमा बाला चतुर्दशीका दिन मेलामा आएका भक्तजनका लागि सुरक्षित छ भनी यी सामग्री देखाउने गरिएको हो ।

बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख प्रत्येक महिना पशुपतिका भण्डारीको पालो परिवर्तनका बेला कोष, प्रहरीलगायत सरोकार भएका निकायका रोहवरमा बुझाउने गरिन्छ । भण्डारी परिवर्तन हुँदा भने यी सामग्री भण्डारभित्र नै रोहवरमा राख्ने गरिन्छ । (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...